धनगढी । नेकपा एमालेले कैलाली निर्वाचन क्षेत्र नम्बर ५ अन्तर्गतका २१ वटै वडामा सम्पर्क कार्यालय उद्घाटन गरेको छ । धनगढी उपमहानगरपालिकाका १९ र कैलारी गाउँपालिकाका २ वडामा सम्पर्क कार्यालय सञ्चालनमा ल्याइएको क्षेत्र नम्बर ५ निर्वाचन परिचालन समिति प्रचार–प्रसार संयोजक विष्णु चन्दले जानकारी दिए । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै सबै वडामा सम्पर्क कार्यालय खोल्ने काम सम्पन्न गरिएको उनले बताए । क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार यज्ञराज ढुङ्गानालाई विजयी गराउन पार्टी पंक्ति पूर्ण रूपमा निर्वाचन केन्द्रित गतिविधिमा सक्रिय बनेको चन्दको भनाइ छ ।
वडा सम्पर्क कार्यालय सञ्चालन कार्यक्रममा क्षेत्र नम्बर ५ का चुनावी कमाण्डर नारदमुनी राना, पार्टी केन्द्रीय सदस्य एवं कैलाली संयोजक लिला भण्डारी, प्रदेश सचिव रणबहादुर चन्द लगायतका नेताहरूको सहभागिता रहेको थियो । कैलाली–५ मा पार्टीप्रति जनलहर बढ्दै गएको दाबी गर्दै संयोजक चन्दले यसपटक एमालेको जित सुनिश्चित रहेको बताए । उम्मेदवार यज्ञराज ढुङ्गानाले कैलाली–५ को समग्र विकास, विद्यमान भ्रष्टाचार र बेथितीको अन्त्य तथा रोजगारी समस्याको समाधानलाई प्राथमिकता दिएर आफ्नो उम्मेदवारी अघि बढाइएको बताए ।
राजनीति जनसेवाको माध्यम भएको उल्लेख गर्दै ढुङ्गानाले जनताको अपेक्षाअनुसार काम गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले कैलाली–५ मा चुनावी माहोल एमालेको पक्षमा बनेको दाबी गर्दै आफ्नो जित सुनिश्चित हुने विश्वास व्यक्त गरे ।


