बैतडी — राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको स्थानीय तहको कार्यसम्पादन मूल्याकंनमा बैतडीका १० पालिकामध्ये दोगडाकेदार गाउँपालिका ६० दशमलव ५२ अंकसहित जिल्लामा पहिलो र ४० दशमलव ३८ अंकसहित डिलाशैनी गाउँपालिका अन्तिम स्थानमा रहेको छ । आयोगले प्रकाशन गरेको कार्यसम्पादन मूल्यांकन नतिजा अनुसार पाटन नगरपालिकाले ५९ दशमलव ७० अंक ल्याएको छ भने शिवनाथ गाउँपालिकाले ५९ दशमलव ४४ अंक प्राप्त गरेको छ । यस्तै मेलौली नगरपालिकाले ५७ दशमलव १६ अंक ल्याउँदा सुर्नया गाउँपालिकाले ५२ दशमलव ४६ अंक ल्याएको छ ।
कार्यसम्पादन मूल्यांकनमा पुर्चौंडी नगरपालिकाले ४८ दशमलव ६९, दशरथचन्द नगरपालिकाले ४८ दशमलव ५८, पञ्चेश्वर गाउँपालिकाले ४८ दशमलव ५१ र सिगास गाउँपालिकाले ४६ दशमलव ७१ अंक ल्याएको छ । आयोगले विभिन्न १७ सूचकहरु तय गरेर मूल्यांकन गरेको प्रतिवेदनमा उल्लेख गरेको छ । जसमा पालिकाहरूले २०८२ असार १० गतेभित्र आर्थिक वर्ष २०८२र०८३ को राजस्व र व्ययको अनुमान सम्बन्धित गाउँसभा तथा नगरसभामा पेस गरे–नगरेको, गाउँ कार्यपालिका र नगर कार्यपालिकाले आर्थिक वर्ष २०८२/०८३ को राजस्व र व्ययको अनुमान सम्बन्धित सभाबाट २०८२ असार मसान्तभित्र पारित गरे–नगरेको सूचक राखिएका हुन्छ ।
यस्तै स्थानीय तहहरुले प्रदेश सरकारलाई दिनुपर्ने विभिन्न करबापतको रकम मासिक रुपमा प्रदेश सञ्चित कोषमा जमा गरेरनगरेको, यस्तै चालु शैक्षिक सत्रमा कक्षा १ देखि ८ सम्मका विद्यार्थी भर्नादर, चार पटक गर्भजाँच गराउने आमाको संख्या, कुल गर्भवतीमध्ये स्वास्थ्य संस्थामा सुत्केरी भएका आमाको संख्या, पूर्ण खोप पाएका बालबालिकाहरुको अनुपातलाई समेत आयोगले १७ सूचक तयार पारेको प्रतिवेदनमा उल्लेख गरेको छ ।


