धनगढी: करिब चार दशक अघि, तराइमा यस्तो बस्ती थिएन । घरका लागि चाहिने नुन देखी सुन सम्मका लागि कैलालीको चिसापानी झर्ने हटारुहरू (किनमेल गर्न आएका मानिस) को लर्को हुने गर्दथ्यो । चिसापानी–कुइने–सोल्टामा अहिले जस्तो गाडी चल्ने कुरा सपना मात्र थियो । किनकि हटारुहरूका लागि गोरेटो बाटो नै सुरक्षित थिएन । सुर्खेत, डोटी, दैलेख सहितका विभिन्न पहाडी जिल्लाबाट चिसापानी झर्ने हटारुहरूका लागि सबैभन्दा बढी जोखिम थियो साबिक सुगरखाल गाविस ९ र हाल मोहन्याल गाउँपालिका वडा नम्बर ७ मा पर्ने बाका खोला ।
खोलामा गहिरो खोच भएकाले यो बाटो प्रयोग गर्नु ज्यानको बाजी लगाउनु सहर नै थियो । माथिबाट खोलाको गहिरो खोचमा पुग्नु पर्ने र खोचबाट फेरी माथि उक्लनु निकै असहज थियो । वैकल्पिक बाटो घुमाउरो र बढी समय लाग्ने भएकाले आफूहरूले जोखिम मोलेरै खोलाको बाटो प्रयोग गर्ने गरेको ८२ वर्षीय करण सिंह भुल बत्ताउँछन् । “अहिले त यतै बसाई सरे, यो म हाट हिँडेको बाटो हो । हिँड्दा खेरी बाका खोला पुगेपछि धेरै डर लाग्थ्यो । किन भने बाटो खतरा थियो । कति त लडेर घाइते पनि भएका हुन । घुमेर जाँदा समय धेरै लाग्ने भएकाले झारपात, बुट्यान समातेर भए पनि खोलामा झर्ने र चढ्ने गर्थ्यौ ।” उनले भने ।
त्यही बाका खोलाको छेउमा थियो सूर्य बहादुर थापाको घर । कतिपय हटारुहरूका लागि थकान मार्ने चौतारो समेत उनैको घर थियो । उनका बुवा गर्वे थापालाई हटारुहरूको पिडाले निकै पिरोल्थ्यो । सूर्य थापा भन्छन्,।।। “हाट आउने हटारुहरूलाई धेरै समस्या भयो अलिकति पैसा कमाइयो भने बाका खोलामा काठको पुल बनाउनु पर्छ भनेर बुवा भनिरहनु हुन्थ्यो । त्यो समयमा एकल लगानीमा पुल बनाउने कुरा सानो थिएन । बुवाले सपना देखे पनि पुरा गर्न असम्भव थियो । त्यसै हुँदाहुँदै २०४३ सालमा बुवा बित्नु भयो ।”
आफ्ना बुवा हुँदा सम्म सूर्य थापाले पुल र हटारुको पिडामा धेरै ध्यान दिएनन् । तर बुवा स्वर्गीय भएपछि भने बुवाको सपना र जनताको पिडाले मनमा शान्ति मिलेन । फतल उनले २०४४ सालमा आफ्नै निजी लगानीमा काठको पुल बनाए । पुल काठको थियो तर जनताको जिवनरेखा थियो । पुल सानो थियो तर जनताको भरोसाको पुल थियो । यस बखत उनी राजनीति, पद वा प्रतिष्ठामा थिएनन् । थियो त केवल जनताको पिडा बुझ्ने मन अनि एउटै उद्देश्य जनताको सहजता ।
तत्कालीन अवस्थामा काठे पुल निर्माणमा लगाएको लगानीले जग्गा किनेको भए बिघौ बिघा जग्गा आउँथ्यो । अन्यत्र लगानी गरेको भए व्यावसायिक सफलता मिल्थ्यो होला तर उनलाई जनताको सेवा भावले यस्तो गर्न दिएन । “मैले त्यो बेला पुल बनाउँदा ३५ हजार खर्च गरेको थिए । त्यो बेला टिकापुरमा एक हजारको एक कट्टा जमिन पाइन्थ्यो । भनेपछि अहिले करिब ३५ करोड हुन्थ्यो होला तर मैले त्यो सोचिन । समाजको हित भन्दा माथि, समाजको समस्या भन्दा पर म बस्न सकिन । काठको पुल बनाएर जनतालाई सहजता बनाइदिएको भन्दा बढी खुसी अरूमा मिलेन ।” उनले भने ।
२०४४ सालमा गोरेटो बाटोलाई मध्यनजर गरेर बनाइएको पुल थियो । पछि सूर्य थापा चिसापानी–कुइने–सोल्टा हुँदै ९ पहाडी जिल्लालाई सहज हुने मोटरबाटको सपना देख्न थाले र पहल गर्न थाले । उनले अगुवाइ गरेको विद्रोहको आवाज सरकारले सुन्यो र सो सडकमा नयाँ ट्र्याक खोल्यो । थापाले बनाएको त्यही काठे पुलले २०४४ साल देखी २०७८ साल सम्म बढुवा देखी सवारी साधन सम्मलाई वारपार गरायो । उनै सूर्य थापाकै पलमा बाका खोलामा अहिले पक्की पुल बनेको छ ।
यही बाटो हाट पुगेका ८५ वर्षीय पुष्कल बहादुर माझी ती दिन सम्झिँदै भन्छन्,।।।। “बाका खोला भनेको हटारुहरूका लागि प्रकृतिले थापेको धराप थियो । सँगै आएका कयौँ साथीहरू लडेर घाइते पनि भएका थिए । तर पछि सूर्य थापा जीले आफ्नै लगानीमा काठे पुल बनाइदिनु भयो । उहाँलाई के भयो थाहा छैन तर हामी हटारुलाई संसार जितेको महसुस भयो । भगवानै आएको अनुभूति भयो । त्यो बेला व्यक्तिले पुल बनाउने कुरा सानो कुरा थिएन । जनताको सेवा गर्ने सङ्कल्प सानो थिएन । मैले बुझेको सूर्य थापा सपना देख्ने र त्यही सपनालाई वास्तविकतामा बदल्ने मान्छे हुन ।”
काठे पुलबाट सुरु भएको उनको समाज बदल्ने सङ्कल्प अहिले पनि उस्तै छ । रोजगार सृजना गर्ने सपना, कृषिलाई आधुनिकीकरण गर्ने सपना, भेरी कर्णालीको सङ्गम त्रिवेणी धामलाई विश्वमा चिनाउने सपना, जलयात्रा सफल पार्ने सपना, सुदूरपश्चिमलाई समृद्ध प्रदेशका रूपमा विकास गर्ने सपना अझै उस्तै छ । सूर्य बहादुर थापा कैलालीमा नाम चलेका उद्योगपति र असल राजनीतिकर्मी पनि हुन । उनी जिल्ला समन्वय समिति कैलालीको सभापतिको जिम्मेवारीमा रहेर समेत काम गरिसकेका व्यक्ती हुन ।


