धनगढी । नेपाली कांग्रेसको १५ औँ महाधिवेशन अन्तर्गत कैलाली क्षेत्र नम्बर ५ को क्षेत्रीय सभापति पदमा भिम पडालले पुनः उम्मेदवारी दिने घोषणा गरेका छन्। यसअघि एक कार्यकाल क्षेत्रीय सभापतिको जिम्मेवारी सम्हालिसकेका पडालले पार्टी संगठनलाई थप मजबुत, एकताबद्ध र गतिशील बनाउने उद्देश्यसहित पुनः नेतृत्वमा आउन चाहेको बताएका छन्।
पडालले आफ्नो उम्मेदवारी नेपाली कांग्रेसको विचार, सिद्धान्त र आदर्शलाई जनस्तरसम्म पुर्याउने उद्देश्यमा केन्द्रित रहेको बताएका छन्। पार्टीभित्र देखिएका समस्या र चुनौतीलाई संगठनात्मक ढंगबाट समाधान गर्दै कार्यकर्ता बीच थप एकता र सहकार्यको वातावरण निर्माण गर्न आफूले पहल गर्ने उनको भनाइ छ।
क्षेत्रीय सभापतिका रूपमा आफूले यसअघि सम्हालेको जिम्मेवारीबाट प्राप्त अनुभवलाई आगामी कार्यकालमा अझ प्रभावकारी रूपमा उपयोग गर्ने पडालले बताएका छन्। उनले पार्टी संगठनलाई समय अनुकूल बनाउँदै वडा तहदेखि क्षेत्रीय तहसम्मका कार्यकर्तालाई सक्रिय र जिम्मेवार बनाउने विषयलाई प्राथमिकतामा राख्ने बताएका छन्।
कैलाली क्षेत्र नम्बर ५ का स्थानीय समस्या, विकासका आवश्यकता तथा जनताका मागलाई पार्टीको राजनीतिक एजेन्डासँग जोडेर अघि बढाउन सक्षम र सक्रिय नेतृत्व आवश्यक रहेको पडालको भनाइ छ। उनले पार्टीमा युवा पुस्ताको सहभागिता र नेतृत्व विकासलाई विशेष प्राथमिकता दिने बताएका छन्।
युवा, महिला, किसान, मजदुर, दलित, जनजाति लगायत विभिन्न समुदायका आवाजलाई पार्टीको संगठन र निर्णय प्रक्रियामा प्रभावकारी रूपमा स्थापित गर्ने आफ्नो लक्ष्य रहेको पडालले बताएका छन्। सबै वर्ग र समुदायलाई समेटेर संगठनलाई समावेशी र सुदृढ बनाउने उनको प्रतिबद्धता छ।
पडालले समाजवादी, समावेशी र लोकतान्त्रिक मूल्य–मान्यताप्रति आफू निरन्तर प्रतिबद्ध रहने बताउँदै पुनः क्षेत्रीय सभापतिको जिम्मेवारी पाए पार्टी संगठनलाई थप व्यवस्थित र प्रभावकारी बनाउन काम गर्ने बताएका छन्। उनले कार्यकर्ताबीचको एकता, आपसी सहकार्य र संगठनप्रतिको विश्वासलाई आफ्नो नेतृत्वको मुख्य आधार बनाउने बताएका छन्।

