धनगढी । कैलालीको चुरे गाउँपालिका–१ तुलिखेतस्थित जंगलमा ५२ वर्षीय यज्ञबहादुर बोहरा मृत अवस्थामा फेला परेका छन्।
चुरे गाउँपालिका–१ निगालीका बोहरा असोज ५ गतेदेखि सम्पर्कविहीन थिए। उनको खोजी गर्ने क्रममा बुधवार तुलिखेतको जंगलमा शव फेला परेको इलाका प्रहरी कार्यालय मालाखेतीका डीएसपी हिरासिंह महराले जानकारी दिए।
प्रहरीका अनुसार बोहरा अन्य सात जनासहित आठ जना मिलेर मादक पदार्थ सेवन गरिरहेको खुलेको छ। सोही क्रममा उनीसँगै रहेका व्यक्तिहरूले ‘मार्दिन्छु’ भन्दै गरेको भिडियोसमेत फेला परेको डीएसपी महराले बताए।
उक्त भिडियोका आधारमा प्रहरीले घटनामा संलग्न रहेको आशंकामा सात जनालाई पक्राउ गरेको छ। पक्राउ परेकाहरूलाई इलाका प्रहरी कार्यालय मालाखेतीतर्फ ल्याउने काम भइरहेको प्रहरीले जनाएको छ।
घटनास्थलमा डीएसपी महराको कमान्डमा प्रहरी टोली परिचालन गरिएको छ। घटनास्थलबाट मृतकको टोपी, मोबाइल र चप्पललगायतका सामानसमेत फेला परेको प्रहरीले जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

