धनगढी : नेपाल कम्युनिष्ट पार्टी (एमाले) का तर्फबाट कैलाली क्षेत्र नम्बर ५ का प्रतिनिधिसभा उम्मेदवार यज्ञराज ढुंगाना ले चुनाव सम्पन्न भएलगत्तै भूमिहीन, सुकुम्बासी तथा अव्यवस्थित बसोबासमा रहेका नागरिकलाई जग्गाधनी पुर्जा वितरण गर्ने प्रतिबद्धता जनाएका छन्।
कैलाली क्षेत्र नम्बर ५ का विभिन्न स्थानमा आयोजित मतदाता भेटघाट कार्यक्रममा बोल्दै उनले वर्षौँदेखि समाधान हुन नसकेको भूमिसम्बन्धी समस्या अब प्राथमिकताका साथ समाधान गरिने बताए। “अहिलेसम्म धेरै भूमिहीन, सुकुम्बासी तथा अव्यवस्थित बसोबासको समस्या समाधान हुन सकेको छैन,” उनले भने, “एमाले नेतृत्वमा बन्ने नयाँ सरकारले यो विषयलाई पहिलो प्राथमिकतामा राखेर जग्गाधनी पुर्जा वितरणको काम अघि बढाउँछ।”
ढुंगानाले सुकुम्बासी तथा भूमिहीनलाई जग्गाको मालिक बनाउने उद्देश्यले केपी शर्मा ओली नेतृत्वको सरकारले भूमि आयोग गठन गरेको स्मरण गरे। उनका अनुसार आयोगमार्फत तथ्यांक संकलन, लगत तयारी तथा प्रक्रिया अघि बढाइएको थियो।
“तर विभिन्न राजनीतिक सड्यन्त्रका कारण ओली नेतृत्वको सरकार ढालियो र आयोग समेत खारेज गरियो,” उनले आरोप लगाए। उनले २०७९ को निर्वाचनपछि पुनः एमाले नेतृत्वको सरकार गठन हुँदा आयोगलाई निरन्तरता दिइएको दाबी गर्दै भने, “यदि सरकार निरन्तर रहन पाएको भए धेरै सुकुम्बासीले अहिले नै जग्गाधनी पुर्जा पाइसक्नुहुन्थ्यो।”
ढुंगानाले भूमिहीन तथा सुकुम्बासीलाई जग्गाको मालिक बनाउने स्पष्ट योजना एमालेसँग मात्रै रहेको दाबी गर्दै आगामी निर्वाचनमा एमालेको जित आवश्यक रहेको बताए। “अब बन्ने एमाले सरकारले अधुरो कामलाई पूर्णता दिन्छ,” उनले भने, “भूमिहीन, सुकुम्बासी र अव्यवस्थित बसोबासीको दीर्घकालीन समस्या समाधान गरी सम्मानजनक जीवनयापनको आधार तयार पारिन्छ।”
उनले स्थानीय तह, सम्बन्धित निकाय र सरोकारवालासँग समन्वय गर्दै प्रक्रिया सरल र पारदर्शी बनाइने प्रतिबद्धता पनि व्यक्त गरे। साथै, वास्तविक लाभग्राहीलाई पहिचान गरी व्यवस्थित रूपमा पुर्जा वितरण गरिने उनको भनाइ थियो।
ढुंगानाले मतदातासँग आगामी निर्वाचनमा आफूलाई विजयी गराएर भूमिसम्बन्धी ऐतिहासिक कार्य सम्पन्न गर्न अवसर दिन आग्रह गरेका छन्।


