बझाङ । बिहान १० नबज्दै विद्यालय पुगिसक्नुपर्छ । साँझ पनि घडीको सुई साढे ४ मा प्रवेश गरेपछि मात्रै घरको बाटो लाग्नुपर्छ । घर पुग्दा नपुग्दै हातमा कुटो कोदालो बोकेर बारीमा प्रवेश गरिहाल्छन् खप्तडछान्ना गाउँपालिका–५ सुतारीगाउँका प्रकाश खत्री । उनलाई तरकारी बारीको हेरविचार गर्ने प्रर्याप्त समय नै छैन । बिहान बेलुका बचेको समयले मात्रै धानिरहेका छन् गोपाल फलफूल तथा तरकारी फर्म ।
गाउँघरमा तरकारी उत्पादन गर्नुपर्छ भन्ने धेरैको चेत उहिल्यैदेखि हराइसकेको थियो । खेतबारी तथा लेखोपाखो बाँझै राखेर भारतमा मजदुरी गर्ने परिवारका १/२ सदस्यको मात्रै भर पर्थे पूरै रिवार । छिमेकी जिल्ला बाजुराको काँडा, डोगटी, खप्तडछान्ना–७ कै लामागडामा फल्ने तरकारीको ग्राहक मात्रै थिए दुई दर्जनभन्दा बढी गाउँ । खत्री परिवार भने २०५४ सालदेखि नै आफ्नै बारीको अर्गानिक तरकारी तथा फलफूल खाइरहेको छ । ३ वर्षदेखि भने व्यवसायिक रुपमा तरकारी फर्म दर्ता गरेर दुई वडालाई नै तरकारी तथा फलफूल खुवाइरहेको छ । अहिले खत्रीको फार्ममा केरा, नास्पाती, अंगुर, कागती, सुन्तला, ओखर, किबीजस्ता फलफूलहरु सिजनअनुसार पर्याप्त पाइन्छन् भने तरकारीमा रायो, सुइचार्ड, झुकेनी, सिमला मिर्चा, काक्रा भक्तपुरे, स्थानीय लोकललगायतका तरकारीहरु उत्पादन भइरहेका छन् ।
खत्रीले गत वर्ष मात्रै उनले झण्डै ४ क्विन्टल बेमौसमी तरकारी बिक्री गरेका थिए । उनले यस सिजनमा पनि गत वर्षकै जसरी बेमौसमी तरकारी बिक्री हुने अनुमान लगाएका छन् । २०७४ सालमा सुरु गरेको पहिलो तरकारी टर्नेलपछि अहिले खत्रीसँग १० वटा तरकारी टर्नेल छन् । खत्रीका लागि उत्पादित तरकारीको बजार धेरै टाढा छैन, नत बीउबीजन ल्याउने ठाउँ नै टाढा छ । उनी बीउ ल्याउन पनि आफन्तको सहयोगमा तराईका जिल्लाबाट भित्र्याउछन् । कतिपय तरकारीको बीउ नै राम्रो नपाउँदा लगानी नै उठ्दैन त कतिपय ठाउँमा राम्रै उत्पादन हुन्छ ।
छैन माटो परीक्षण
अहिले व्यवसायी बनेका प्रकाश खत्रीलाई कुन माटोमा कुन प्रजातिको तरकारी तथा फलफूल उत्पादन हुन्छ भन्ने अहिलेसम्म जानकारी छैन । सामान्य किसानको रुपमा उनी आफैं परीक्षण गर्छन्, आफैं उत्पादन गर्छन् र आफैं बेचविखन गर्छन् । सुरुवाती वर्षहरूमा तरकारीले राम्रै फल दिएपछि दोस्रो वर्ष त्यसलाई बढाए । जमिन बढाए, उत्पादन बढाए । फलफूलका विरुवाले पनि राम्रै फल दिएपछि त्यसलाई पनि थप्दै गए । आफूलाई खानलाई प्रर्याप्त हुँदै गयो र पछि राम्रै व्यापारी भए ।
‘माटो परीक्षण गर्नका लागि जिल्ला कृषि विकास कार्यालय मातहतको कृषि ज्ञान केन्द्रले पनि परीक्षण नगरेर अन्य जिल्लामा पठाउने रहेछ,’ खत्री भन्छन्, ‘अहिलेसम्म यो आसपासको माटो परीक्षण गरेको छैन । जति फलफूल लगाएँ, तरकारी लगाएँ, मलबिनै पनि राम्रै उत्पादन भयो । यो अनुभवबाटै जुनसुकै प्रजातिका तरकारी तथा फलफूलसमेत उत्पादन हुने रहेछ ।’
