धनगढी: सुदूरपश्चिम प्रदेशमा तीन दिनदेखिको लगातार वर्षाका कारण विभिन्न जिल्लाका मुख्य तथा सहायक राजमार्ग प्रभावित भएका छन् । कतै पहिरो खसेर सडक अवरुद्ध भएको छ भने कतै सडक भासिँदा यातायात सञ्चालनमा समस्या भएको छ । केही स्थानमा रुख तथा ढुंगा खस्दा समेत सडक अवरुद्ध भएका छन् । अवरुद्ध सडक खुलाउन सडक विभाग, ट्राफिक प्रहरी तथा स्थानीय तहले समन्वय गरेर काम गरिरहेका छन् । सडक भासिएका र जोखिमयुक्त स्थानमा भने तत्कालका लागि एकतर्फी रूपमा सवारी सञ्चालन गराउने प्रयास भइरहेको राजमार्ग शुरक्षा तथा ट्राफिक ब्यवस्थापन कार्यालय अत्तरियाका प्रमुख प्रहरी उपरिक्षक नवराज कार्कीले बताए ।
ट्राफिक प्रहरीका अनुसार तीन दिनदेखिको निरन्तर वर्षाका कारण कैलालीको गोदावरी क्षेत्रमा सडक भासिएको छ । सडक भासिएपछि उक्त क्षेत्रमा यातायात सञ्चालन जोखिमपूर्ण बनेको छ । दार्चुलामा पहिरो तथा ढुंगा खस्दा महाकाली राजमार्गका विभिन्न खण्ड प्रभावित भएका छन् । पहिरो तथा ढुंगा पन्छाएर सडक सञ्चालनमा ल्याउने काम भइरहेको छ । डडेल्धुराको जोगबुढा–बुडर सडकखण्डमा पनि पहिरोका कारण यातायात अवरुद्ध भएको छ । लगातारको वर्षाले सडक आसपासका भिरालो क्षेत्रमा पहिरो खस्ने क्रम बढेपछि सडक सञ्चालनमा समस्या भएको हो ।
यस्तै, अछाम–बाजुरा जोड्ने राजमार्गका विभिन्न स्थानमा पहिरो खसेको छ । अछामको चौखुट्टे क्षेत्रमा सडक भासिँदा आवागमन नै प्रभावित भएको छ । डडेल्धुरा–डोटी सडकखण्डमा समेत सडक भासिएपछि यातायात सञ्चालनमा समस्या भएको छ । भिमदत्त राजमार्गका विभिन्न स्थानमा रुख ढलेर सडक अवरुद्ध भएको थियो । सडकमा ढलेका रुख हटाएपछि अधिकांश स्थानमा यातायात सञ्चालनमा ल्याइएको छ ।
सडक विभाग र ट्राफिक प्रहरीको समन्वयमा पहिरो, ढुंगा तथा सडकमा खसेका रुख पन्छाएर अवरुद्ध सडक खुलाउने काम भइरहेको छ । केही सडकखण्डमा तत्कालका लागि साना सवारीसाधन एकतर्फी रूपमा सञ्चालन गराउने गरी बाटो खुलाउने प्रयास भइरहेको छ ।
उता, लगातारको वर्षाका कारण प्रभावित बनेको मौसममा पनि क्रमिक सुधार देखिन थालेको छ । सुदूरपश्चिममा केही दिनदेखि सक्रिय रहेको न्यून चापीय प्रणाली कमजोर बन्न थालेसँगै वर्षाको मात्रा पनि घट्दै गएको छ । मौसम विज्ञान कार्यालय अत्तरियाका अनुसार प्रदेशका केही स्थानमा आइतबारसम्म सामान्यदेखि हल्का वर्षा हुने सम्भावना रहे पनि पछिल्ला दिनको तुलनामा वर्षाको तीव्रता घट्नेछ । आइतबार राति र सोमबार बिहानसम्म मौसममा यसको केही प्रभाव देखिए पनि त्यसपछि प्रणाली क्रमशः कमजोर हुँदै जाने पूर्वानुमान गरिएको छ ।
यससँगै पछिल्ला दिनमा बढेको बाढी तथा डुबानको जोखिमसमेत क्रमशः घट्दै गएको जल तथा मौसम कार्यालय अत्तरियाका प्रमुख सञ्जय शाहले बताए । तर, पहाडी क्षेत्रमा जमिन गलिसकेका कारण पहिरोको जोखिम भने अझै पूर्ण रूपमा टरिसकेको छैन । नदी तथा खोलामा समेत वर्षापछिको पानीको बहाव केही समय बढ्न सक्ने भएकाले स्थानीयवासीलाई सावधानी अपनाउन आग्रह गरिएको छ ।
केही दिनयता परेको निरन्तर वर्षाका कारण सुदूरपश्चिमका तराईदेखि पहाडी जिल्लासम्म जनजीवन प्रभावित भएको थियो । सडक तथा यातायात सेवामा समेत प्रत्यक्ष असर परेको छ । अब वर्षा क्रमशः कम हुँदै जाने र मनसुन कमजोर बन्ने क्रममा रहेकाले जनजीवन पनि विस्तारै सामान्य बन्दै जाने अपेक्षा गरिएको छ ।

