धनगढी: दार्चुलामा गहना लुट्न ७१ वर्षीया वृद्धा महिलाको हत्या भएको छ । शैल्यशिखर नगरपालिका–८ तल्चौरकी ७१ वर्षीया लक्ष्मी जोशीको हत्या भएको हो । गत सोमबार राति घरमै मृत फेला परेकी जोशीको हत्या गरेर गरगहना लुटपाट गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको हो । हत्या आरोपमा शैल्यशिखर नगरपालिका–८ कै २३ वर्षीय उमेश साउद र बैतडी घर भएका २३ वर्षकै गोपाल नाथलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक हेमराज भट्टले जानकारी दिए ।
पक्राउ परेका साउद ट्याक्टर चालक र नाथ निजका सहयोगी रहेको खुलेको छ । भट्टका अनुसार उनीहरुको साथबाट कानमा लगाउने सुनको दुई थान मुन्द्री, एक थान नाकको मुन्द्री र एक थान नाकको फुली पनि बरामद गरिएको प्रहरी निरीक्षक जोशीले बताए । जोशीको हत्यापछि बरामद भएका गहना लुटपाट गरिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । २७ गते तल्चौर घर भई देवल खर्कमा बस्दै गरेकी जोशी आफ्नै खर्कको पछाडि मृत अवस्थामा फेला परेकी थिइन् ।
अभियुक्तमध्ये साउद चोरी मुद्दामा ११ महिना जेल सजाय भुक्तान गरेर छुटेका व्यक्ति हुन् भने नाथले पनि चार महिना कैद सजाय भोगेका थिए । उनीहरू लागुऔषध दुर्व्यसनीमा संलग्न रहेको खुलेको प्रहरीले जनाएको छ । घटना अनुसन्धानको लागि नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगरबाट सई पदम थापाको नेतृत्वमा पनि अनुसन्धान टोली पठाइएको थियो ।