सुतारीगाउँ मात्रै होइन । साविकका पाटादेवल तथा कालुखेती गाविसमा पनि पहिलो व्यवसायिक रूपमा तरकारी तथा फलफूल उत्पादन गर्ने कृषक हुन् खत्री । दिउँसोको समय एउटा आधारभूत विद्यालयमा पढाएर साँझ बिहान मात्रै बारीमा समय दिने खत्रीले सानो लगानीमा कृषि सुरु गरेका हुन् । परिवारलाई पुग्नेगरी उत्पादन हुने गरेको तरकारीले अहिले करिब दुई दर्जनभन्दा बढी गाउँलाई तरकारी खुवाइरहेका छन् ।
तरकारी सुरु गर्दा कुन मौसममा कस्तो खाले तरकारी उत्पादन हुन्छ भन्ने थाहा नभएरै व्यवसायमा हाम फालेको उनी सम्झन्छन् । उनी भन्छन्, ‘बीउ मात्रै पाएको हुँदा सुतारी गाउँमा कुन मौसममा कस्तो खाले तरकारी फल्दो रहेछ, कुनै जानकारी थिएन । एक वर्ष त टमाटर वर्षभरि नै बारीमा छरे । त्यसपछि मात्रै थाहा भयो दुई सिजनमा टमाटर राम्रै फल्ने रहेछ ।’
अनुभवबाट नै व्यवसायी बनेका खत्रीले पछिल्लो समय जिल्लाकै ध्यान तानेका छन् । उनले उत्पादन गरेको तरकारी र फलफूले सरकारी तथा गैरसरकारी क्षेत्रका धेरै कर्मचारीले समेत स्वाद लिन पाएका छन् ।
सफलतापछि सहयोग
गोपाल तरकारी तथा फलफूल फर्मले छोटो समयमै लोभलाग्दो सफलता आर्जन गरेपछि जिल्लास्थित धेरै निकायले अनुदानस्वरुप आर्थिक सहयोग गर्दै आएका छन् । खप्तडछान्ना गाउँपालिकाले सो फर्मलाई अनुदानबाफत १ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ । कृषिमा उत्साहित बनाउने प्रधानमन्त्री कृषि आधुनिकरण ‘आलु जोन’ बझाङबाट पनि फर्म सञ्चालक खत्रीलाई प्रोत्साहित तथा आर्थिक सहयोग गरेको छ । आलु जोनले तरकारी सिचाँईका लागि पहिलो पटक १ लाख रुपैयाँ सिचाई पोखरी निर्माण गर्नका लागि सहयोग गरेको थियो । त्यो रकमसहित १ लाख रुपैयाँ खत्रीले लगानी गरेर सिँचाई पोखरी बनाए । दोस्रो पटक अनुगमनमा आउँदा पुनः आलु जोनले १ लाख रुपैयाँ अनुदान दियो । त्यो पैसाले उनले सिँचाई नहर बनाए ।
गाउँपालिकाको कृषि शाखाबाट पनि सञ्चालक खत्रीले केही अनुदान प्राप्त गरे । त्यस रकमले उनले टर्र्नेलहरू बनाए । अहिले तीन वर्षको अवधीमा गोपाल तरकारी तथा फलफूल फर्ममा ११ लाखको लगानी भइसकेको छ । ५ लाख रुपैयाँ विभिन्न निकायबाट अनुदान र ६ लाख रुपैयाँ सञ्चालक खत्रीको गरेर ११ लाख रुपैयाँ लगानी भएको उनी बताउँछन् ।
खत्रीले सुरु गरेको फर्मको अनुगमन गर्न कृषि ज्ञान केन्द्र बझाङका तत्कालिन कार्यालय प्रमुख टेकबहादुर बिष्टसहित पुगे । उनको नजरमा छान्ना क्षेत्रमै व्यवसायिक रुपमा पहिलो कृषकको रुपमा खत्रीलाई नै फेला पारे । पछि उनले भीमदत्त उत्कृष्ठ कृषक पुरस्कारमा छनौट गरे ।
हजार रुपैयाँबाट सुरु गरेको व्यवसाय
खत्रीले घरमा तरकारी उत्पादन गर्न लागेको करिब ३ दशक हुन लाग्यो । सुरुमा आफूलाई नै पुग्ने गरी मात्रै उत्पादन हुन्थ्यो उनको बारीमा । बाँकी जमिनमा पूख्र्यौली उत्पादनलाई नै निरन्तरता दिएको थियो । पूख्र्यौली उत्पादन न खानलाई पुग्ने, नत संघर्ष नै कम । यसबाट प्रताडित भएपछि खत्रीले तरकारी बढाउन थाले । सुरुमा प्याजको बेर्नासहित केही तरकारीका बीउ एक हजारमा किने । त्यो बीउले उत्पादन राम्रै दिएपछि विस्तारै तरकारी तथा