बैतडी — आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बैतडीमा २ हजार ६ सय सुरक्षाकर्मी खटाइने भएको छ । निर्वाचनमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र निर्वाचन प्रहरी खटाइन लागेको प्रमुख जिल्ला अधिकारी कृष्ण थापाले जानकारी दिए ।
जिल्ला सुरक्षा समितिका अनुसार १ सय २९ मतदानस्थलमध्ये ३३ अति संवेदनशील, २८ संवेदनशील र ६८ सामान्य श्रेणीमा वर्गीकरण गरिएको छ । यस्तै २ सय १४ मतदान केन्द्र कायम गरिएका छन् । यस्तै निर्वाचनकै लागि दश प्रतिशत जगेडा सहित गरी १ हजार ४ सय ४२ कर्मचारी खटाइने भएको छ । कर्मचारी परिचालनका लागि जिल्लास्थित सरकारी कार्यालयबाट विवरण संकलन गरिसकेको निर्वाचन कार्यालय बैतडीका निर्वाचन अधिकृत खगेन्द्र भारतीले बताए । केही दिनभित्रै निर्वाचनमा खटिने कर्मचारीको खटनपटनको कार्य अगाडि बढाइने उनले बताए ।
बैतडीमा ११ जनाको उम्मेदवारी रहेको छ । जिल्लामा १ लाख ५६ हजार ३ सय ७२ मतदाता रहेका छन् ।


