बझाङ । जनमुक्ति सेनाबाट अनिवार्य अवकास लिएपछि गाउँमा जीवनयापन गर्न सकस हुँदै थियो । राज्यले दिएको किस्ताबन्दी रकम पनि सकिनै लागेको थियो । बृहत् शान्ति सम्झौतापछि सहजपुर कैलालीमा बहुबिर योद्धा स्मृति बिग्रेड सातौँ डिभिजनमा पाँच वर्ष बस्दा जीवनबारे धेरै सिकेका र बुझेका रविनजंग बीसी “प्रतिबिम्ब” गाउँमा अन्तर्जातीय गर्ने पहिलो दलित समुदायका अगुवा युवा हुन् । द्वन्द्वकालमा माओवादीमय भएको छविसपाथिभेरा गाउँपालिका ६ मा अति विपन्न परिवारमा जन्मेका जीसीलाई पछिल्लो एक दशकको मेहेनतले भने पुरै जायजेथाको अनुहार फेरिदियो ।
०६८ सालमा सेना समायोजनको बेलामा स्वैच्छिक अवकाश रोजेका बीसी एक महिनामै गाउँबाट सदरमुकाम आए । श्रीमती सीताकुमारी रोकाया पनि जनमुक्ति सेनाबाट आएकी हुँदा दुबै जना उद्यमी बन्न चाहान्थे । तर, लगानीको वातावरण थिएन । स्वेच्छिक अवकासमा एक जनाले पाउने दुई लाख ५० हजार रुपैयाँले लगानी नै नपुग्ने अवस्था थियो । त्यसैमा ०६७ सालमै स्वैच्छिक अवकाश लिएकी रोकायाले गाउँमा जमिन किनेकी थिइन् । पछि बीसी आउँदा उनले ल्याएको दुई लाख ५० हजारमध्ये एक लाख रुपैयाँ गाउँमा रमझममै सकिएको थियो । जीसी गाउँमा आउँदा सुरुवातमा त गाउँमा सबैले सम्मानको दृष्टिले हेर्दथे । विस्तारै भारतीय लाहुरेको जस्तै हुन थाल्यो । भएको पैसा सबै सकिने भएपछि बाँकी डेढ लाख रुपैयाँ बोकेर बीसी दम्पती सदरमुकाम चैनपुर आए । २०६८ सालको माघ महिना । जाडो असाध्यै थियो । गाउँबाट आउँदा के काम गर्ने भन्ने केही थिएन । व्यापार गर्नुपर्छ भन्ने सोच मात्रै थियो । व्यापारका लागि बीसी दम्पती बजारभर घुमे । जुन व्यवसाय गर्दा पनि खासै फाइदा नहुने देख्न थाले ।
उनीहरुको सोच व्यवसायको पहिलो खुट्किलोमै फाइदा होस् भन्ने थियो । तर, त्यो सोच मात्रै थियो । अन्य व्यवसायभन्दा पनि फाइदा होटलबाट हुने भन्ने आफन्तको सल्लाहअनुसार होटलकै खोजी गरे । खोजेजस्तै बजारमा एउटा होटल भेटियो । पुरानो भइनसकेको, सन्तोषजनक फाइदा हुने । होटल मालिकसँग कुरा गर्दा बीसी दम्पतीको हातमा बचेको डेढ लाख रुपैयाँमै होटलको डिल भयो । सुरुवातमा होटलमा निकै मेहेनत गरियो । आम्दानी पनि ठीकै भयो । श्रीमान श्रीमतीको लगनशीलता परिणाममा देखिन थाल्यो । ‘होटलको ज्ञान शून्य थियो,’ रबिन भन्छन्, ‘चिया पकाउने ढंग पनि थिएन । पछि यता उताका पसलमा जाँदा केही आइडिया आयो । चिया मात्रै होइन । सामान्य ज्ञान बटुल्दै गएपछि होटल लयमा फर्कियो । होटलका सबै परिकार आफ्नै हातबाट बन्न थाले ।’ सुरुमा नास्ता पसलको रुपमा सुरुवात गरेको होटल पछि खाने बस्ने व्यवस्थासमेत गरेर कामकाज गरेको उनी सम्झिन्छन् । दोस्रो वर्षमा पुग्दा होटलमा काम गर्दा सोचेअनुरुप उपलब्धि भने भएन । ‘बझाङमा मानिसको चेतनाको स्तर माथि नउठेको हुँदा होटलमा काम गर्ने मन हराउन थाल्यो,’ बीसी भन्छन्, ‘होटलमा जथाभावी बोल्ने, मदिरा खाएर होहल्ला गर्ने, महिला बालबालिकाको कुनै प्रवाह नगर्ने ग्राहक भएपछि होटलमा अशान्त वातावरण हुन थाल्यो । त्यसपछि होटल फेरि किनेकै रकममा बेच्यौँ ।’
होटल बेचेलगत्तै किनारा पसल सुरु गरेको उनले बताए । ‘होटल आफ्नै साथी भएको हुँदा उदारो दिएँ,’ बीसी भन्छन्, ‘बचेको पैसाले किराना पसल बनायौँ । त्यो पसलले घाटा नहुने, फाइदा पनि नहुने । परिवार पाल्नै नसकिने अवस्था भयो ।’ होटल सुरु गरेकै बेलामा मदिराको लाइसेन्स लिइसकेको उनी सम्झन्छन् । सरकारले जनमुक्ति सेनामा कार्यरत लडाकुलाई प्रति व्यक्ति पाँच लाख रुपैयाँ रकम दिने भनेको थियो । त्यसैअनुसार दोस्रो किस्ता ०७० सालतिर आयो । दुबै जना जनमुक्ति सेना भएकै कारण बीसी दम्पतिले पाँच लाख रुपैयाँ सुरुमा मदिरा पसलमा लगानी गरे । त्योबाहेक उनीहरुसँग पैसा नै थिएन । ०७० सालतिर मदिराले निकै आक्रान्त भएको माहोल थियो । त्यो बेलामा उदारोले उनलाई निकै डुबायो । पछि उदारो बन्द गरेपछि पसल बिस्तारै लयमा फर्कन थाल्यो । पसलबाट बीसी परिवारलाई पछिल्लो दशक निकै लाभमय भयो ।
