धनगढी: २१ मंसिर २०७४ को निर्वाचन । कैलाली– ५ बाट चुनावी मैदानमा थिए, नेपाली कांग्रेसका आरजु राणा देउवा र एमालेका नारदमुनि राना । सुदूरपश्चिममा सबैभन्दा चासोका साथ हेरिने निर्वाचन क्षेत्रमा पर्छ, कैलाली– ५ । प्रदेशको एक मात्र उपमहानगरपालिका धनगढी र कैलारी गाउँपालिकाका दुईवटा वडा समेटेर बनाइएको निर्वाचन क्षेत्र हो, कैलाली– ५ । २०७४ सालको चुनावको मुखमै ९ मंसिरमा नेपाल चिकित्सक संघ सुदूरपश्चिमले सेती अस्पतालमा एउटा कार्यक्रम राख्यो । कार्यक्रममा कैलाली निर्वाचन क्षेत्र नम्बर ५ का उम्मेदवारलाई बोलाइयो । उक्त कार्यक्रममा कांग्रेस उम्मेदवार राणाले भनेकी थिइन्, ‘मैले व्यक्तिगत पहलमा मन्त्रिपरिषद्बाट सेती अस्पताललाई तीन सय शय्यामा स्तरोन्नति गराउने निर्णय गराएकी छु ।’ त्यसबेला प्रधानमन्त्री थिए, कांग्रेसका तत्कालीन सभापति शेरबहादुर देउवा ।
प्रधानमन्त्री पत्नीले स्तरोन्नतिको निर्णय नै भयो भनेर प्रचार गरेपछि धेरैले मन्त्रिपरिषद्ले निर्णय गरेकै होला भन्ने आशा गरे । राणाले तीन सय शय्याको अस्पताल बनाउने निर्णय गराएको भन्दै प्रचार गर्दा तत्कालीन वाम गठबन्धनका उम्मेदवार नारदमुनि रानाले एक कदम अगाडि बढेर अर्को घोषणा गरे । ‘मेरो जित भएपछि सेती अस्पताललाई पाँच सय शय्याको सुविधासम्पन्न अस्पताल बनाउँछु,’ सोही कार्यक्रममा रानाले टेबल ठोक्दै भनेका थिए ।
२०७४ सालको निर्वाचन अवधिभर रानाले सेती अस्पताललाई पाँच सय शय्याको बनाउने र राणाले आफ्नै पहलमा तीन सय शय्यामा स्तरोन्नति भइसकेको दाबी गर्दै भोट मागे । २१ मंसिरमा मतदान भयो, वाम गठबन्धनका उम्मेदवार राना विजयी भए । २०७४ सालको निर्वाचनपछि २०७९ सालमा निर्वाचन भएर २१ फागुनको निर्वाचन आउन महिना दिन मात्रै बाँकी छ । तर, यो ८ वर्षमा न आरजुले भनेको तीन सय शय्यामा स्तरोन्नति भएको निर्णय सेती अस्पतालले पायो न त चुनाव जितेर गएका रानाले नै पाँच सय शय्यामा अस्पतालको स्तरोन्नति गरे । सुदूरपश्चिम प्रदेशकै रेफरल अस्पतालका रूपमा रहेको सेती प्रादेशिक अस्पताल अहिले पनि सरकारी स्वीकृतिअनुसार ५० शय्यामै सञ्चालन भइरहेको छ ।
२०७५ सालको अन्त्यतिर स्वास्थ्य विभागले डडेल्धुरा अस्पतालबाहेक सुदूरपश्चिमका सबै अस्पताललाई प्रदेश सरकार मातहत राख्ने निर्णय गरेको थियो । प्रदेश सरकारको मातहतमा आएपछि नाम फेरिएर सेती प्रादेशिक अस्पताल बनाइएको छ । तर, ४२ वर्षदेखि अस्पतालको स्तरोन्नति भने हुन सकेको छैन । १९९७ सालमा जिल्ला अस्पतालका रूपमा स्थापना भएको सेती अस्पताल २०४० सालमा अञ्चल अस्पतालमा स्तरोन्नति भएको थियो ।
अहिले पनि २०४० सालकै दरबन्दीमा अस्पताल सञ्चालन भइरहेको अस्पताल प्रशासनले जनाएको छ । अस्पताल विकास समितिमार्फत थप ७५ शय्या भने सञ्चालन गरिएको छ । बिरामीको चाप बढ्दै गएको अवस्थामा शय्या अभावले समस्या बढ्दै गएको छ । सोही कारण केही दिनअघि अस्पताल प्रशासनले सूचना प्रकाशन गरी मिर्गौलाका नयाँ बिरामीलाई सेवा दिन नसक्ने जनाएको छ । अस्पतालका सूचना अधिकारी किशोर श्रेष्ठ बिरामीको अत्यधिक चाप, स्रोतसाधन र ठाउँको अभावले नयाँ बिरामीलाई डायलाइसिस सेवा दिन नसक्ने अवस्था आएको बताए ।
२०७४ सालकै सेती अस्पताल स्तरोन्नतिको चुनावी एजेन्डा पूरा नभएको अवस्थामा आसन्न निर्वाचनमा पनि कैलाली– ५ का उम्मेदवारले सोही एजेन्डा अघि सार्दै भोट मागिरहेका छन् । सेती अस्पताललाई चुनावी एजेन्डा बनाउनेमा नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार प्रेमबहादुर आले अगाडि छन् । सेती प्रादेशिक अस्पतालको स्तरोन्नति गरेरै छाड्ने उनको दाबी छ । नेपाली कांग्रेसका उम्मेदवार नरनारायण शाह मनुले पनि मंगलबार प्रतिबद्धता सार्वजनिक गर्दा सेती अस्पताल स्तरोन्नतिको योजना पनि समावेश गरेका छन् ।


