धनगढी: धादिङको गल्छी गाउँपालिका–७, गल्छी बजारस्थित पृथ्वी राजमार्गमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ।
हिजो ८ गते बिहान करिब ११ बजे काठमाडौंबाट गजुरीतर्फ जाँदै गरेको बा ४ ख ६०५९ नम्बरको टिपरले विपरीत दिशाबाट आउँदै गरेको बा ९८ प ३१३६ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो।
टिपरको ठक्करबाट मोटरसाइकल चालक डडेलधुराको अजयमेरु गाउँपालिका निवासी २८ वर्षीय बरुणप्रसाद भट्ट गम्भीर घाइते भएका थिए। उनलाई तत्काल उपचारका लागि बैरेनी अस्पताल पुर्याइएको थियो।
तर, चिकित्सकले जाँच गर्दा उनलाई मृत घोषणा गरेका थिए। दुर्घटनापछि आक्रोशित स्थानीयवासीले केहीबेर पृथ्वी राजमार्ग अवरुद्ध गरेका थिए। स्थानीयको अवरोधका कारण यातायात प्रभावित भए पनि अहिले सडक खुलिसकेको छ र सवारी आवागमन सामान्य बनेको छ।


