धनगढी । दसौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा सुदूरपश्चिम प्रदेशबाट ३० खेलमा ६ सय खेलाडी सहभागी हुने भएका छन् । सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्ले प्रदेशस्तरीय छनोट प्रतियोगिता सञ्चालन गरी राष्ट्रिय प्रतियोगिताका लागि खेलाडी छनोट गरेको हो । परिषद्ले सार्वजनिक गरेको छनोट सूचीअनुसार भलिबल, फुटबल, क्रिकेट, एथलेटिक्स, तेक्वान्दो, कराते, ब्याडमिन्टन, कुस्ती, कबड्डी, हक्की, बास्केटबल, खोखोलगायत ३० वटा खेलमा प्रदेशको प्रतिनिधित्व गर्ने खेलाडी छनोट भएका छन् ।
छनोट भएका खेलमा पुरुष तथा महिला दुवै विधाका खेलाडी छन् । केही खेलमा वैकल्पिक खेलाडीसहित टोली छनोट गरिएको प्रदेश खेलकुद परिषद्ले जनाएको छ । राष्ट्रिय खेलकुद प्रतियोगितामा खेलाडी, प्रशिक्षक, अफिसियल तथा कर्मचारी गरी सुदूरपश्चिमबाट कुल ७२४ जनाको सहभागिता रहनेछ । तीमध्ये ६ सय जना खेलाडी रहेको सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्का सदस्यसचिव लोकबहादुर खड्का ‘रवि’ले जानकारी दिए ।
उनका अनुसार राष्ट्रिय प्रतियोगितामा सहभागी हुने बाँकी १२४ जनामा प्रशिक्षक, अफिसियल तथा कर्मचारी रहनेछन् । प्रदेश खेलकुद परिषद्ले विभिन्न खेलका खेलाडी छनोट गरी राष्ट्रिय प्रतियोगितामा सुदूरपश्चिमको बलियो सहभागिता सुनिश्चित गरेको जनाएको छ । छनोट भएका खेलाडीले राष्ट्रिय प्रतियोगितामा प्रदेशका लागि पदक जित्ने लक्ष्यसहित प्रतिस्पर्धा गर्नेछन् ।


