धनगढी:अपाङ्गता भएका व्यक्तिहरूको विपद् जोखिम न्यूनीकरण, पूर्वतयारी, प्रतिकार्य, उद्धार तथा पुनःस्थापनाका सबै चरणमा अर्थपूर्ण सहभागिता, पहुँच र समावेशिता सुनिश्चित गर्ने उद्देश्यले राष्ट्रिय अपाङ्ग महासंघ नेपाल, सुदूरपश्चिम प्रदेश र सुदूरपश्चिम प्रदेश सरकार, आन्तरिक मामिला तथा कानुन मन्त्रालयको संयुक्त आयोजनामा प्रदेश तथा स्थानीय स्तरमा अपाङ्गता समावेशी विपद् व्यवस्थापनका सवालमा क्षमता विकास कार्यशाला गोष्ठी धनगढीमा सम्पन्न भएको छ।
कार्यशालामा प्रदेश तथा स्थानीय स्तरमा विपद् व्यवस्थापनको क्षेत्रमा कार्यरत सरकारी निकाय, विभिन्न संघसंस्था, अपाङ्गता भएका व्यक्तिहरूका संगठन (OPDs), राष्ट्रिय अपाङ्ग महासंघ नेपालमा आबद्ध सदस्य संस्थाहरू तथा अन्य सरोकारवालाहरूको सहभागिता रहेको थियो। कार्यक्रममा करिब २८ जना सहभागीहरूको उपस्थितिमा अपाङ्गता समावेशी विपद् व्यवस्थापनका अवधारणा, नीति, व्यवहारिक कार्यान्वयन, संस्थागत जिम्मेवारी तथा स्थानीय र प्रदेशस्तरीय सरोकारवालाहरूको भूमिकाबारे छलफल तथा अन्तरक्रिया गरिएको थियो।
कार्यशालाको अध्यक्षता राष्ट्रिय अपाङ्ग महासंघ नेपाल, सुदूरपश्चिम प्रदेशका अध्यक्ष श्री नन्दराज भट्टले गर्नुभएको थियो। कार्यक्रममा प्रदेश सामाजिक विकास मन्त्रालयका सामाजिक विकास महाशाखा प्रमुख श्री लोकेन्द्र प्रसाद भट्ट, आन्तरिक मामिला तथा कानुन मन्त्रालयका विपद् व्यवस्थापन फोकल पर्सन श्री जनकसिंह धामी, सामाजिक विकास मन्त्रालयको महिला तथा बालबालिका शाखा प्रमुख श्री बिन्दु चटौत, राष्ट्रिय मानव अधिकार आयोगका मानव अधिकार अधिकृत श्री दैवज्ञराज न्यौपाने लगायत विभिन्न सरकारी निकाय, संघसंस्था तथा सरोकारवाला प्रतिनिधिहरूको सहभागिता रहेको थियो।
कार्यक्रममा आन्तरिक मामिला तथा कानुन मन्त्रालयका विपद् व्यवस्थापन फोकल पर्सन श्री जनकसिंह धामीले सुदूरपश्चिम प्रदेशमा विपद् व्यवस्थापनका क्षेत्रमा भएका प्रगति, विद्यमान नीतिगत व्यवस्था, संस्थागत संरचना तथा कार्यान्वयनका अवस्थाबारे प्रस्तुतीकरण गर्नुभएको थियो। उहाँको प्रस्तुतीकरणमा प्रदेशमा विपद् व्यवस्थापनका लागि भएका प्रयास, समन्वय संयन्त्र तथा आगामी कार्यदिशाबारे जानकारी गराइएको थियो।
