धनगढी: कैलालीको पूर्वी क्षेत्रमा पछिल्लो समय आपराधिक गतिविधि बढ्दै गएपछि सुरक्षा चुनौती थपिँदै गएको छ। जिल्लाको सुरक्षा निकायले लम्कीचुहा क्षेत्रलाई अपराधको दृष्टिले संवेदनशील अर्थात् ‘रेड जोन’का रूपमा राखेको जनाएको छ। बढ्दो सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै लम्कीमा प्रहरी नायब उपरीक्षक अर्थात् डीएसपीको दरबन्दीसहित थप प्रहरी जनशक्ति व्यवस्थापन गर्नुपर्ने मागसमेत उठेको छ।
लम्कीमा आयोजित शान्ति सुरक्षा अवस्थासम्बन्धी अन्तरक्रिया तथा समीक्षा कार्यक्रममा जनप्रतिनिधि र सुरक्षा अधिकारीहरूले जिल्लाको समग्र सुरक्षा अवस्थाबारे छलफल गरेका छन्। कार्यक्रममा कैलाली क्षेत्र नम्बर २ का संघीय सांसद केपी खनाल, प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मी, जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक नरेन्द्र चन्द, सशस्त्र प्रहरी तथा राष्ट्रिय अनुसन्धानका जिल्ला प्रमुखलगायत सुरक्षा अधिकारीहरूको सहभागिता थियो।
कार्यक्रममा कैलालीमा पछिल्लो समय भइरहेका आपराधिक गतिविधि, सुरक्षा चुनौती तथा त्यसको नियन्त्रणका उपायबारे छलफल गरिएको थियो। विशेषगरी जिल्लाको पूर्वी क्षेत्र र लम्कीचुहा नगरपालिकामा आपराधिक गतिविधि बढ्दै गएको भन्दै सुरक्षा अधिकारीहरूले यस क्षेत्रलाई संवेदनशील क्षेत्रमा राखिएको बताएका थिए।
कैलाली क्षेत्र नम्बर २ का सांसद केपी खनालले लम्कीचुहा क्षेत्रमा पछिल्लो समय सुरक्षा चुनौती बढ्दै गएकाले डीएसपीको दरबन्दीसहित प्रहरी जनशक्ति थप गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो। लम्कीमा डीएसपी राख्ने विषयमा आफूले पहल गरिरहेको भन्दै उहाँले आवश्यक प्रक्रिया अघि बढाउन प्रमुख जिल्ला अधिकारी र जिल्ला प्रहरी प्रमुखलाई आग्रह गर्नुभयो।
यस्तै, प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले नजिकिँदै गरेको तिहारलाई लक्षित गर्दै जिल्लाको सुरक्षा व्यवस्था थप चुस्त बनाइएको बताउनुभयो। सुरक्षा अधिकारीहरू नागरिकको सुरक्षाका लागि दिनरात खटिरहेको भन्दै उहाँले कैलालीवासीलाई ढुक्क भएर तिहार मनाउन आग्रह गर्नुभयो। कुनै समस्या, गुनासो वा सुरक्षा सम्बन्धी सूचना भए प्रशासनलाई जानकारी गराउन पनि उहाँले नागरिकसँग अनुरोध गर्नुभयो।
जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक नरेन्द्र चन्दले कैलालीमा प्रहरी जनशक्ति अभाव रहेको बताउनुभयो। विगतमा उपलब्ध प्रहरी जनशक्तिकै आधारमा अहिले पनि जिल्लाभरको सुरक्षा व्यवस्थापन गर्नुपरेको भन्दै उहाँले जनशक्ति अभावका कारण सुरक्षा व्यवस्थापनमा चुनौती थपिएको उल्लेख गर्नुभयो। जिल्लाको क्षेत्रफल, जनसंख्या र बढ्दो सुरक्षा चुनौतीको तुलनामा प्रहरी जनशक्ति पर्याप्त नरहेको उहाँको भनाइ छ।
कैलालीको पूर्वी क्षेत्र व्यापारिक, यातायात र जनघनत्वका हिसाबले महत्वपूर्ण क्षेत्र मानिन्छ। तर पछिल्लो समय बढ्दै गएको आपराधिक गतिविधिले स्थानीयस्तरमा सुरक्षा चिन्ता बढाएको छ। यस्तो अवस्थामा लम्कीमा डीएसपीको दरबन्दी स्थापना, प्रहरी जनशक्ति थप तथा सुरक्षा निकायबीच प्रभावकारी समन्वय आवश्यक देखिएको छ।


