धनगढी । नेपाली कांग्रेसको १५ औँ नियमित महाधिवेशनअन्तर्गत कैलाली जिल्ला अधिवेशन आइतबार धनगढीमा सुरु भएको छ। अधिवेशनमा पार्टीको नेतृत्व, संगठन सुदृढीकरण र आगामी राजनीतिक दिशाबारे नेताहरूले धारणा राखेका छन्।
अधिवेशनलाई सम्बोधन गर्दै नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता तथा निवर्तमान मुख्यमन्त्री कमलबहादुर शाहले पार्टीको अस्तित्व, सिद्धान्त र लोकतान्त्रिक मूल्य–मान्यताको रक्षाका लागि एकजुट हुन कांग्रेसजनलाई आग्रह गरे। उनले कसैको डर, धम्की र दबाबबाट विचलित नभई पार्टीको विचार र सिद्धान्तको पक्षमा दृढतापूर्वक उभिनुपर्ने बताए।
गगनकुमार थापाले शेरबहादुर देउवाको नेतृत्वमा हुने पार्टी महाधिवेशनमा सहभागी हुने जनप्रतिनिधिलाई कारबाही गर्ने चेतावनी दिएको प्रसङ्गमा प्रतिक्रिया दिँदै शाहले कांग्रेस लामो संघर्ष र चुनौती पार गरेर आएको पार्टी भएको उल्लेख गरे। २००३ सालदेखि नै विभिन्न आरोह–अवरोह सामना गर्दै आएको कांग्रेस कुनै पनि दबाबबाट त्रसित नहुने उनको भनाइ थियो।
शाहले मुलुकको विकास, राजनीतिक स्थिरता र राष्ट्रिय एकताका लागि शेरबहादुर देउवाको नेतृत्व आवश्यक रहेको जिकिर गरे। पार्टी र मुलुकलाई एकताबद्ध गर्दै समृद्धिको यात्रामा अघि बढाउन देउवाको विकल्प नरहेको उनले बताए।
कैलाली जिल्ला सभापति नारायणदत्त भट्टको अध्यक्षतामा सुरु भएको अधिवेशनमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री रामजनम चौधरी प्रमुख अतिथि रहेका छन्।
कैलालीका १३ स्थानीय तह र पाँच निर्वाचन क्षेत्र समेटिएको अधिवेशनमा ३ हजार १६२ क्षेत्रीय प्रतिनिधिको सहभागिता रहेको छ।


