धनगढी: २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा नेपाली कांग्रेसले सुदूरपश्चिममा अविश्वसनीयजस्तै लाग्ने सफलता पायो । लडेका नौमध्ये आठ सिटमा जित निकाल्न सफल भएको थियो, कांग्रेस । माओवादी र एकीकृत समाजवादीसँग गठबन्धन गरेर चुनाव लडेको कांग्रेसले कैलाली– ४ र ५, कञ्चनपुर– २ र ३, अछाम– २, डडेल्धुरा, दार्चुला र बाजुरामा जित निकालेको थियो ।
सुदूरपश्चिममा कांग्रेसबाट उम्मेदवार बनेर पराजित भएका एक मात्र उम्मेदवार थिए, रामजनम चौधरी । उनी कैलाली– १ मा नागरिक उन्मुक्तिका रञ्जिता श्रेष्ठ चौधरीसँग पराजित भएका थिए । तीन वर्षअघिको निर्वाचनमा नौ क्षेत्रमा चुनाव लडेर आठ सिट जित्दै प्रदेशमा पहिलो दल बनेको कांग्रेसले २१ फागुनको निर्वाचनका लागि १६ वटै क्षेत्रमा उम्मेदवार उतारेको छ । तर, २०७९ सालको निर्वाचन जित्ने आठमध्ये एनपी साउँद र पुष्पबहादुर शाहले मात्रै कांग्रेसबाट टिकट पाएका छन् । अन्य १४ उम्मेदवार नयाँ अनुहार छन् । नयाँ अनुहारबाट कांग्रेसको पोजिसन सुधार होला वा बिग्रेला भन्ने चासो अहिले प्रदेशभर छ ।
२०४८ सालपछिका हरेक निर्वाचनमा सुदूरपश्चिमका कांग्रेस उम्मेदवारलाई जिताउन सक्रिय भूमिका खेल्थे, शेरबहादुर देउवा । तर, यसपटक देउवा न आफू चुनावी मैदानमा छन्, न त चुनावी अभियानमै सक्रिय भएका छन् । विशेष महाधिवेशनमार्फत सभापति पद खोसिएपछि उनी कतै देखिएका छैनन् । उनले चुनावी कार्यक्रममा सहभागी हुने संकेत पनि देखाएका छैनन् ।
‘विशेष महाधिवेशनविरुद्व म अदालत गएको छु,’ आइतबार देउवालाई भेटेका कांग्रेस सुदूरपश्चिमका एक नेताका अनुसार देउवा भन्छन्, ‘त्यही विशेष महाधिवेशनमार्फत आएको नेतृत्वले टिकट दिएका उम्मेदवारको प्रचारमा म कसरी जान सक्छु ?’ यद्यपि, देउवालाई चुनावी कार्यक्रममा सहभागी भइदिन सबैभन्दा बढी सुदूरपश्चिम प्रदेशबाट अनुरोध भइरहेको ती नेताले बताए । ‘देउवाको अनुपस्थितिमा सुदूरपश्चिममा कांग्रेसलाई पोजिसन सुधार गर्न सक्ने अवस्था नै छैन,’ ती नेताले भने, ‘पहिले जितेका थुप्रै सिट पनि गुम्ने खतरा छ । त्यसैले चुनावी कार्यक्रममा सहभागी नभए पनि निर्वाचन क्षेत्रमै देउवाले उपस्थित भइदिए पनि हुन्थ्यो भन्ने माग थुप्रै उम्मेदवारहरूको पनि छ ।’
देउवा बेगर कांग्रेसलाई साविकको सिट जोगाउन सबैभन्दा बढी चुनौती देखिएको छ, देउवाकै गृहजिल्ला डडेल्धुरामा । डडेल्धुरामा सातपटक निर्वाचन जितेका देउवाको अनुपस्थितिमा कांग्रेसले यसपटक नेविसंघका पूर्वकेन्द्रीय अध्यक्ष नैनसिंह महरलाई मैदानमा उतारेको छ । तर, इच्छा हुँदाहुँदै पनि देउवालाई चुनाव लड्न नदिइएको र महरले टिकट पाउँदा देउवासंग सल्लाह नगरेको भन्दै उनका परम्परागत मतदाता कांग्रेससंग रुष्ट छन् ।
‘गाउँमा चुनावी अभियानसहित जाँदा देउवा चुनाव लड्न नआएको भन्दै कतिपय मतदाताले त भोट नै हाल्न नजाने बताइरहनुभएको छ,’ कांग्रेस डडेल्धुराका एक नेताले भने, ‘यस्तो अवस्थामा उहाँ ९देउवा० जिल्लामा एकपटक उपस्थित भइदिनुभयो भने हामीलाई चुनाव जित्न सहज हुन्छ ।’ देउवा चुनावी अभियानमा उपस्थित नभए प्रदेशका अन्य निर्वाचन क्षेत्रमा पनि कांग्रेसलाई क्षति पुग्ने नेताहरूको अनुमान छ । कैलाली– ४ र ५, कञ्चनपुरका तीन वटै क्षेत्र, बैतडी र डोटीमा पनि देउवाको उपस्थितिले नतिजा आफ्नो पक्षमा पार्न सहज हुने कांग्रेस नेताहरू बताउँछन् ।
कांग्रेसको नेतृत्वमा देउवा हुँदा सुदूरपश्चिम प्रदेशमा उनकै पक्षका नेताहरूको दबदबा थियो । तर, यसपटक प्रदेशका १६ क्षेत्रमा देउवानिकट पाँच जना नेताले मात्रै टिकट पाएका छन् । यद्यपि, टिकटबाट वञ्चित भएका नेताहरू पनि पार्टीले उठाएका उम्मेदवारको प्रचारमा देखिएका छन् । नेताहरू रमेश लेखक, दिलेन्द्र बडू, वीरबहादुर बलायर, डिल्लीराज पन्त र बद्री पाण्डे अघिल्लो निर्वाचन जितेर पनि अहिले प्रतिस्पर्धामा छैनन् । बडू, बलायर र पाण्डेले आफैँ निर्वाचन नलड्ने घोषणा गरेका हुन् भने लेखक र पन्तले इच्छा भएर पनि टिकट पाएनन् । तर, ती सबै नेता पनि कांग्रेसको चुनावी अभियानमा देखिएका छन् ।
नेता–कार्यकर्ताको सक्रियताले सुदूरपश्चिममा कांग्रेसको पोजिसन राम्रै हुने दाबी प्रदेश सभापति वीरबहादुर बलायरको छ । यद्यपि, उनी भने उपचारमा रहेको भन्दै सुदूरपश्चिमको चुनावी अभियानमा सहभागी हुन नपाएको बताउँछन् । ‘सबै साथीहरू लाग्नुभएको छ, नतिजा पनि राम्रै आउँछ होला,’ बलायरले भने । अघिल्लो निर्वाचनमा एमालेका लेखराज भट्टलाई कैलाली– ४ मा पराजित गरेका बलायर अहिले चुनावी प्रतिस्पर्धामा छैनन् । उनले कैलाली– ४ बाटै टिकट पाएका थिए । तर, उनले चुनाव नलड्ने घोषणा गरेपछि कांग्रेसले गोरख विष्टलाई उम्मेवार बनाएको छ ।