त्यसैगरी, राष्ट्रिय अपाङ्ग महासंघ नेपाल, सुदूरपश्चिम प्रदेशका अध्यक्ष श्री नन्दराज भट्टले विपद् व्यवस्थापनका सम्पूर्ण चरणमा अपाङ्गता भएका व्यक्तिहरूको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्नुपर्ने आवश्यकता, अपाङ्गता समावेशी विपद् व्यवस्थापनका नीतिगत सुधार, पहुँचयुक्त सूचना प्रणाली, समावेशी उद्धार तथा सुरक्षित आश्रयस्थल, अपाङ्गता भएका व्यक्तिहरूको संगठनको सहभागिता र राज्यका निकायहरूको जवाफदेहिताका विषयमा प्रस्तुतीकरण गर्नुभएको थियो। उहाँले विपद् व्यवस्थापनलाई केवल राहत र उद्धारमा सीमित नराखी जोखिम न्यूनीकरण, पूर्वतयारी, प्रतिकार्य, पुनःस्थापना तथा पुनर्निर्माणका सबै चरणमा अपाङ्गता समावेशी दृष्टिकोण अपनाउनुपर्नेमा जोड दिनुभएको थियो।
कार्यशालाको छलफल तथा अन्तरक्रियाबाट विपद् व्यवस्थापनका सबै चरणमा अपाङ्गता भएका व्यक्तिहरूको सहभागिता, पहुँच, सुरक्षा, गरिमा र अधिकार सुनिश्चित गर्न प्रदेश तथा स्थानीय सरकार, नागरिक समाज, विकास साझेदार तथा विपद् व्यवस्थापनमा कार्यरत संघसंस्थाहरूको साझा प्रतिबद्धता आवश्यक रहेको निष्कर्ष निकालिएको थियो।
कार्यशालाले अपाङ्गता समावेशी विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका लागि १० बुँदे धनगढी घोषणापत्र जारी गरेको छ। घोषणापत्रमा अपाङ्गता समावेशी विपद् जोखिम न्यूनीकरणलाई संस्थागत गर्ने, अपाङ्गता भएका व्यक्तिहरू र उनीहरूका संगठनहरूको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्ने, पहुँचयोग्य प्रारम्भिक चेतावनी प्रणाली विकास गर्ने, समावेशी उद्धार तथा सुरक्षित स्थल सुनिश्चित गर्ने, तथ्यांक र सूचना व्यवस्थापन सुदृढ गर्ने, क्षमता विकास तथा अभ्यासलाई निरन्तरता दिने, समन्वय र सहकार्यलाई मजबुत बनाउने, आवश्यक स्रोत तथा बजेट सुनिश्चित गर्ने, विपद्का बेला अपाङ्गता भएका व्यक्तिहरूको गरिमा, सुरक्षा र संरक्षण सुनिश्चित गर्ने तथा Leave No One Behind अर्थात् कोही पनि पछाडि नछुट्ने सिद्धान्तलाई व्यवहारमा उतार्ने प्रतिबद्धता समेटिएको छ।
उक्त धनगढी घोषणापत्रलाई तत्काल कार्यान्वयन गर्ने प्रतिबद्धता आन्तरिक मामिला तथा कानुन मन्त्रालय, सामाजिक विकास मन्त्रालय तथा रेडक्रस लगायत विपद् व्यवस्थापनको क्षेत्रमा कार्यरत संघसंस्था र सहभागी सरोकारवालाहरूले व्यक्त गरेका छन्।
कार्यशालाबाट जारी घोषणापत्रले सुदूरपश्चिम प्रदेशमा विपद् व्यवस्थापनका नीति, योजना, कार्यक्रम, बजेट, संस्थागत समन्वय तथा कार्यान्वयन प्रक्रियामा अपाङ्गता समावेशी दृष्टिकोणलाई प्रभावकारी रूपमा स्थापित गर्न महत्वपूर्ण आधार तयार गर्ने अपेक्षा गरिएको छ। साथै, अपाङ्गता भएका व्यक्तिहरूको अधिकार, सुरक्षा, समान सहभागिता र सम्मानजनक जीवन सुनिश्चित गर्ने दिशामा प्रदेश तथा स्थानीय तहका सरोकारवालाहरूबीच साझा प्रतिबद्धता र सहकार्यलाई थप मजबुत बनाउने विश्वास व्यक्त गरिएको छ।


