धनगढी — डडेलधुराको गन्यापधुरा–१ रुवाखोलाका दुई जना शेरबहादुर देउवा । एक जना शेरबहादुर देउवाले पाँच पटक प्रधानमन्त्री भएर राजकाज चलाए । अर्का शेरबहादुर ‘खीर बाजे’ का नाममा देश–विदेशमा चिनिए । बुधबार राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहले डडेल्धुरास्थित साहुखर्कमा रहेको बाजेको खीर पसलमा खीर खाइरहेको तस्बिर र भिडियो यतिबेला भाइरल छ । मंगलबार बर्दिया हुँदै कैलाली प्रवेश गरेका नेता शाह बुधबारदेखि सुदूरपश्चिमका पहाडी जिल्लाको भ्रमणमा छन् ।
दुई वर्षअघि पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीसहित पूर्व–पश्चिमबाट आएका एमालेका शीर्ष नेताहरूले पनि यही बाजेको खीर पसलमा खीर खाएको फोटो–भिडियो सामाजिक सञ्जालमा बेस्सरी घुमेको थियो । हुन त खीर बाजेको पसलको चुलोमा पाकेको खीरको स्वाद चाख्ने हाइप्रोफाइल बालेन वा केपी शर्मा ओली मात्र होइनन् । मदन भण्डारीदेखि हरेक उच्च पदस्थ नेताले यहाँको खीरको स्वाद चाखेका छन् । शेरबहादुर देउवाका छोरा, जो हाल यो खीर पसललाई निरन्तर सञ्चालन गरिरहेका छन्, कर्णबहादुर देउवा भन्छन्, ‘मदन भण्डारी, माधव नेपाल, बाबुराम भट्टराईले पनि हाम्रो पसलको खीरको स्वाद चाखिसक्नुभएको छ । पूर्वप्रधानमन्त्री देउवा त आफ्नै परिवारका भए ।’ सुदूरपश्चिमका सात पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्गमा पर्ने साहुखर्क भएर यात्रा गर्नेहरूले बाजेको खीर पसलको स्वाद मिस गर्ने सायदै हुन्छन् ।
तत्कालीन जर्मन राजदूत रुडिगर लेम्पसँग आएका एक विदेशी पत्रकारले देउवाको तस्बिरसहित ‘हिउँको खीर’ शीर्षकमा लेखेपछि उनको नाम विदेशमा पनि फैलिएको कर्ण सम्झिन्छन् । ०२४ सालतिर शेरबहादुर गाउँबाट भीमदत्त राजमार्गको साहुखर्क उक्लिए । आफ्ना बुवा ९खीर बाजे० ले ०३२ सालतिरबाट खीर पसल सुरु गरेको कर्णबहादुर बताउँछन् । तीन वर्षअघि ८२ वर्षको उमेरमा बितेपछि खीर बाजेको बिँडो उनका छोरा कर्णबहादुरले थामिरहेका छन् ।
पछिल्ला वर्षहरूमा निकै चर्चा बटुलेको बाजेको खीर पसलले यहाँसम्म आइपुग्न अनेकौँ कठिनाइहरू पार गरेको छ । उहिलेको कठिन समयमा कैयौँ हिँडेरुहरूलाई आश्रय दिएको छ । ‘महाभारत पर्वतको यस घनघोर लेकमा मेरै सम्झनिमा पनि महिनौँसम्म बाक्लो हिउँ जम्थ्यो,’ कर्णबहादुर विगतका दिनहरू सम्झँदै भन्छन्, ‘अहिले जस्तो पसलहरू पनि थिएनन् त्यस बेला । हाम्रो मात्रै पसल थियो । गाडी चल्दैनथे । हिँडेरुहरूको बास बस्ने ठाउँ पनि हाम्रो मात्र थियो ।’
बुवासँगै खीर पकाउँदै आएका कर्णलाई पनि यो काम गर्न थालेको २६ वर्ष भएको उनले सुनाए ।


