धनगढी । लोकतान्त्रिक शासन व्यवस्थालाई थप जवाफदेही, समावेशी र जनमुखी बनाउन प्रदेश सभाको कानून निर्माण तथा नीति निर्माण प्रक्रियामा युवाको अर्थपूर्ण सहभागिता आवश्यक रहेको औल्याइएको छ ।
सुदूरपश्चिम विश्वविद्यालयको केन्द्रीय क्याम्पसमा आयोजित ‘युवासँग प्रदेश सभा’ विषयक प्यानल छलफल तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै पूर्वमन्त्री तथा प्रदेश सभा सदस्य लक्ष्मी विकले युवाहरू केवल राजनीतिक तथा सामाजिक गतिविधिका दर्शक नभई नीति निर्माण र निर्णय प्रक्रियाका सक्रिय हिस्सेदार बन्नुपर्नेमा जोड दिइन्।
कार्यक्रममा युवाहरूले प्रदेश सभाको कामकारबाही, कानून निर्माण प्रक्रिया र नीति निर्माणमा आफ्नो सहभागिताको अवस्थाबारे राखेका जिज्ञासा तथा प्रश्नको जवाफ दिँदै विकले प्रदेश सभा र युवा पुस्ताबीच प्रत्यक्ष संवाद तथा सहकार्य आवश्यक रहेको धारणा राखिन्। उनले युवाका आवाज, आवश्यकता र सुझावलाई कानून तथा नीतिमा समेट्ने वातावरण निर्माण गर्नुपर्ने विषयमा समेत स्पष्ट पारेकी थिइन्।
प्रदेश सभा सदस्य तथा विशेषाधिकार समितिका सभापति तुलछी देवकोटाले पनि युवाका प्रश्न तथा जिज्ञासामाथि धारणा राख्दै प्रदेश सभाको भूमिका, संसदीय अभ्यास र कानून निर्माणमा युवाले निर्वाह गर्न सक्ने भूमिकाबारे प्रकाश पारेकि थिइन ।
कार्यक्रममा प्रदेश सभा सचिवालयका अधिकृत केशवराज जोशीले प्रदेश सभाको कानून निर्माण प्रक्रिया, संसदीय गतिविधि तथा विधेयक दर्तादेखि छलफल र पारित हुने प्रक्रियासम्मका विषयमा प्रस्तुतीकरण गरेका थिए। उनको प्रस्तुतिले युवालाई प्रदेश सभाको संस्थागत संरचना, कार्यक्षेत्र र विधायिकी प्रक्रियाबारे जानकारी लिन सहज बनाएको थियो।
सृजनशील वातावरण संरक्षण तथा समाज विकास नेपालको आयोजनामा तथा संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडिपी) को संसद् सहयोग परियोजनाको सहकार्यमा कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा युएनडिपी संसद् सहयोग परियोजनाका नेशनल प्रोजेक्ट म्यानेजर डिला पन्तको उपस्थिति रहेको थियो।
कार्यक्रमको अध्यक्षता संस्थाका अध्यक्ष हरि जोशीले गरेका थिए। कार्यक्रममा आयोजक संस्थाका कार्यक्रम संयोजक तपराज जोशीले युवालाई प्रदेश सभाको कामकारबाही र कानून निर्माण प्रक्रियासँग प्रत्यक्ष जोड्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताए।
उनले युवाको सहभागिता लोकतन्त्रको आधारभूत पक्ष भएको उल्लेख गर्दै युवाले आफ्ना जनप्रतिनिधिसँग प्रत्यक्ष संवाद गर्ने, प्रश्न गर्ने र नीतिगत प्रक्रियामा आफ्ना विचार तथा सुझाव राख्ने अवसर पाउनुपर्ने बताए। यस्ता संवादले प्रदेश सभा र युवा पुस्ताबीचको दूरी घटाउनुका साथै नागरिक सहभागिता र संसदीय जवाफदेहिता अभिवृद्धिमा सहयोग पुग्ने उनको भनाइ थियो।
कार्यक्रममा सहभागी युवाहरूले प्रदेश सभाको प्रभावकारिता, कानून निर्माणमा नागरिकको पहुँच, युवा प्रतिनिधित्व, रोजगारी, उद्यमशीलता तथा प्रदेशको विकासमा युवाको भूमिका लगायतका विषयमा प्रश्न र जिज्ञासा राखेका थिए।
‘युवासँग प्रदेश सभा’ कार्यक्रमले युवालाई संसदीय अभ्यासबारे जानकारी गराउनुका साथै प्रदेशको नीति तथा कानून निर्माण प्रक्रियामा उनीहरूको आवाज र सहभागिता स्थापित गर्ने संवादको अवसर प्रदान गरेको आयोजकले जनाएको छ।


