धनगढी: सुदूरपश्चिम प्रदेशमा केही दिनदेखि सक्रिय रहेको मनसुन क्रमशः कमजोर हुँदै गएको छ । निरन्तरको वर्षासँगै बढेको बाढी तथा डुबानको जोखिमसमेत अहिले घट्दै गएको मौसमविद्हरूले बताएका छन् । प्रदेशका विभिन्न जिल्लामा शनिबार रातिसम्म सामान्यदेखि हल्का वर्षा भइरहेको भए पनि पछिल्ला दिनको तुलनामा वर्षाको तीव्रता घटेको छ । ठूलो वर्षा हुने सम्भावना नरहेकाले तत्काल ठूलो जोखिमको अवस्था नरहेको जल तथा मौसम विज्ञान कार्यालय अत्तरियाले जनाएको छ ।
मौसम विज्ञान कार्यालय अत्तरियाका प्रमुख सञ्जयकुमार शाहका अनुसार आइतबार साँझसम्म सुदूरपश्चिमका केही स्थानमा सामान्य वर्षा हुने सम्भावना रहेको छ । आइतबार राति र सोमबार बिहानसम्म मनसुनको प्रभाव केही देखिए पनि त्यसपछि क्रमशः निष्क्रिय हुँदै जाने उहाँको भनाइ छ । पछिल्लो वर्षाका क्रममा सुदूरपश्चिमका पहाडी जिल्लामा ६० मिलिमिटरभन्दा बढी र तराईका जिल्लामा ७० मिलिमिटरसम्म वर्षा मापन भएको छ । तर, अहिले वर्षाको मात्रा र तीव्रता घट्दै गएकाले नदी तथा खोलानालामा पानीको बहावसमेत नियन्त्रणमा रहेको मौसम कार्यालयले जनाएको छ ।
जलस्थरसमेत अहिले चेतावनी तहभन्दा तलै रहेको कार्यालयको भनाइ छ । वर्षा पूर्णरूपमा रोकिइहाल्ने अवस्था भने नरहेकाले केही स्थानमा हल्का तथा सामान्य वर्षा हुनसक्ने जनाइएको छ । मौसम विज्ञान कार्यालयका प्रमुख शाहका अनुसार अहिले पानी पर्ने अवस्था कायम रहे पनि अघिल्ला दिनमा जस्तो ठूलो पानी पर्ने सम्भावना छैन । त्यसैले बाढी, डुबान तथा अन्य मौसमी जोखिम क्रमशः कम हुँदै गएको उहाँले बताउनुभयो ।
यद्यपि, पहाडी क्षेत्रमा पहिरो तथा नदी–खोलामा आकस्मिक पानीको बहाव बढ्न सक्ने सम्भावना पूर्णरूपमा टरिनसकेकाले स्थानीयवासीलाई भने सावधानी अपनाउन आग्रह गरिएको छ । केही दिनयता परेको निरन्तर वर्षाका कारण सुदूरपश्चिमका तराई तथा पहाडी जिल्लामा जनजीवन प्रभावित भएको थियो । सडक तथा यातायातमा समेत असर परेको थियो । अब मनसुन कमजोर हुँदै गएसँगै जनजीवन सामान्य बन्दै जाने अपेक्षा गरिएको छ ।
मौसम कार्यालयले तत्काल ठूलो वर्षाको अवस्था नरहेको जनाए पनि मौसम पूर्णरूपमा सफा हुन केही समय लाग्न सक्ने जनाएको छ । आइतबारसम्म सामान्य वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन र मौसमको पछिल्लो सूचना हेरेर यात्रा तथा अन्य गतिविधि सञ्चालन गर्न आग्रह गरिएको छ । समग्रमा, पछिल्ला दिनमा देखिएको वर्षाको प्रभाव अब क्रमशः घट्दै गएको छ । मनसुन कमजोर हुँदै गएसँगै सुदूरपश्चिममा बाढी, डुबान र अन्य मौसमी जोखिम पनि कम हुने क्रममा रहेको मौसम विज्ञान कार्यालयले जनाएको छ ।

