धनगढी। बैतडी समाज कैलालीले आगामी फागुन ९ गते (शनिबार) १७औँ संस्करणको रक्तदान महोत्सव आयोजना गर्ने भएको छ। धनगढी उपमहानगरपालिका–स्थित पद्मा हेल्थ कलेज, उत्तरबेहडी मा रहेको समाजको सचिवालय प्राङ्गणमा आयोजना हुने उक्त महोत्सव बिहान ८ बजेदेखि दिउँसो १ बजेसम्म सञ्चालन हुनेछ। बैतडी समाज कैलालीको आयोजनामा हुन लागेको रक्तदान कार्यक्रममा कैलाली उद्योग वाणिज्य संघको सहकार्य तथा नेपाल रेडक्रस सोसाइटी कैलाली शाखाको प्राविधिक सहयोग रहनेछ। समाजले महोत्सवका लागि हालैदेखि औपचारिक रूपमा निमन्त्रणाको प्रक्रिया सुरु गरिसकेको छ।
यस वर्षको १७औँ रक्तदान महोत्सवलाई विशेष बनाउँदै समाजले कार्यक्रमको निमन्त्रणाका लागि ‘भाप्पा’ शब्दलाई प्रमुख रूपमा प्रयोग गरेको छ। ‘भाप्पा’ शब्द प्रयोग गर्नुको कारणबारे जानकारी दिँदै बैतडी समाज कैलालीका सदस्य राज बहादुर चन्द ले बैतडी भाषिक तथा सांस्कृतिक पहिचानसँग यसको गहिरो सम्बन्ध रहेको बताए। उनका अनुसार बैतडी भाषामा ‘बुदि’, ‘भौव्वा’, ‘भौल्या’ र ‘भाप्पा’ जस्ता शब्दहरूले भाइ–बहिनी भन्ने साइनो जनाउँछन्। ती शब्दहरूमध्ये ‘भाप्पा’ मात्रै यस्तो शब्द हो, जसले पुलिङ्ग र स्त्रीलिङ्ग दुवैलाई एउटै शब्दमार्फत मायालु ढंगले सम्बोधन गर्न सक्ने विशेषता बोकेको छ।
“हामीले मायाले आफुभन्दा सानालाई ‘भाप्पा’ भनेर सम्बोधन गर्छौँ,” चन्दले भने, “त्यही आत्मीयता, अपनत्व र भाइचारा झल्काउने शब्दलाई नाराका रूपमा प्रयोग गरेर रक्तदान महोत्सवलाई अझ भव्य र भावनात्मक बनाउन खोजेका हौँ।” उनका अनुसार रक्तदान जस्तो जीवनदायी अभियानमा सबै उमेर समूह, महिला–पुरुष, युवा–वृद्ध सबैलाई एउटै भावनात्मक सूत्रमा बाँध्न ‘भाप्पा’ शब्द अत्यन्तै उपयुक्त देखिएको हो। त्यसैले यस वर्षको रक्तदान महोत्सव “रक्तदान जीवनदान – भाप्पा” भन्ने भावनासहित अघि बढाइएको छ।
बैतडी समाज कैलालीले विगत वर्षहरूमा पनि निरन्तर रूपमा रक्तदान कार्यक्रम सञ्चालन गर्दै आएको छ। समाजले १७औँ रक्तदान महोत्सवलाई सफल बनाउन नगरवासी, स्वयंसेवी रक्तदाता तथा सामाजिक मनहरूलाई कार्यक्रममा सहभागी भई रक्तदान गर्न अपिल गरेको छ।
रक्तदानमार्फत सामाजिक उत्तरदायित्व निर्वाह गर्दै जीवन बचाउने अभियानमा सबैलाई ‘भाप्पा’ बनेर साथ दिन समाजले अनुरोध गरेको छ।


