धनगढी: कैलालीको गेटामा स्थापना भएको शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालन प्रक्रियामा अनावश्यक विवाद र अन्योल सिर्जना नगर्न स्थापनार्थ संघर्ष समितिले सरकारलाई चेतावनी दिएको छ । विश्वविद्यालय सञ्चालनको प्रक्रिया अघि बढिरहेका बेला विभिन्न बहानामा विवाद सिर्जना गर्ने, अनावश्यक अन्योल फैलाउने तथा शैक्षिक कार्यक्रमलाई प्रभावित पार्ने गतिविधि भइरहेको भन्दै समितिले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
समितिले बिहीबार जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय तथा मुख्यमन्त्री खगराज भट्टलाई ज्ञापनपत्र बुझाउँदै विश्वविद्यालयको शैक्षिक भविष्य र सञ्चालन प्रक्रियालाई अनिश्चित बनाउने गतिविधि तत्काल रोक्न माग गरेको हो । समितिका संयोजक लोकराज पाण्डेले विश्वविद्यालयको ऐन संशोधन, सिट निर्धारणको प्रक्रिया, पदाधिकारीको नियुक्ति तथा बर्खास्तीलगायत विषयमा विवाद सिर्जना गरी विश्वविद्यालयलाई अन्योल र द्वन्द्वमा धकेल्ने काम भइरहेको बताए ।

चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रको सुधार, सुशासन तथा गुणस्तरीय स्वास्थ्य सेवा र शिक्षाको पक्षमा उठाइने जायज आवाजप्रति आफ्नो समर्थन रहेको बताउँदै उनले सुधारका नाममा सुदूरपश्चिमवासीको ऐतिहासिक आवश्यकता, जनताको भावना र लामो संघर्षबाट स्थापित विश्वविद्यालयको भविष्य अन्योलमा पार्ने गतिविधि स्वीकार्य नहुने बताए ।
समितिले डा. गोविन्द केसीसँग भएको सहमति कार्यान्वयन नभए पुनः सत्याग्रहसहित आन्दोलन गर्ने सार्वजनिक चेतावनीप्रति पनि आपत्ति जनाएको छ । सहमति कार्यान्वयन गर्नु सरकारको दायित्व भए पनि त्यसका नाममा गेटा विश्वविद्यालयको शैक्षिक भविष्य र सञ्चालन प्रक्रिया अनिश्चित बनाउने दबाब स्वीकार्य नहुने समितिको भनाइ छ ।
त्यस्तै, विश्वविद्यालय सञ्चालनका लागि आवश्यक पूर्वाधार, जनशक्ति र कानुनी मापदण्ड पूरा गर्नुपर्ने विषयमा कुनै सम्झौता हुन नसक्ने जनाउँदै मापदण्ड पूरा गर्ने नाममा विश्वविद्यालय सञ्चालन नै रोक्ने वा विद्यार्थीको भविष्य अन्योलमा पार्ने अवस्था आए सडक संघर्षमा उत्रिने चेतावनी दिइएको छ । समितिले सरकारसमक्ष दुई बुँदे मागसमेत अघि सारेको छ । पहिलो मागमा विश्वविद्यालय ऐन संशोधन, सिट निर्धारण, पदाधिकारी नियुक्ति तथा बर्खास्तीलगायत विषयमा विवाद सिर्जना गर्ने र विश्वविद्यालयलाई अन्योलमा धकेल्ने गतिविधि बन्द गर्न भनिएको छ ।
दोस्रो मागमा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा सुदूरपश्चिम प्रदेश तथा स्थानीय पालिकाका नागरिकलाई उपचारमा ५० प्रतिशत छुट, शैक्षिक कार्यक्रममा ५० प्रतिशत छात्रवृत्ति र रोजगारीमा प्राथमिकता दिनुपर्ने उल्लेख छ । विश्वविद्यालय सुदूरपश्चिमका जनताको दशकौँदेखिको संघर्ष, त्याग र अधिकारको परिणाम भएको उल्लेख गर्दै समितिले यसलाई कसैको दया वा कृपाबाट प्राप्त उपलब्धिका रूपमा नलिन सरकार र सम्बन्धित पक्षलाई आग्रह गरेको छ ।


