काठमाण्डौँ : नेकपा एमालेका अध्यक्ष केपी ओलीले सरकारको अराजकताविरुद्ध आन्दोलित हुन अपिल गरेका छन् । पार्टीको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै राज्यको आतंकविरुद्ध आन्दोलित हुनुपर्ने बताएका हुन् । ‘अब आन्दोलनमा किन भने राज्यले जे गर्दा पनि भएको छ । आतंक सिर्जना गरिएको छ । आगो लगाए पनि हुने । धनसम्पत्ति सिध्याए पनि हुने । कपोलकल्पित ढंगले मान्छे गिरफ्तार गरे पनि हुने रु’ ओलीले भने, ‘केपी ओली पूर्व प्रधानमन्त्रीलाई किन गिरफ्तार जवाफ दिनु पर्दैन रु मान्छेको जीवन खेलवाड हो रु अप्रेसन गर्नुपर्ने थियो । हिरासतमा राखेकोले अप्रेसन ढिलो भयो । उपचार नपाइ मेरो स्वास्थ्य तलमाथि परेको भए ? हामी किरा फट्यांग्रा हौँ ? यीनको लागि ?’
सरकारले चौतर्फी निर्ममता लादेको भन्दै उनले जताततै भद्रगोल र हिंसा मच्चाउन खोजेको सरकारविरुद्ध एकजुट भएर आन्दोलन गर्ने चेतावनी दिएका हुन् । ‘सरकारले निर्ममताको साथ हमला गर्यो, साम्प्रदायिक हिंसा भड्काउन खोज्यो । तर त्यसको खास उपचार गरेन, सम्बोधन पनि गरेन । भोटेकोसी बाढीले यत्रो क्षति भयो, सम्बोधन गरेन । पैसा थुपारेर बसेको छ । के को लागि थुपारेको हो पैसा ?,’ ओलीले भने, ‘पहिले हजारको दरले जुलुस निस्क्यो, अब लाखका दरले आन्दोलन निस्कन्छ ।’
उनले एमालेका कार्यकर्ता गिरफ्तार गरिएको भन्दै त्यसको मूल्य एकदमै महँगो पर्ने चेतावनी पनि दिए । उनले एमाले हुतिहाराको पार्टी नभइ देश हाँक्ने ज्युँदाहरूको पार्टी भएको पनि बताए । आफूहरूलाई असंवैधानिक हिसाबले हटाएको भन्दै ओलीले एमाले संवैधानिक बाटोबाट फेरि सत्तामा पुग्ने बताए । सरकारले कहीँ पनि थिति र विधिमा काम नगरेकोले आन्दोलित हुनुपरेको उनको भनाइ छ ।


