धनगढी । लामो समयदेखि खेलकुद पत्रकारितासँगै सामाजिक तथा राजनीतिक क्षेत्रमा सक्रिय युवा नेता प्रदीप पाठकले नेपाली कांग्रेसको १५ औँ महाधिवेशन अन्तर्गत कैलाली क्षेत्र नं ५ बाट महाधिवेशन प्रतिनिधि पदमा उम्मेदवारी घोषणा गरेका छन्।
लामो समय देखि कैलालीमा पत्रकारितामा सक्रिय रहँदै आएका पाठकले पार्टी संगठनलाई थप सुदृढ, व्यवस्थित र प्रभावकारी बनाउने उद्देश्यसहित महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी दिएको बताएका छन्। उनले नेपाली कांग्रेसका लोकतान्त्रिक मूल्य–मान्यता, विचार र आदर्शलाई आत्मसात् गर्दै पार्टीलाई थप सबल बनाउन आफ्नो भूमिका रहने बताएका छन्।
पाठकले नेपाली कांग्रेस कैलाली क्षेत्र नं ५ को प्रवक्ताका रूपमा पाँच वर्ष पार्टीको सांगठनिक भूमिकामा रहेर काम गरिसकेका छन्। पार्टीको संगठन, कार्यकर्ता र जनताबीचको सम्बन्धलाई थप मजबुत बनाउन आफूले विगतको अनुभवलाई प्रयोग गर्ने उनको भनाइ छ।
महाधिवेशन प्रतिनिधिका रूपमा निर्वाचित भए पार्टीले दिएको जिम्मेवारीलाई इमानदारी, निष्ठा र सक्रियताका साथ निर्वाह गर्ने पाठकले प्रतिबद्धता व्यक्त गरेका छन्। उनले पार्टीभित्र युवाको सहभागिता र नेतृत्व विकासलाई प्राथमिकता दिनुपर्ने आवश्यकता रहेकोसमेत बताएका छन्।
पत्रकारिताको लामो अनुभवबाट समाजका विभिन्न पक्षलाई नजिकबाट बुझ्ने अवसर पाएको उल्लेख गर्दै पाठकले पार्टी संगठनलाई जनताका समस्या र अपेक्षासँग जोडेर अघि बढाउन आफूले योगदान गर्ने बताएका छन्।
आफ्नो उम्मेदवारीलाई व्यक्तिगत आकांक्षाभन्दा पनि पार्टी संगठनलाई थप मजबुत बनाउने अभियानका रूपमा लिएको बताउँदै पाठकले क्षेत्र नं। ५ का कांग्रेस नेता तथा कार्यकर्ताको साथ र विश्वासको अपेक्षा गरेका छन्।

