धनगढी: धनगढीमा मुख्य कार्यालय रहेको नमस्ते प्राचीन टुर्स एन्ड ट्राभल्स प्रालिले आफ्नो बस सेवा विस्तार गरेको छ । यसअघि एक दिन बिराएर धनगढी–हैदराबाद हुँदै भारतको बैंग्लोरसम्म सञ्चालन हुँदै आएको बस सेवा अब दैनिक सञ्चालन हुने भएको छ । सेवा विस्तारसँगै कम्पनीले धनगढी उपमहानगरपालिका–४ चौराहामा रहेको नयाँ कार्यालयसमेत सञ्चालनमा ल्याएको छ । कम्पनीका सदस्य ललित खत्रीले उद्घाटन गरेका हुन् ।
कम्पनीका अनुसार धनगढीबाट हैदराबाद हुँदै बैंग्लोरसम्म आरामदायी र सुविधासम्पन्न बस सेवा सञ्चालन हुनेछ । यात्रुलाई सुरक्षित तथा सहज यात्रा गराउने उद्देश्यले नयाँ बसमार्फत सेवा दिइरहेको कम्पनीले जनाएको छ । कम्पनीका टिम सदस्य लोकेश पार्कीले सबै बस नयाँ भएकाले यात्रुलाई सफा, स्वच्छ, सुरक्षित र आरामदायी यात्रा गराउनेमा आफूहरू केन्द्रित रहेको बताए ।
उनका अनुसार धनगढी चौराहास्थित कार्यालयबाट दैनिक साँझ ४ः३० बजे बैंग्लोरका लागि बस छुट्नेछ । भारतका विभिन्न सहरमा रोजगारी, व्यवसाय तथा अन्य कामका लागि जाने नेपाली यात्रुलाई लक्षित गरी सेवा सञ्चालन गरिएको उनले बताए । सुविधासम्पन्न बस, नियमित सेवा र आरामदायी यात्राका कारण यात्रुमाझ आफ्नो सेवा रोजाइमा पर्न थालेको पार्कीको भनाइ छ ।
कम्पनीले सेवा विस्तारसँगै भारतका विभिन्न सहरमा आवतजावत गर्ने यात्रुलाई थप सहज हुने अपेक्षा गरेको छ ।

