टोकियो । सुदूरपश्चिमको कला, संस्कृति, भाषा र मौलिक पहिचानलाई जापानमा प्रवर्द्धन गर्ने उद्देश्यले ‘प्रथम सुदूरपश्चिम सांस्कृतिक साँझ–२०२६’ आयोजना हुने भएको छ।
सुदूरपश्चिम नेपाली समाज जापानको आयोजनामा आगामी २०२६ अक्टोबर ११ गते आइतबार जापानको 152-0023 Tokyo-to, Meguro-ku, Yakumo 1-1-1 Meguro Persimmon Hall मा सांस्कृतिक साँझ आयोजना हुन लागेको हो। कार्यक्रम साँझ ५ बजेदेखि सुरु हुनेछ।

बिकास रोकायाको नेतृत्वमा कार्यक्रम सञ्चालन हुँदैछ। कार्यक्रमसम्बन्धी जानकारी समाजका सदस्य निर्मल खड्काले दिनुभएको छ।
सुदूरपश्चिमको मौलिक कला, संस्कृति, भेषभूषा, भाषा तथा परम्परालाई प्रवासमा संरक्षण र प्रवर्द्धन गर्ने तथा जापानमा रहेका नेपाली समुदायबीच सुदूरपश्चिमको सांस्कृतिक पहिचानलाई थप स्थापित गर्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको आयोजकले जनाएको छ।
कार्यक्रममार्फत सुदूरपश्चिमका मौलिक सांस्कृतिक पक्षलाई जापानमा रहेका नेपाली समुदायमाझ प्रस्तुत गर्दै नयाँ पुस्तालाई समेत आफ्नो कला, संस्कृति र पहिचानसँग जोड्ने प्रयास गरिने बताइएको छ।
सुदूरपश्चिम नेपाली समाज जापानका अध्यक्ष बिकास रोकायाले कार्यक्रमलाई सफल बनाउन जापानमा रहेका सम्पूर्ण नेपाली समुदाय, शुभेच्छुकलाई सहयोग र सहभागिताका लागि आग्रह गरेका छन्।

