धनगढी । शुक्रबारदेखिको लगातारको वर्षाले सुदूरपश्चिम प्रदेशका नौ वटै जिल्लाको जनजीवन प्रभावित भएको छ । मनसुनसहित पश्चिमी वायुको प्रभावका कारण कैलालीसहित सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा दुई दिनदेखि निरन्तर झरी परिरहेको छ । वर्षाका कारण नदीनालामा पानीको सतह बढ्दै गएको छ भने खेतबारीमा पनि पानी जमेको छ । वर्षाका कारण आउन सक्ने सम्भावित जोखिलाई दृष्टिगत गर्दै लामो दुरीका सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ । कतिपय जिल्लामा बाढीपहिरो र डुबानबाट हुन सक्ने क्षति कम गर्न पूर्वतयारी गरिएको छ ।
अमरगढी समाचारदाताका अनुसार डडेलधुरामा पछिल्लो २४ घण्टामा ११४।१ मिलिमिटर वर्षा भएको छ । जल तथा मौसम फिल्ड कार्यालय डडेलधुराका सूचना अधिकारी लक्ष्मी अवस्थीका अनुसार पछिल्लो २४ घण्टामा परेको यो वर्षा पछिल्ला तीन वर्षयताकै उच्च हो । शनिबार दिनभर वर्षा भएको छ भने रातभर पनि वर्षा हुने सम्भावना रहेको उहाँले जानकारी दिनुभयो ।
वर्षाका कारण बुडर–जोगबुडा ३३ केभी प्रसारण लाइनमा सालको रुख ढलेपछि जोगबुडा क्षेत्रको विद्युत् सेवा पनि प्रभावित भएको छ । नेपाल विद्युत् प्राधिकरण डडेलधुरा वितरण केन्द्रका प्रमुख कपिल जोशीका अनुसार खोलानालामा पानीको सतह बढेकाले अवरोध भएका स्थानमा प्राविधिक टोली पठाउन कठिनाइ भइरहेको छ ।
सवारीसाधन सञ्चालन रोकिएपछि डडेलधुरा हुँदै बैतडी, दार्चुला, डोटीलगायतका पहाडी जिल्लातर्फ आवतजावत गर्ने यात्रु प्रभावित भएका छन् । जिल्ला प्रशासन कार्यालय डडेलधुराले मौसम तथा विपत्को अवस्था सामान्य नभएसम्म अनावश्यक आवतजावत नगर्न र यात्रामा निस्कनुअघि सडक तथा मौसमको अवस्था बुझ्न आग्रह गरेको छ ।
आकस्मिक तथा अत्यावश्यक अवस्था परेमा नेपाल प्रहरीको एक सय र सशस्त्र प्रहरी बल नेपालको ११४४ नम्बरमा सम्पर्क गर्न सकिने प्रशासनले जनाएको छ ।
कृषक चिन्तित
धनगढी समाचारदाताका अनुसार दुई दिनदेखिको अविरल वर्षाले किसानलाई चिन्तित बनाएको छ । खेतमा पाक्दै गरेको धानलाई वर्षाले नोक्सान गर्ने भन्दै कृषक चिन्तित बनेका हुन् । गत वर्ष पनि असोजमा परेको पानीले भित्र्याउन तयार भएको धानखेतीमा ठुलो क्षति गरेकाले सम्झदै अहिले पनि त्यस्तै हुने हो कि भन्ने चिन्ता परेको भजनी नगरपालिका–२ का कृषक गङ्गाराम चौधरीले बताउनुभयो । चौधरी भन्नुहुन्छ, “बाढी आएर डुबाउने र हावाले धानका बोट ढलाउने दुवै खतरा छ ।”
कृषकका अनुसार यस वर्ष साउन, भदौमा ठुलो बाढी नआएपछि सबैतिरको खेतमा धान अत्यन्त राम्रो भएको थियो । मौसमले धेरै साथ दिएको धानलाई मनसुन अवधि अन्त्यतिर भएको वर्षाले नोक्सान गर्न सक्ने कृषक लल्लन कठरियाले बताउनुभयो । उहाँका अनुसार यस वर्ष खल्ला जमिनमा समेत धान अत्यन्त राम्रो भएकाले किसान खुसी थिए ।
