धनगढी । लामो संघर्ष, निरन्तर दबाब, आन्दोलन र सुदूरपश्चिमवासीको रगत–पसिनाको बलिदानीपूर्ण योगदानपछि बल्लतल्ल सञ्चालनको चरणमा पुगेको सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय, गेटा फेरि एकपटक विवाद र चलखेलको घेरामा परेको आशंका सार्वजनिक हुन थालेको छ। विश्वविद्यालयले गति लिनुपर्ने, शैक्षिक कार्यक्रम विस्तार गर्नुपर्ने र यस क्षेत्रका नागरिकलाई गुणस्तरीय स्वास्थ्य शिक्षा तथा स्वास्थ्य सेवा उपलब्ध गराउने दिशामा अघि बढ्नुपर्ने समयमा नियुक्ति, सरुवा र विभिन्न पदमा आफ्नो अनुकूलका व्यक्तिलाई स्थापित गर्ने चलखेल भइरहेको भन्ने चर्चाले गम्भीर प्रश्न जन्माएको छ।
गेटा विश्वविद्यालय कुनै व्यक्ति, समूह वा राजनीतिक शक्तिको निजी सम्पत्ति होइन। यो सुदूरपश्चिमवासीको दशकौँदेखिको सपना, संघर्ष र सामूहिक उपलब्धि हो। यसलाई यहाँका नागरिकले केवल एउटा शैक्षिक संस्था वा सरकारी कार्यालयका रूपमा मात्र हेरेका छैनन्। यो सुदूरपश्चिमको स्वास्थ्य, शिक्षा, रोजगारी, आर्थिक विकास र समग्र भविष्यसँग जोडिएको गौरवको विषय हो।
यस विश्वविद्यालय स्थापनाका लागि यहाँका नागरिकले वर्षौँसम्म आवाज उठाए। आन्दोलन गरे, सडकमा उत्रिए, दबाब सिर्जना गरे र राज्यलाई पटकपटक आफ्नो आवश्यकता सम्झाए। अनेकौँ राजनीतिक प्रतिबद्धता, आश्वासन र अवरोध पार गर्दै आज विश्वविद्यालय सञ्चालनको अवस्थामा आइपुगेको छ। यस्तो ऐतिहासिक उपलब्धिलाई केही व्यक्तिको स्वार्थ पूरा गर्ने माध्यम बनाउन खोज्नु सुदूरपश्चिमको भावनामाथिकै प्रहार हो।
विश्वविद्यालय सञ्चालनका लागि दक्ष, योग्य, इमानदार र प्रतिबद्ध जनशक्ति आवश्यक छ। नियुक्ति तथा जिम्मेवारी बाँडफाँट गर्दा योग्यता, क्षमता, अनुभव र संस्थाप्रतिको योगदानलाई आधार बनाउनुपर्छ। तर यदि पर्दापछाडि बसेर सीमित व्यक्तिहरूले आफ्नो प्रभाव र पहुँचका आधारमा नियुक्ति, सरुवा तथा जिम्मेवारीको भागबन्डा गर्ने प्रयास गरिरहेका छन् भने त्यो कुनै पनि हालतमा स्वीकार्य हुन सक्दैन।
आफूलाई संस्थाभन्दा माथि ठान्ने, पर्दापछाडि बसेर निर्णय प्रभावित पार्न खोज्ने र राजनीतिक पहुँच तथा व्यक्तिगत सम्बन्धका आधारमा विश्वविद्यालय सञ्चालन गर्न खोज्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ। विश्वविद्यालय कुनै व्यक्तिको जागिर खाने भाँडो होइन। न त यो कसैको निजी स्वार्थ पूरा गर्ने भर्ती केन्द्र नै हो। यो ज्ञान, अनुसन्धान, स्वास्थ्य शिक्षा र दक्ष जनशक्ति उत्पादन गर्ने पवित्र शैक्षिक संस्था हो। विश्वविद्यालयलाई राजनीतिक हस्तक्षेप र बिचौलियाको प्रभावबाट मुक्त राख्नुपर्छ। यहाँ हुने प्रत्येक नियुक्ति पारदर्शी र प्रतिस्पर्धात्मक हुनुपर्छ। जिम्मेवारी दिँदा योग्यता र क्षमतालाई प्राथमिकता दिनुपर्छ। विश्वविद्यालयको हितभन्दा व्यक्तिगत स्वार्थलाई प्राथमिकता दिने जोसुकैलाई पनि जवाफदेही बनाउनुपर्छ।
सुदूरपश्चिमले गेटा विश्वविद्यालय कसैको कृपा वा दयाबाट प्राप्त गरेको होइन। यो यहाँका नागरिकको लामो संघर्ष, त्याग र निरन्तर खबरदारीको परिणाम हो। त्यसैले यसको सञ्चालन र व्यवस्थापनमा हुने गलत गतिविधिप्रति नागरिकले प्रश्न उठाउनु स्वाभाविक मात्र होइन, आवश्यक पनि छ। सम्बन्धित सरकारी निकाय, विश्वविद्यालयका पदाधिकारी र सरोकारवाला सबैले यस विषयलाई गम्भीरतापूर्वक लिनुपर्छ। नियुक्ति, सरुवा तथा प्रशासनिक निर्णयमा कुनै पनि प्रकारको अनियमितता वा बाह्य हस्तक्षेप भएको छ भने त्यसको निष्पक्ष छानबिन हुनुपर्छ। विश्वविद्यालयलाई विवादको केन्द्र होइन, शैक्षिक उत्कृष्टताको केन्द्र बनाउनुपर्छ।
अब सुदूरपश्चिमवासी मौन बसेर आफ्नो सपनामाथि खेलवाड भएको टुलुटुलु हेर्ने अवस्थामा छैनन्। गेटा विश्वविद्यालयको संरक्षण, विकास र संस्थागत स्वायत्तताका लागि आवश्यक परे फेरि पनि आवाज उठ्नेछ। यसको उद्देश्य कसैलाई व्यक्तिगत रूपमा निशाना बनाउनु होइन, संस्थालाई गलत प्रवृत्तिबाट जोगाउनु हो। गेटा हाम्रो गौरव हो, हाम्रो संघर्षको उपलब्धि हो र भावी पुस्ताको भविष्य हो। यसलाई कसैको निजी स्वार्थ, राजनीतिक भागबन्डा र बिचौलियाको चलखेलको अखडा बन्न दिइने छैन।
पर्दापछाडि बसेर नियुक्ति, सरुवा र सेटिङको खेल खेल्ने जोसुकै हुन्, खबरदार! सुदूरपश्चिमको साझा सम्पत्तिमाथि हुने कुनै पनि गलत गतिविधि यहाँका नागरिकलाई किमार्थ स्वीकार्य हुने छैन।
गेटा विश्वविद्यालय बचाऔँ, संस्थागत स्वायत्तता कायम गरौँ। सुदूरपश्चिमको गौरव र भविष्यसँग खेलवाड नगरौँ।
लेखक: धन बहादुर(हेमराज) ढुगांना खत्री सहिद दशरथचन्द स्वास्थ्य बिज्ञान बिश्वबिद्यालय सञ्चालनार्थ सघंर्ष समिति सदस्य हुन्


