धनगढी: धनगढीमा रहेको डिस्कभरी माध्यमिक विद्यालयको १७ औँ वार्षिक उत्सव तथा अभिभावक दिवस–२०८२ भव्य रूपमा सम्पन्न भएको छ। बिहीबारदेखि सुरु भएको उत्सव शुक्रबार विभिन्न कार्यक्रमका साथ समापन गरिएको हो।
उत्सव धनगढी उपमहानगरपालिकाकी उप–प्रमुख कन्दकला कुमारी रानाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। कार्यक्रममा विद्यालय व्यवस्थापन समिति, अभिभावक, शिक्षक–शिक्षिका, विद्यार्थी तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उल्लेख्य सहभागिता रहेको थियो। समारोहको विशेष आकर्षणका रूपमा विद्यार्थीहरूले सांस्कृतिक नृत्य, नाटक, गायन, वक्तृत्वकला, विज्ञान प्रदर्शनी तथा विविध सिर्जनात्मक प्रस्तुतिहरू मार्फत आफ्नो प्रतिभा प्रदर्शन गरेका थिए। उनीहरूले कला, आत्मविश्वास, अनुशासन र सिर्जनशीलताको उत्कृष्ट उदाहरण प्रस्तुत गर्दै उपस्थित दर्शकहरूको मन जितेका थिए।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि रानाले सामुदायिक तथा संस्थागत विद्यालयहरूले गुणस्तरीय शिक्षा प्रदान गर्न निरन्तर सुधार र नवप्रवर्तन आवश्यक रहेको बताइन्। उनले विद्यार्थीहरूको प्रतिभा प्रस्फुटनका लागि विद्यालयले खेलेको भूमिकाको प्रशंसा गर्दै आगामी दिनमा पनि शैक्षिक उत्कृष्टता कायम राख्न आग्रह गरिन्।
विद्यालयका प्रिन्सिपल योगेन्द्र शिहँले अभिभावक र समुदायको विश्वास, माया र सहयोगले विद्यालयलाई अझ सशक्त बनाएको उल्लेख गरे। उनले आगामी दिनहरूमा अझ उत्कृष्ट शैक्षिक कार्यक्रम तथा अतिरिक्त क्रियाकलाप सञ्चालन गर्दै विद्यार्थीहरूको समग्र विकासमा जोड दिने प्रतिबद्धता व्यक्त गरे।
कार्यक्रमका अवसरमा शैक्षिक, खेलकुद तथा अन्य विभिन्न प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गरिएको थियो। वार्षिकोत्सव तथा अभिभावक दिवसले विद्यालय, अभिभावक र विद्यार्थीबीचको सम्बन्धलाई अझ सुदृढ बनाउँदै उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको विद्यालय प्रशासनले जनाएको छ।


