धनगढी: चार वर्षको अवधिमा पाँच वटा सरकार फेरबदल गरिसकेको सुदूरपश्चिममा फेरि मुख्यमन्त्री हटाउने कसरत सुरु भएको छ । वर्तमान सरकारका मुख्यमन्त्री खगराज भट्टलाई हटाउन उनकै दल नेकपाका सांसदहरू हस्ताक्षर संकलनमा जुटेका छन् । सुदूरपश्चिममा बजेट निर्माणको खटपटबाट सत्ता सञ्चालनमा समेत खटपट भएको हो । बजेटकै कारण यसअघि कांग्रेसको नेतृत्वमा एमालेसहितको संयुक्त सरकारले १ असारमा ल्याएको बजेट पारित हुन सकेको थिएन भने सरकार पनि ढलेको थियो । कांग्रेस–एमालेको गठबन्धन टुटेपछि नेकपा–एमालेको वर्तमान सरकार गठन भएको हो । तर वर्तमान सरकार पनि बजेटकै कारण सुरुदेखि नै विवादमा छ ।
तीन महिनाको बजेट शून्यतापछि २५ असोजमा सरकारले बजेट ल्याएको थियो । आफ्नै सांसदहरूको असन्तुष्टिका कारण बजेटसमेत पारित नहुने अवस्था आएपछि मुख्यमन्त्री भट्टले संसदीय अध्ययन समिति गठन गर्ने र १ मंसिरभित्र पूरक बजेट ल्याउने लिखित निर्णय गरेपछि सांसदहरू बजेट पारित गर्न सहमत भएका थिए । तर एमालेका दुई सांसद धर्मराज पाठक र वीरबहादुर थापा भने पार्टीको ह्वीप उल्लंघन गर्दै बजेट पारित गर्ने दिनको बैठकमा अनुपस्थित भएका थिए ।
आर्थिक मामिलामन्त्री चक्रबहादुर मल्लले प्रदेशसभाको रोस्ट्रमबाट त्रुटि भएको स्वीकार गर्दै बजेटमा सही ‘इन्जिनियरिङ’ जरुरी रहेको बताएका थिए । प्रदेश सभामुख भीमबहादुर भण्डारीले समेत बजेटमाथि छानबिन गर्न संसदीय अध्ययन समिति गठन गरिने भन्दै २० कात्तिकभित्र समितिलाई प्रतिवेदन पेस गर्न र सरकारलाई पूरक ल्याउन आदेश दिएका थिए । तर सरकारको निर्णय र सभामुखको निर्देशन अलपत्र छ । संसदीय समितिसमेत गठन हुन सकेको छैन ।
प्रमुख प्रतिपक्षी दल कांग्रेसले संसदीय समितिका लागि सदस्य पठाउन अस्वीकार गरेपछि समिति गठन हुन नसकेको सभामुख भण्डारी बताउँछन् । कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाह भने सरकारका बेथितिलाई चोख्याउने उद्देश्यले गठन हुने समितिमा बस्न उपयुक्त नठानेको बताउँछन् ।
बजेट विवादकै कारण सरकारको नेतृत्वकर्ता दल नेकपाभित्र पनि किचलो छ । नेकपाले १० मंसिरदेखि राष्ट्रिय जागरण अभियान सञ्चालन गर्न सर्कुलर गरेको थियो । उक्त अभियान प्रदेश, जिल्ला, पालिका र वडा तहसम्म सञ्चालन गर्न भनिएको थियो । तर बजेट विवादकै कारण सुदूरपश्चिममा उक्त अभियानसमेत सञ्चालन गर्न सक्ने अवस्था नभएकाले तत्कालका लागि स्थगित गरिएको नेकपा सुदूरपश्चिमका इन्चार्ज भानुभक्त जोशीले बताए ।
नेकपाका असन्तुष्ट सांसदहरू मुख्यमन्त्रीले राजीनामा दिनुपर्ने बताइरहेका छन् । ‘सरकारको औचित्य समाप्त भइसक्यो । बजेट सदनमा पेस गर्नुभन्दा अगाडि नै क्याबिनेटबाट निर्णय गरेर बजेटमा बेथिति भएको स्वीकार गर्ने अनि त्यही क्याबिनेटबाट बजेट पारित गरेर प्रदेशसभामा पेस गर्ने, संसदीय दलबाट निर्णय गरेर संसदीय समिति गठन गर्ने र पूरक बजेट ल्याउने निर्णय सरकार आफैं गर्ने, अनि अहिले ती निर्णय कार्यान्वयनमा बेवास्ता गर्ने कुरा त जायज भएन नि,’ नेकपाका सांसद मानबहादुर धामी भन्छन्, ‘मुख्यमन्त्रीले नैतिकताका आधारमा राजीनामा दिनुपर्छ । हामी त संख्या जुटाएर भए पनि हटाउने कसरतमा छौं । त्योभन्दा अगाडि राजीनामा दिनुस् भन्ने हाम्रो भनाइ हो ।कान्तिपुरबाट