कृषि ज्ञान केन्द्र कैलालीका बाली अधिकृत टेक विष्टले पाकेर भित्र्याउन तयार भएका र अग्ला हुने धानबालीलाई यो वर्षाले असर गर्न सक्ने बताउनुभयो । उहाँ भन्नुहुन्छ, “करिब दुई प्रतिशतसम्म असर गर्न सक्छ भन्ने हाम्रो अनुमान हो तर नदीनालामा पानीको सतह चेतावनी तहभन्दा तलै रहेकाले खासै असर हुँदैन । आइतबारदेखि मौसम पनि सुधार हुँदै जाने पूर्वानुमान छ ।” यस वर्ष कैलालीमा ६३ हजार हेक्टर जमिनमा बर्खे धान खेती गरिएको छ ।
विपत् पूर्वतयारीमा स्थानीय तह
बेलौरी समाचारदाताका अनुसार भारी वर्षा हुने पूर्वानुमान गरिएपछि कञ्चनपुरका स्थानीय तह विपत् पूर्वतयारी अवस्थामा रहेका छन् । बाढी जोखिम क्षेत्रका स्थानीयलाई सुरक्षित स्थानमा सार्नका लागि विद्यालय भवन, तथा विपत् खोज उद्धार सामग्री तयारी अवस्थामा राखिएको पालिकाले जनाएका छन् । दोधारा चाँदनी नगरपालिकाका सूचना अधिकारी सुरेशसिंह साउदले बाढीजन्य विपत्को सामना गर्न नगर प्रहरी, विपत्सँग सम्बन्धित कर्मचारी तथा खोज उद्धार सामग्री तयारी अवस्थामा राखिएको बताउनुभयो । खेतमा लगाएको बाली जोगाउन समस्या भए पनि स्थानीयका घरभित्रको खाद्यान्न भने सुरक्षित स्थानमा सारिएको उहाँले बताउनुभयो । त्यसै गरी जिल्लास्थित अन्य पालिकाले पनि सम्भावित बाढीजन्य विपत्मा परेका नागरिकको उद्धारका लागि सम्पूर्ण तयारी गरिएको जनाएका छन् ।
लामो दुरीका बससेवा बन्द
कञ्चनपुरस्थित विभिन्न स्थानबाट छुट्ने लामो दुरीका बससेवा सञ्चालनमा रोक लगाइएको छ । भारी वर्षा, बाढीपहिरोको जोखिमलाई दृष्टिगत गर्दै लामो दुरीका सार्वजनिक बससेवा आइतबारसम्म सञ्चालनमा रोक लगाइएको यातायात व्यवसायीले बताएका छन् । यातायात व्यवसायी डम्बर पन्तले महेन्द्रनगर तथा बेलौरीबाट छुट्ने लामो दुरीका बससेवा सोमबार बिहानसम्म सञ्चालनमा रोक लगाइएको बताउनुभयो ।
यातायात व्यवसायीले लामो दुरीका बससेवा सञ्चालन नगर्ने निर्णय गरेपछि कञ्चनपुर आउने तथा महेन्द्रनगर हुँदै काठमाडौँ, पोखरा, प्युठानलगायत पूर्वतर्फ जाने तथा सुदूरपश्चिमका पहाडी जिल्ला जाने यात्रु प्रभावित भएका छन् । छोटो दुरीमा चल्ने बससेवा भने सञ्चालनमा रहेको यातायात व्यवसायी बताउँछन् । शुक्रबारदेखिको वर्षा भए पनि हालसम्म नदी, खोलानालामा पानीको स्तर पनि सामान्य रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
बैतडी समाचारदाताका अनुसार बैतडी र दार्चुलामा शनिबार बिहानैदेखि वर्षा भइरहेको छ । वर्षाका कारण अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन जिल्ला प्रसाशन कार्यालयले आग्रह गरेको छ । महाकाली, सेती, चमेलिया र सुर्नयालगायतका नदीको जल सतह बढेकाले तटीय क्षेत्रका बासिन्दालाई नदी किनारमा नजान अग्रह गरिएको छ ।
मौसम पूर्वानुमान महाशाखा र राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बैतडीलाई खतराको पहेंलो सङ्केतमा राखे पनि उत्तर र दक्षिणतिरका क्षेत्र खतराको रातो चिह्नमा राखिएकाले बैतडीमा उच्च सतर्कता अपनाउन सवारीसाधनमा रोक लगाइएको प्रमुख जिल्ला अधिकारी मीना अर्यालले बताउनुभयो । उहाँले भन्नुभयो, “दार्चुला ‘अति जोखिम’ वर्गमा रहेकाले सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ । अत्यावश्यक सवारीसाधन भने अवस्था हेरेर चल्न दिएका छौँ ।”
