कैलाली । सन्तानको हेरचाहको लागि समय दिन नसक्ने कारण देखाउँदै अधिकांश उद्योग–कलकारखानामा काम गर्ने महिला कर्मचारीहरूले काम छोडिरहेका छन् । उद्योग तथा कलकारखानाले पनि बालबच्चा भएका महिलाहरूलाई काममा राख्न नमान्ने गरेको अवस्था पनि छ । कैलालीको एक उद्योगले यी दुवै समस्याको समाधानको वैकल्पिक उपाय निकालेको छ ।
कैलाली उद्योग वाणिज्य सङ्घका महासचिव दिनेश लम्सालले कैलाली गोदावरी ६ लालपुरमा स्थापना गरेको ग्रिन होम प्रालीको परिसरमा शिशु स्याहार, प्राथमिक उपचार केन्द्र तथा स्तनपान कक्ष स्थापना गरेका छन् । आज नेपाल उद्योग वाणिज्य महासङ्घका कोषाध्यक्ष भरतराज आचार्यले एक कार्यक्रमकाबीच उद्घाटन गरेका हुन् । उनले सुदूरपश्चिम प्रदेशमै पहिलो पटक उद्योग संरचना भित्रै शिशु स्याहार, प्राथमिक उपचार केन्द्र तथा स्तनपान कक्ष स्थापना गरिएको बताएका थिए ।
‘महिला कर्मचारीहरूलाई सबैभन्दा ठुलो समस्या काम गर्दै बच्चा हेर्नुपर्ने बाध्यता रहेको थियो । उद्योगले त्यसको पनि समाधान निकालेको छ,’ उनले भने, ‘सुदूरपश्चिम प्रदेशमा पहिलो पटक यो उद्योगबाट सुरु गरिएको यो अभ्यास सबै उद्योगहरूले अपनाउनु पर्छ ।’
करिब १० लाखको लगानीमा तयारी गरिएको उक्त संरचनामा बालबच्चा भएका महिला कर्मचारीहरू आफ्नो बच्चाको समय–समयमा हेरचाह गर्न पाउने छन् । संरचना भित्र बालबच्चाका लागि पोषणयुक्त खानेकुराको लागि आवश्यक साधन, खेलकुद सामग्रीसहितको व्यवस्था गरिएको छ ।
आफ्नो कम्पनीमा बालबच्चाको समस्याको कारण देखाउँदै अनुभवी महिला कर्मचारीहरूले काम छोड्ने समस्या बढ्न थालेपछि उनीहरूको सन्तानलाई पनि राम्रो वातावरण दिने गरी उद्योग परिसरमा शिशु स्याहार केन्द्र स्थापना गरिएको सञ्चालक लम्सालले बताए । उनका अनुसार उनको उद्योगमा अहिले ९२ महिला कर्मचारी छन् । ३२ पुरुष छन् । सामान्यतया २० हजारसम्म मासिक आम्दानी गरिरहेका उनीहरू पनि उद्योगमै आफ्ना बालबच्चाहरूको हेरचाह गर्न पाउने भएपछि उत्साहित भएका छन् । आजदेखि सुरु भएको शिशु स्याहार केन्द्रमा बालबालिकाहरूको खेल्दै सिक्ने प्रक्रिया अघि बढ्ने उद्योग वाणिज्य महासङ्घका सहायक निर्देशक हरि पौडेलले जानकारी दिए । शिशु स्याहार केन्द्र तथा स्तनपान र ड्रेसिङ रुम स्थापनाको लागि उद्योगले भौतिक संरचना निर्माण गरेको हो । अन्तर्राष्ट्रिय श्रम सङ्गठन नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा नेपाल उद्योग वाणिज्य महासङ्घले आन्तरिक आवश्यक सामाग्री उपलब्ध गराइएको सहायक निर्देशक पौडेलले जानकारी दिए ।
कर्मचारीका चार वर्षभन्दा कम उमेरका बालबालिकाहरूलाई यहाँ खेल्ने, सिक्ने र खाने व्यवस्था गरिएको छ । उनीहरुको लागि उद्योगले सहजकर्ता समेत राख्ने जनाएको छ ।
उद्योग वाणिज्य महासङ्घ सुदूरपश्चिम उपाध्यक्ष अनिल कुमार भोजनीया र अन्तर्राष्ट्रिय श्रम सङ्गठन राष्ट्रिय कार्यक्रम संयोजक तारा कडेंलले कैलालीमा सुरु गरिएको यो प्रयास सबै उद्योगमा आवश्यक रहेको बताएका थिए ।
उद्योग सञ्चालक लम्सालको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासङ्घका कोषाध्यक्ष भरतराज आचार्य, केन्द्रीय सदस्य पुष्पराज कुवर, प्रदेश उपाध्यक्ष अनिल भोजनीया, कैलाली उद्योग वाणिज्य सङ्घ अध्यक्ष पुष्करराज ओझा, अत्तरिया उद्योग वाणिज्य सङ्घ अध्यक्ष कल्याणसिंह बोहरा, गोदावरी ६ का वडाध्यक्ष जग्गुराम चौधरी, अन्तर्राष्ट्रिय श्रम सङ्गठनकी तारा कडेंल लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रम सहजीकरण प्रदेश महासङ्घका कार्यकारी निर्देशक ज्योति भट्टले गरेका थिए ।


