धनगढी । आसन्न फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि कैलाली क्षेत्र नम्बर ५ मा रोचक र बहुआयामिक प्रतिस्पर्धा देखिएको छ। ठूला दल, नयाँ शक्ति र चर्चित अनुहारबीचको भिडन्तका कारण यो क्षेत्रलाई सुदूरपश्चिमकै सबैभन्दा चासोका साथ हेरिएको निर्वाचन क्षेत्रका रूपमा लिइँदैछ। कैलाली–५ मा नेपाली कांग्रेसबाट नर नारायण शाह (मनु), नेकपा (एमाले) बाट यज्ञराज ढुंगाना, नेपाल कम्युनिस्ट पार्टीबाट पूर्वमन्त्री प्रेम आले र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट आनन्द चन्द उम्मेदवार बनेका छन्। यद्यपि मैदानमा अन्य उम्मेदवार पनि रहे तापनि यी चार जनालाई मुख्य प्रतिस्पर्धीका रूपमा हेरिएको छ।
कांग्रेसमा अन्तरघातको चिन्ता
नेपाली कांग्रेसका उम्मेदवार नर नारायण शाह (मनु) लामो समयदेखि सक्रिय राजनीतिमा रहेका अनुभवी नेता हुन्। उनी दुई कार्यकाल कांग्रेस कैलालीका सभापति भइसकेका छन् भने हाल सुदूरपश्चिम प्रदेश महामन्त्रीको जिम्मेवारीमा छन्। यसपटक पार्टी सभापति शेरबहादुर देउवासँग दूरी बढेपछि उनले प्रत्यक्ष लाभ नपाए पनि महामन्त्री गगन थापाको समर्थनमा टिकट पाएको कांग्रेस वृत्तको बुझाइ छ।
तर शाहलाई जितभन्दा बढी आफ्नै पार्टीभित्रको अन्तरघातले सताइरहेको देखिन्छ। २०७४ सालको निर्वाचनमा आरजु राणा देउवा पराजित हुनुमा अन्तरघात प्रमुख कारण बनेको चर्चा अझै सेलाएको छैन। यही कारण यसपटक पनि कांग्रेस एकढिक्का नहुने हो कि भन्ने आशंका शाह पक्षमा देखिन्छ। कांग्रेसका एक नेताका अनुसार, “कैलाली–५ मा कांग्रेसबाट डोटी पृष्ठभूमि भएका उम्मेदवारले सहजै जित्दै आएका छन्। सबै एकजुट भए शाहको जित सम्भव छ, तर बाहिर मिलेजस्तो देखिए पनि भित्रभित्रै खेल भए समस्या आउन सक्छ।”
एमालेमा आन्तरिक असन्तुलन
नेकपा (एमाले) बाट उम्मेदवार बनेका यज्ञराज ढुंगाना नयाँ अनुहार हुन्। कैलाली बहुमुखी क्याम्पसको स्ववियु सभापति हुँदै हाल एमाले कैलालीका अध्यक्ष रहेका ढुंगाना व्यवसायीसमेत हुन्। सबै समुदायमा राम्रै सम्बन्ध बनाएका उनी पार्टीभित्रको आन्तरिक द्वन्द्वबाट पूर्ण रूपमा मुक्त देखिँदैनन्। विशेष गरी पूर्वमन्त्री नारदमुनि रानाको भूमिकालाई लिएर असन्तुष्टि रहेको एमाले नेताहरू बताउँछन्। “नारदमुनि रानालाई समयमै पार्टीको उचित भूमिका नदिँदा असन्तुष्टि बढ्यो,” एमालेका एक नेताले भने, “अहिले चुनावी कमान्डर तोकिएको छ। सबै नेता–कार्यकर्ता एक भए जित सम्भव छ, नत्र आन्तरिक लडाइँले असर गर्छ।”
प्रेम आलेको रणनीति : पैसा र डोटी मत
नेपाल कम्युनिस्ट पार्टीले डोटीबाट पूर्वमन्त्री प्रेम आलेलाई कैलाली–५ मा उम्मेदवार बनाएको छ। स्थानीय रूपमा बलियो उम्मेदवार नदेखिएपछि आलेलाई धनगढी ल्याइएको पार्टी स्रोतको दाबी छ। आलेलाई आर्थिक रूपमा सबल नेता मानिन्छ। यही कारण उनी खर्चको बलमा चुनाव जित्ने रणनीतिमा लागेको चर्चा छ। धनगढीका एक पूर्व माओवादी नेताका अनुसार, “आले पैसा जति खर्च भए पनि चुनाव जित्ने दाउमा छन्। कांग्रेसबाट डोटी पृष्ठभूमिको उम्मेदवार नहुँदा त्यो मत तान्ने प्रयास भइरहेको छ। कतिपय ठाउँमा पैसा बाँडिएको हल्ला पनि सुनिन्छ। पैसाले काम गर्यो भने नतिजा उल्टिन सक्छ।”
नयाँ लहर बोकेर आनन्द चन्द
राष्ट्रिय स्वतन्त्र पार्टीले आनन्द चन्दलाई उम्मेदवार बनाएको छ। यस क्षेत्रका लागि अपेक्षाकृत नयाँ भए पनि परिवर्तन चाहने मतदाताको बढ्दो आकर्षण चन्दको बलियो पक्ष मानिएको छ।
रास्वपा नेताहरूका अनुसार पुराना दलप्रति वितृष्णा बढ्दै गएको र नयाँ अनुहारप्रति आकर्षण बढेकाले चन्दले अपेक्षा भन्दा राम्रो मत ल्याउन सक्ने सम्भावना छ। विशेष गरी युवा र पहिलो पटक मत हाल्ने मतदातामा उनको प्रभाव देखिन थालेको बताइन्छ।
कैलाली–५ मा चुनावी समीकरण सरल छैन। कांग्रेस र एमाले दुवै आन्तरिक चुनौतीमा छन्, प्रेम आले पैसाको बलमा मैदानमा छन् भने रास्वपा नयाँ आशाको प्रतीक बनेको छ। अन्ततः मतदाताले स्थायित्व, अनुभव, पैसा कि परिवर्तन—के रोज्छन् भन्ने कुराले कैलाली–५ को नतिजा तय गर्नेछ।