तीन पालिकामा विद्युत् अवरुद्ध
यसैबिच निरन्तरको भारी वर्षाका कारण शुक्रबारदेखि पाटन फिडर अन्तर्गतका ११ केभी प्रसारणमा खराबी आएकाले पाटन नगरपालिका–८, खोडपे हुँदै पुर्चौडी नगरपालिका, सिगास गाउँपालिका र सुर्नया गाउँपालिका जाने राष्ट्रिय प्रसारण लाइन पूर्ण रूपमा अवरुद्ध रहेको छ ।
त्यसै गरी पाटन नगरपालिका–२, शिलाङ्गा लाइन पनि अवरुद्ध भएको विद्युत् वितरण केन्द्र बैतडीका प्राविधिक माधवप्रसाद लेखकले बताउनुभयो । निरन्तरको भारी बर्सातका कारण मर्मत कार्यमा कठिनाइ भइरहे पनि मर्मत टोली फिल्डमा खटिएकाले यथाशिघ्र लाइन सञ्चालन हुने उहाँको भनाइ छ ।
जलस्तर निरन्तर रूपमा मापन
खलङ्गा समाचारदाताका अनुसार दार्चुलामा निरन्तर रूपमा वर्षा भएपछि महाकाली कोरिडोर सडक योजना ब्रह्मदेव–झुलाघाट–दार्चुला–टिङ्कर आयोजनाले अत्यावश्यक कामबाहेक सडकमा यात्रा नगर्न सार्वजनिक सूचना जारी गरेको छ । त्यस्तै शनिबारदेखि आइतबार बिहानसम्म सवारीसाधन आगमनमा रोक लगाइएको छ ।
अपि बेसक्याम्प क्षेत्रमा प्रवेश गरी फर्किन नसकेका पर्यटकलाई छिट्टै फिर्ता गर्न सुरक्षा निकाय, अपिहिमाल गाउँपालिका, अपिनाम्पा संरक्षण क्षेत्र कार्यालय तथा सेक्टर पोस्टबाट आवश्यक व्यवस्था गर्न निर्देश गरिएको छ ।
उच्च हिमाली क्षेत्रमा वर्षासँगै हिमपातसमेत हुने जोखिम देखिएकाले अपिहिमाल गाउँपालिका र व्यास गाउँपालिकाका हिमपातबाट प्रभावित हुन सक्ने ठाउँ तिङ्कर, छाङ्रु, खण्डेश्वरी, क्षति क्षेत्रका बासिन्दालाई अनावश्यक यात्रा नगर्न अनुरोध गरिएको छ । महाकाली बेसिन फिल्ड कार्यालयका कार्यालय प्रमुख इन्जिनियर सञ्जयकुमार साहका अनुसार दार्चुला, बाजुरा र बझाङलाई उच्च सतर्क अवस्थामा राखिएको छ ।
दार्चुलामा रहेका हिमनदीमा आउन सक्ने बाढीबाट जोगिन यहाँको महाकाली नदी, चमेलिया नदी र नौगाडखोलामा पानीको बहाब र जलस्तर निरन्तर रूपमा मापन भइरहेको छ । हालसम्म यहाँका महाकाली, चमेलिया र नौगाड नदीमा पानीको सतह खतराको तहभन्दा कम रहेको छ ।
बाजुरामा सवारीसाधन आवागमन रोक
बाजुरा समाचारदाताका अनुसार राष्ट्रिय विपत् जोखिम न्यूनीकरण व्यवस्थापन प्राधिकरणले बाजुरालाई जोखिमयुक्त सूचीमा राखेपछि जिल्लामा चल्ने सबै सवारीलाई केही दिनका लागि रोक लगाएको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ ।
गत साउनरभदौमा यहाँको साँफे–मार्तडी सडक अन्तर्गत तिपाडादेखि मार्तडीसम्म बिच बिचमा निकै बिग्रिएको जिल्ला प्रशासन कार्यालय बाजुराका प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले बताउनुभयो ।
उहाँले भन्नभुयो, “घाम लागेका बेलामा पनि सवारीसाधनलाई यो सडकमा आउजाउमा समस्या पर्छ । अहिले भारी वर्षा हुने भनेपछि आइतबार बिहानसम्मका लागि यहाँ चल्ने गरेका सबै सवारीसाधनमा केही दिनका लागि रोक लगाएका हौँ ।” साभार गोरखापत्र

