धनगढी: कैलालीमा बाबुले ट्याक्टरले खेत जोत्ने क्रममा खसेर छोरा ७ वर्षीय बालकको मृत्यु भएको छ। जिल्लाको गौरीगंगा नगरपालिका–८ लिम्कामा शुक्रबार दिउँसो करिब १ः५० बजे ट्याक्टरबाट खसेर सुशान्त चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार ३७ वर्षीय खडकबहादुर चौधरीले आफ्नै खेतमा से २ त ३६७२ नम्बरको ट्याक्टरले जोताइ गरिरहेका थिए। सोही ट्याक्टरमा सवार उनका छोरा सुशान्त अचानक खस्दा पछाडि जोडिएको रोटाभेटरमा परेका थिए। रोटाभेटरमा परेर गम्भीर घाइते भएका बालकको घटनास्थलमै मृत्यु भएको हो। घटनापछि आफन्तले बालकको शव घरमा ल्याएका थिए।
प्रहरीले ट्याक्टर र चालक खडकबहादुरलाई नियन्त्रणमा लिएको छ। ट्याक्टरका साहु खुसीराम चौधरी पनि प्रहरीको सम्पर्कमा रहेको जनाइएको छ। घटनाबारे थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय मालाखेतीबाट प्रहरी नायब उपरीक्षक हिरा सिंह महराको कमाण्डमा सोकोसहित सात जनाको टोली खटिएको छ।