फलफूलमा समेत लगानी बढ्दै गयो । लामो समय प्याजको बेर्ना बनाएर १ रुपैयाँ बाफत ५ बोट दिएर बेर्ना बेचेका खत्री अहिले हजारौं मूल्य बराबरको प्याज बेच्न थालेका छन् । अहिले खत्रीको व्यापार सबैभन्दा राम्रो पनि प्याजमै छ । उनी प्याजबाट मात्रै करिब वार्षिक रुपमा एक डेढ लाख बढी बिक्री गर्ने गर्छन् । प्याजसँगै केरा, काक्रा, विभिन्न प्रकारका हरियो तरकारी, काउली, बन्दालगायत गरेर खत्रीले वार्षिक रुपमा सात÷आठ लाखभन्दा बढी नाफा कमाउँदै आएका छन् ।
गँड्यौला मलको प्रयोग
गोपाल तरकारी तथा फलफूल फर्ममा गँड्यौला मलको प्रयोग हुन थालेको छ । सञ्चालक खत्रीले गोठेमलको तुलनामा सयौँ गुणा फाइदा हुने भएकोले गँड्यौला मल प्रयोग गरेको बताउनुभयो ।
गँड्यौलाहरूलाई प्राङ्गारिक पदार्थहरू खुवाएर त्यसबाट विष्टाको रुपमा निकालिएको सडेगलेको कम्पोष्ट मलको तरकारी बारीमा प्रयोग गर्दा धेरै फाइदा हुने उनले बताए । ‘बाहिर–बाहिर देखेको हुँदा यता पनि हुन्छ कि भनेर प्रयास ग¥यौँ,’ खत्रीले भने, ‘कञ्चनपुरबाट एक हजार रूपैयाँको गँड्यौला ल्याएपछि त्योबाट नै अहिलेसम्म मल बनाउँदै आएका हौँ ।’ गोठे मल २० भारी प्रयोग गर्नुभन्दा पाँच किलो बराबर गँड्यौला मल प्रयोग गर्दा धेरै फाइदा हुने गरेको उनले बताए । ‘गँड्यौलाले खाएको खाना पाचन नलीमा धेरै बेर रहँदैन र धेरै पनि रहँदैन,’ कृषि अधिकृत सरोज थापाले भने, ‘खाएको ५–१० भाग मात्र शरीर उपयोगको लागि प्रयोग हुन्छ । अरू बाँकी भाग शरीर बाहिर निष्कासन गर्दछ, जसलाई काष्ट भनिन्छ । यसले खाएर पचाएर दिसाको रूपमा फालेको दानेदार मललाई गँड्यौंलाबाट तयार पारिएको कम्पोष्टमल वा गँड्यौलीमल हो ।’
खत्रीले आफ्नो सल्लाहअनुसार नै गँड्यौला मल प्रयोग गरेको बताए । यो मलले गोठे मलको तुलनामा धेरै लाभदायक भएको खत्रीले बताए । गाउँमै पनि केही गर्न चाहे सम्भव रहेको खत्री बताउछन् । पहाडमा ब्यवसायिक तरकारी खेती गर्न अली गाह्रो चाहीँ छ खबीले भने “बजार समस्या एका तिर छ भने बेमौसमी तरकारीमा बिभिन्न रोग र जगंली जनावरबाट समेत खतरा बढी छ, त्यसका बावजुतपनि मैले कृषी कर्मलाई निरन्तरता दिएको छु, शुरुको मेहेनत हेर्दा त खाशै उपलब्धी देखिएको थिएन, तर मेहेनत मैले निरन्तर गरिरहे र बिस्तारै उपलब्धी पनि देखिदै आएको छ ।”
नेपालमा केही छैन भनेर बिदेश जान खुट्टा उचाल्नु भन्दा आफ्नै गाउँ ठाउँमा अवशर खोज्नुपर्नेमा उनको जोड छ । हाम्रो. बानी केही हुँदैन, सम्भावनानै छैन भन्ने छ तर अवशर थुप्रै छन् तिनको खोजी हामी गर्र्दैनौँ उनले भने “हामीले यि अवशरको सदुपयोग गर्न सके बिस्तारै राम्रै उपलब्धी देखिन्छ, अब माटो गोबर सगैं काम त गनर््ुपर्छ, सबैलाई कुर्सीमै बसेर खान कहाँ मिल्छ र यत्तिको मेहेनत आफ्नै ठाउँमा गर्न सके, आफु सगैं गाउँकोपनि बिकास हुन्छ, आफ्नो ठाउँका अन्य युवाहरुपनि आफ्नै ठाउँमा केही गर्न तयार हुन्छन्, अब स्वदेसमै काम गरेर कृषी तथा खाद्यान्नमा आत्मनिर्भर बन्नुपर्छ, यो खालको निति सरकारलेपनि ल्याउनुपर्छ ।”