धनगढी । बाजुराको बुढीगंगा नगरपालिकाका ७ कर्मचारी निलम्बरनमा परेपछि सेवा प्रभावमा समस्य भएको छ । नगरपालिकाको प्रशासनिक भवन निर्माणको ठेक्कामा भ्रष्टाचार प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन नगर प्रमुखसहित कर्मचारीहरुविरुद्ध मुद्धा दर्ता गरेपछि सेवा प्रभावमा समस्या भएको हो ।
अख्तियारले विशेष अदालतमा मुद्धा गरेपछि हाल नगरपालिकामा कार्यरत ७ जना कर्मचारी निलम्बनमा परेका छन् । जसअनुसार तत्कालीन अधिकृत छैटौँ नरेन्द्र नाथ, सब–इन्जिनियर गणेशराज रेग्मी, खरिदार श्यामबहादुर खत्री, शिक्षा अधिकृत जयराज न्यौपाने, असिस्टेन्ट सब–इन्जिनियर भिमराज गिरी, नायब प्राविधिक सहायक सिद्धराज जैसी तथा प्रशासन सहायक बसन्तबहादुर थापा रहेका छन् । अख्तियार दुरूपयोग अनुसन्धान आयोगबाट विशेष अदालतमा मुद्दा दायर भएपछि आरोपित कर्मचारी स्वतः निलम्बनमा पर्ने कानुनी व्यवस्था छ ।
बुढीगंगाका नगर प्रमुख राम बहादुर बानियाँले पालिकामा कार्यरत कर्मचारीहरु निलम्बनमा परेपछि सेवा प्रवाह प्रभावित भएको बताएका छन् । उनले कर्मचारी निलम्बनमा हुँदा शिक्षा, प्रशासन शाखासहित प्राविधिक फाँट बन्द भएको बताए ।
निमित्त प्रमुख प्रशासकिय अधिकृत भेटनरी शाखा प्रमुख प्रेम जैशी भएपनि उनलाई आर्थिक अधिकारको जिम्मेवारी भने रहेको छैन् । प्रमुख प्रशासकीय अधिकृत अम्मरराज जोशीको सरुवा गरेर मन्त्रालयले उनको स्थानमा भोजबहादुर ऐडीलाई खटाए पनि हालसम्म हाजिर भएका छैनन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नगरपालिकामा प्रशासनिक भवन निर्माणको ठेक्कामा भ्रष्टाचार भएको ठहर गर्दै तत्कालीन नगर प्रमुख दीपक बिक्रम शाहसहित १४ जना र ठेकेदार कम्पनीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
अख्तियारले दायर गरेको आरोपपत्रमा तत्कालीन मेयर शाह, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत प्रेमकाजी महर्जनसहित १४ जनासँग तीन करोड २७ लाख ७८ हजार १७७ रुपैयाँ बिगो असुल उपर गरी कैद सजाय माग गरिएको छ । प्रतिवादी बनाइएकामा पालिकामा हालसम्म कार्यरत ७ जना कर्मचारीसहित इन्जिनियर पारस खाती, तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत ९अधिकृत छैटौँ० कल्पना कुमारी ठकुल्ला, तत्कालीन लेखापाल नवराज जोशी छन् । उनीहरूमाथि भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिम सजाय मागदाबी गर्दै विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको अख्तियारले जनाएको छ ।


