धनगढी: सुदूरपश्चिमका डीआईजी प्रदीप कुमार पालको सरुवा भएपछि एसएसपी दिगविजय सुवेदीले सशस्त्रको कमाण्ड सम्हालेका छन्। एसएसपी सुवेदी हिजोमात्रै हाजिर भएकोमा उनले कमाण्ड सम्हालेको बताइएको छ।
पालको सरुवापछि निर्वाचनको पूर्वसन्ध्यामा उनलाई सुदूरपश्चिमस्थित नम्बर ७ वैद्यनाथ बाहिनी, कैलालीको निमित्त बाहिनीपतिको रुपमा पठाइएको हो। उसो त उनी केही समयमै डीआईजी बन्ने लाइनमा छन्। सुदूरपश्चिमका विभिन्न स्थानमा बसिसकेका उनी अनुभवी सशस्त्र प्रहरी अधिकारी मानिन्छन्।
उनी बढुवामा वरिष्ठतम् उम्मेदवार भएकाले निकट भविष्यमै डीआईजीमा बढुवा हुनेछन् र सुदूरपश्चिममा पदस्थापन हुनेछन्। यसबीच सुवेदी सुदूरपश्चिम आउने भएपछि एसएसपीको एकै दरबन्दी भएको बाहिनीमा रहेका एसएसपी विरेन्द्र ऐरको समेत सरुवा गरिएको थियो।


