धनगढी — जागिर खोज्नेभन्दा आफैं उद्यम सुरु गरेर रोजगारी सिर्जना गर्ने युवा तयार पार्ने लक्ष्यसहित शनिबारदेखि धनगढीमा सुरू भएको सुदूरपश्चिम नवउद्यमी सम्मेलनबाट ५१ जना युवा छनोट भएका छन् । धनगढी क्षेत्रका प्रतिनिधिसभा सदस्य आनन्दबहादुर चन्दको अगुवाइमा कैलाली बहुमुखी क्याम्पसले आयोजना गरेको सम्मेलनमा सहभागी १३८ विद्यार्थीमध्ये कृषि, निर्माण, उत्पादन, प्रविधि, विज्ञान तथा कृत्रिम बौद्धिकता ९एआई० लगायतका क्षेत्रमा नवीन सोच भएका ५१ जना छनोट गरिएको हो ।
क्याम्पसका प्रा।डा। राजेन्द्रवीर चन्दका अनुसार कैलाली बहुमुखी क्याम्पस र अन्य क्याम्पसबाट ३५–३५ जना गरी ७० जना छनोट गर्ने लक्ष्य राखिएको थियो । तर, प्रतिस्पर्धाबाट ५१ जना मात्रै छनोट भएका छन् । ‘स्थानीय सम्भावनादेखि लगानीयोग्य उद्यमसम्म’ भन्ने नारासहित आयोजित सम्मेलनले स्थानीय स्रोतसाधन, सीप र सम्भावनालाई व्यावसायिक उद्यममा रूपान्तरण गर्ने लक्ष्य राखेर सम्मेलन आयोजना गरिएको सांसद चन्दले बताए । सम्मेलनमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्टलगायत उद्योगी व्यवसायीहरूको सहभागिता थियो ।
सम्मेलनबाट छनोट भएका युवालाई अब ९० दिनसम्म कार्यशाला र मेन्टरसिपमार्फत प्रशिक्षण दिइने चन्दले बताए । विषयविज्ञबाट दिइने प्रशिक्षणपछि युवाले विकास गरेका उत्पादन तथा उद्यमका नमुना प्रदर्शन गरिनेछ । त्यसपछि ‘डेमो डे’ आयोजना गरी सम्भावित लगानीकर्तासँग संवाद र सहकार्यको अवसरसमेत उपलब्ध गराइने प्रा। चन्दको भनाइ छ ।
सरकारी तथा निजी क्षेत्रमा रोजगारी खोज्ने र वैदेशिक रोजगारीमा जाने युवालाई आफ्नै व्यवसाय सुरु गर्न प्रेरित गर्नु सम्मेलनको मुख्य उद्देश्य हो । स्थानीय उत्पादन तथा सम्भावनामा आधारित उद्यम विकास गर्दै सुदूरपश्चिमको अर्थतन्त्रलाई उत्पादन र निर्यातमुखी बनाउने अपेक्षा पनि आयोजकले गरेको छ ।


