धनगढी । सुदूरपश्चिम प्रदेशका १६ वटा निर्वाचन क्षेत्र मध्ये सवै भन्दा बढी चर्चामा रहेको प्रदेशको अस्थाई राजधानी तथा एक लाख १० हजार ६ सय मतदाता रहेको कैलाली क्षेत्र नम्बर ५ मा नयाँ अनुहारहरूबीच प्रतिस्पर्धा रोचेक हुने देखिएको छ । फागुन २१ गते हुने निर्वाचनमा उम्मेदवारहरुले घरदैलो अभियान लाई त्रीव बनाए संगै मतदाता लाई आफ्नो पक्षमा पार्ने प्रयास भईरहेको छ । क्षेत्र नम्बर ५ बाट मुख्यगरी नेपाली कांग्रेसका उम्मेदवार नरनारायण शाह, एमालेका यज्ञ ढुंगाना, नेकपाका प्रेम आले र रास्वपाका आनन्दबहादुर चन्द यस क्षेत्रमा पहिलो पटक चुनाव लड्दैछन् ।
यसअघि कांग्रेस नेतृ डा आरजु राणा देउवाले निर्वाचन लडेर पराजय भोगेको यस क्षेत्रमा यसपटक पनि उनको उम्मेदवारीको चर्चा चलेको थियो तर कांग्रेसमा विशेष महाधिवेशनबाट नेतृत्व परिवर्तन भएपछि आरजुको चर्चा हरायो र कांग्रेस प्रदेश महामन्त्री नरनारायण शाहले टिकट पाए । उनले पहिलो पटक आफूलाई निर्वाचनमा उभ्याएका छन् । यस क्षेत्रमा कांग्रेसको संगठन बलियो रहेको बताइए पनि निर्वाचनको परिणाम भने फरक (फरक आउने गरेको छ । २०४८ सालदेखि २०७९ सम्म हेर्दा चार पटक कांग्रेसका उम्मेदवार विजयी हुँदा दुई पटक एमाले र एक पटक तत्कालीन माओवादीले चुनाव जितेको इतिहास छ । यसै निर्वाचन क्षेत्रमा कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले समेत २०७० मा निर्वाचन जितेका थिए । अहिले कांग्रेसले कैलाली जिल्लाको दुई पटक सभापति भइसकेका प्रदेश महामन्त्री नरनारायण शाहलाई उम्मेदवार बनाएपछि उनका पक्षमा सबै कांग्रेसी एकजुट भएर खटिएको कांग्रेसले दावी गरेपनि काग्रेसमा विशेष महाधिवेशनको डर अझै छ । तर शाहले अफ्नो जित सुनिश्चिम भएको बताउका छन् ।
यसैगरी नेकपा एमालेबाट जिल्ला अध्यक्ष यज्ञ ढुंगाना चुनावी प्रतिस्पर्धामा छन् । उनी पनि पहिलो पटक चुनाव लड्दैछन् । यसअघि दुई पटक यस क्षेत्रबाट चुनाव लडेका एमाले नेता नारदमुनी रानाले यसपटक टिकट पाएनन् । रानाले २०७४ सालको निर्वाचनमा कांग्रेसकी नेतृ आरजु देउवालाई झण्डै पाँच हजार मतान्तरले पराजित गरेका थिए । तर उनै राना २०७९ को निर्वाचनमा कांग्रेसका डिल्लीराज पन्तसँग एक हजार मतान्तरले पराजित भएका थिए । एमालेका उम्मेद्वार यज्ञ ढुंगाना पनि युवा तथा विभिन्न सामाजिक कार्यमा सक्रिय रहेका कारण जितको सम्भावना रहेको एमाले पक्षको दाबी छ । तर लामो समय देखि टिकट पाएका नारदमुनी राना असन्तुष्ट हुदाँ एमाले लाई पनि जित निकाल्न सहज छैन् । यधपी एमालेको संगठन चुस्तदुरुस्त रहेको र सबै एकजुट भएकाले यसपटक एमालेले जित्ने दाबी ढुंङगानाको छ ।
यता नेकपाबाट पनि यस क्षेत्रका लागि नयाँ अनुहार प्रेम आले चुनावी प्रतिस्पर्धामा छन । डोटीबाट पटक (पटक निर्वाचन लडेर मन्त्रीसमेत बनेका आले कैलाली ५ का लागि भने नयाँ अनुहार हुन् । कांग्रेस र एमालेको तुलनामा नेकपाको संगठन कमजोर रहे पनि चुनावी मैदानमा रहेका प्रेम आले व्यक्तिगत रूपमा धेरै मत आकर्षित गर्न सक्ने नेकपाका नेताहरू बताउँछन् । नेकपाका नेता एवं यसै निर्वाचन क्षेत्रको प्रदेश सभा क बाट निर्वाचित सदस्य रमेश धामीले नेकपाको देशभरको लहर र उम्मेदवारको व्यक्तिगत छविका कारण नेकपा पनि कडा प्रतिस्पर्धामा रहेको बताए ।
देश भर सामाजिक संञ्जालमा लोकप्रियता बटुलिरहेको रास्वपाको बाहिर संगठन नदेखिए पनि शहरी क्षेत्र भएका कारण भित्रभित्रै आफ्ना मतदाता रहेको रास्वपाका नेताहरुको पनि दावी छ । शहरी क्षेत्र परिवर्तनको पक्षमा हुने हुँदा कैलाली ५ मा पनि यस पटक परिवर्तन हुने दाबी उनिहरुको छ ।
सुदूरपश्चिमको अस्थायी राजधानीसमेत रहेको यस निर्वाचन क्षेत्रमा धनगढी उपमहानगरपालिकाका १९ वटा वडा र कैलारी गाउँपालिकाका दुई वटा वडा पर्दछन् । यसअघिको स्थानीय निर्वाचनमा धनगढी उपमहानगरपालिकाको मेयर स्वतन्त्र उम्मेदवार गोपाल हमाल निर्वाचित भएका कारण सवैको ध्यान यस पटक पनि यहि क्षेत्रमा हुनु स्वाभाविक बनेको छ ।