सदरमुकाम चैनपुरमा घर, जमिन, तराईमा पनि जमिन र बाँकी पसल गरेर एक दशककै बीचमा बीसी दम्पती करिब ६ करोडको मालिक बनेका छन् । ‘यो संसार सम्पतिकै भरमा रहेछ । सम्पति छैन भने कसैले वास्ता गर्दैन । सम्पति जुटाएपछि सबैको प्यारो बन्ने रहेछ भन्ने उदाहरण आफैँ भएको छु ।’ बीसी भन्छन् । सुरुमा हजारै रुपैयाँ पनि कसैले नपत्याउने अवस्था भएको र विस्तारै सबैले ऋणका लागि जति पनि दिन तयार हुने वित्तीय संस्थाहरु आएको उनी बताउँछन् । ‘हरेक काम गर्दा मेहनतका साथ गरेमा सफल भइन्छ । हेलचक्र्याँई गरेमा केही गर्न सकिँदैन । कुनै काममा पनि हरेस पनि खानु हुँदैन रहेछ भन्ने मलाई लाग्छ ।’ उनी भन्छन् । समाजले सधैँ सफलतापछि मात्रै ध्यान दिने गरेको उनी बताउँछन् । ‘मेरो सुरुवात कसैलाई थाहा थिएन । कसैले चाँसो दिदैनथे । कसैले सम्झन पनि चाँहदैनन् । जब विस्तारै मेरो पुँजी देखिन थाल्यो, त्यसपछि सबैको नजरमा म देखिन थाले । धेरैले उसको प्रगति भन्छन् । तर, कसैले पनि सम्झँदैनन्, मेरो संघर्षको कथा ।’ जीसी भन्छन् ।
साढे तीन दशकको उमेरमा जीसीले आफूलाई चाहिने जति आर्जन गरिसकेका छन् । सन्तानहरुलाई पनि गुणवान् शिक्षा दिइरहेका छन् । चार सन्तानका पिता रविनजंग जीसीको चैनपुरमै किराना पसल पनि चम्केको छ । आफ्ना सहकर्मी धेरै मुग्लान पसेर संघर्ष गरिरहँदा जीसीले भने ‘गरे हुन्छ भन्ने भाष्य’ नै स्थापित गरेका छन् । रविनजंग जीसी समुदायमा जातीय विभेद भोग्नु नपरेका व्यक्ति हुन् । गाउँमा सबैलाई तल्लो तहको गालीसँगै अति विभेदमा परिरहँदा पनि उनी विभेदबाट निकै टाढाँ भए । आफूलाई जानकारी हुँदा नै माओवादीमय भएको गाउँ हुनाले पनि उनलाई आफू कहिल्यै विभेदमा पर्नु नपरेको सम्झन्छन् । २०५८ सालमा नै माओवादी भूमिगत भएर जनमुक्ति सेना भएका जीसी लामो समयपछि मात्रै गाउँ फर्किएका थिए । त्यस बेलासम्म गाउँ नै धेरै परिवर्तन भइसकेको थियो । पछि विस्तारै सदरमुकाम आएर व्यापार सुरु गर्दा पनि जीसीलाई सबैले सम्मानको नजरले हेरे ।
अन्तर्जातीय बिहे
जनमुक्ति सेनामै भएको बेलामा शान्ति सम्झौतापछि क्यान्टिमेन्टमा रविन र सीताको भेट भएको थियो । १२ सय जनामा ५ सय जना जति महिला र ७ सय जना जति पुरुष सेना राखिएको क्यान्टिमेन्टमा कम्पनी, बटालियन पनि एउटै थियो । त्यो बेलामा सीताकुमारी रोकाया ‘शैलजा’ले कम्पनीको लेखाको काम गर्थिन् । स्थायी ठेगाना बाजुराको गौमुल गाउँपालिकाको दहकोट घर भएकी रोकायाको क्यान्टिमेन्टमै जीसीसँग भेट भएर प्रेम हुँदै २०६६ सालको बैशाख महिनामा जनवादी विहे गरेका थिए ।
बिहेपछि गाउँमा फर्कँदा अन्तर्जातीय विहे गरेका भनेर गाँइगुई सुनिए पनि जीसी दम्पतीको मुखमा भने कसैले कुरा काट्ने आँट गरेनन् । गाउँमा नै उनीहरुको अन्तर्जातीय विवाह नौलो र स्थापित नै भयो । द्वन्द्वकालमा परिवारका तीन सदस्य सदस्य गुमाएका थिए । रविनले द्वन्द्वकालमा आफ्ना सहोदर तीन जना दाइहरु गुमाएका थिए । उदय विक, धनबहादुर विक र गणेश विकको मारिएका थिए । दाइहरु मारिएको हुँदा पनि रबिनलाई काम गर्न परिवारबाट कुनै रोकावट हुँदैन थियो ।
गरेर खानुपर्छ भन्ने मान्येताका रविनलाई व्यवसायमा मात्रै जीवन छ भन्ने सोचले आफू यसै पेशामा हाम फालेको बताउँछन् ।