धनगढी । देश संघीय संरचनामा गइसके पनि यसको प्रत्यक्ष लाभ अझैसम्म सर्वसाधारणले अनुभूति गर्न नपाएको गुनासो सुदूरपश्चिममा व्यापक छ । संविधानले संघ, प्रदेश र स्थानीय तहको व्यवस्था गरे पनि विकास निर्माणका योजना, बजेट, सिफारिस र नीतिगत निर्णयका लागि अझै पनि संघीय राजधानी काठमाडौं धाउनुपर्ने बाध्यता कायमै छ । यही यथार्थलाई मुख्य मुद्दा बनाउँदै आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा कैलाली क्षेत्र नम्बर ५ बाट उम्मेदवार बनेका नेपाली काँग्रेसका नेता नरनारायण शाह ‘मनु’ चुनावी मैदानमा उत्रिएका छन् ।
धनगढी उपमहानगरपालिका वडा नम्बर ८ को वडा कमिटीले आयोजना गरेको स्थानीय अगुवा नेता कार्यकर्ताहरूको भेला सो कुरा बताएका हुन् । उक्त भेलामा निर्वाचन तथा संगठनका विविध पक्षहरूमा महत्वपूर्ण छलफल भएको छ । सहभागी अगुवा कार्यकर्ताहरूका विचार, सुझाव र उत्साहले संगठनलाई अझ सुदृढ र ऊर्जावान बनाउने विश्वास शाहको छ ।
मनु शाहले धनगढीमा स्थायी सचिवालय स्थापना गर्ने र त्यस सचिवालयलाई सेवा केन्द्रको रूपमा विकास गर्ने योजना अघि सारेका छन् । उनका अनुसार सचिवालयमा आएका जनताका गुनासो, सुझाव र मागहरूलाई व्यवस्थित रूपमा संकलन गरी संघीय सदनमा उठाइनेछ । आवश्यक परे सम्बन्धित मन्त्रालय र निकायसँग प्रत्यक्ष समन्वय गरेर समाधानको पहल गरिने उनले बताए । ‘जनताले फाइल बोकेर काठमाडौं धाउनुपर्ने बाध्यताको अन्त्य गर्छु,’ मनु भन्छन्, ‘सचिवालयमार्फत शिक्षा, स्वास्थ्य, पूर्वाधार, रोजगारी, कृषि, सिँचाइ जस्ता विषयमा पहल हुनेछ । सानोतिनो कामका लागि पनि सिंहदरबार पुग्नुपर्ने अवस्था रहँदैन ।’

स्थानीय तह र प्रदेश सरकार सक्रिय हुँदाहुँदै पनि संघीय मन्त्रालय र निकायमै निर्भर रहनुपर्ने अवस्था अझै हट्न नसकेको स्थानीयको भनाइ छ । धनगढीका स्थानीय बासिन्दा भन्छन्, ‘योजना स्वीकृत गर्न, बजेट सुनिश्चित गर्न वा सामान्य प्रशासनिक कामका लागि पनि काठमाडौं पुग्नुपर्छ । खर्च, समय र पहुँच–सबै हिसाबले यो आम नागरिकका लागि कठिन छ ।’
मनु शाहले यही काठमाडौं–केन्द्रित शासनप्रणालीलाई चुनौती दिने बताएका छन् । ‘संघीयताको मर्म भनेकै निर्णय र सेवा जनताको नजिक पु¥याउनु हो,’ उनी भन्छन्, ‘सांसद भनेको राजधानीमा बसेर भाषण गर्ने मात्र होइन, जनताको घरदैलोमा पुगेर काम गर्ने प्रतिनिधि हो ।’धनगढी उपमहानगरपालिका वडा नम्बर ८ को वडा कमिटीले आयोजना गरेको भेलामा समेत शाहले ८ नम्बर मा भईरहेका विभिन्न विकास निर्माणका विषयमा कार्यकताको सुझाव लिएका थिए । वडा सभापति मोहन ओझाको सभाअध्यतामा भएको छलफल कार्यक्रममा प्रमुख अतिर्थी शाह संगै केन्दिय समय नृप बहादुर वड , जिवन राना रहेका थिए भने कार्यक्रमको संञ्चालन वडा सचिव भावना बमले गनुभएको थियो ।


