धनगढी: पटकपटक व्यवस्था फेरिए पनि अपेक्षाकृत रूपमा विकास हुन नसकेको प्रदेशमा पर्छ, सुदूरपश्चिम । देशका सात प्रदेशमा सबैभन्दा बढी गरिबीदर रहेको सुदूरपश्चिमका नागरिकले अहिले पनि आधारभूत सेवाका लागि सकस गर्नुपर्ने बाध्यता छ । तर, राजनीतिक र प्रशासनिक पहुँचमा भने सुदूरपश्चिम अन्य प्रदेशभन्दा कमजोर छैन ।
२०४६ सालको परिवर्तनपछि मात्रै सुदूरपश्चिमले सातपटक त प्रधानमन्त्री पाइसकेको छ । शेरबहादुर देउवा पाँचपटक र लोकेन्द्रबहादुर चन्द दुईपटक प्रधानमन्त्री भएका छन् । अपेक्षाकृत रूपमा विकास हुन नसके पनि सुदूरपश्चिममा जे–जति भयो, त्यसको जस पाउने पात्र हुन्– पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका निवर्तमान सभापति देउवा । ‘हामीले अपेक्षा गरेजति त उहाँले पनि काम गर्नु भएन,’ अधिकांश सुदूरपश्चिमेलीले भन्ने गरेका छन्, ‘तर, उहाँजस्तो नेता सुदूरपश्चिमले अबका सय वर्षमा पनि पाउँदैन ।’
सुदूर विकासको श्रेय देउवाले पाउनुको पछाडि केही कारण पनि दिइन्छ । त्योमध्ये देउवा पहिलोपटक प्रधानमन्त्री हुँदा सुदूरपश्चिममा उनले गरेको दौडधुपलाई पनि मानिन्छ । २०४८ सालमा डडेल्धुराबाट पहिलोपटक निर्वाचन जितेका देउवा त्यसबेला गृहमन्त्री भए ।
२०५१ सालको मध्यावधि निर्वाचनमा डडेल्धुराबाट जित निकाल्दै उनी २०५२ सालमा पहिलोपटक प्रधानमन्त्री बने । प्रधानमन्त्री बनेपछि देउवा २०५३ जेठमा सुदूरपश्चिम आएका थिए । त्यसबेला उनले सुदूरपश्चिमका थुप्रै सडक योजना, साना विद्युत् आयोजना, प्रसारण लाइन र टेलिफोन सेवाको उद्घाटन गरेका थिए । सोही समयदेखि सुदूरपश्चिम केन्द्रसँग जोडिएको चर्चा गर्छन्, यहाँका कांग्रेस नेताहरू ।
त्यसबेला आयोजित कार्यक्रममा देउवाले मुलुकलाई सुदूरपश्चिमसँग जोड्न २२ वटा मोटरेबल पुल बन्ने जानकारी गराएका थिए । उनकै पहलमा २०५४ सालदेखि चिसापानीदेखि गड्डाचौकीसम्म २२ वटा पुल निर्माणको थालनी भएर सञ्चालनमा आएको चर्चा अहिले पनि हुन्छ ।
२०४८ सालदेखि सुदूरपश्चिमको राजनीतिक नेतृत्व हाँकिरहेका देउवा आसन्न निर्वाचनमा भने उम्मेदवार पनि छैनन् । विशेष महाधिवेशनमार्फत कांग्रेसको सभापति पनि गुमिसकेको छ । सुदूरपश्चिमलाई केन्द्रसँग जोड्ने सेतुका रूपमा चर्चा गरिने देउवाको अघोषित बिदाइले केही नेतालाई सुदूरपश्चिमको नेतृत्व ताक्ने अवसर जुरेको छ । कांग्रेसका एनपी साउद, एमालेका लेखराज भट्ट र नेपाली कम्युनिस्ट पार्टीका भीम रावललाई देउवापछिको नेता बन्ने अवसर रहेको चर्चा सुदूरपश्चिममा छ । यी तीनै जना नेता २१ फागुनको निर्वाचनका लागि उम्मेदवार छन् ।
तीन जनामध्ये कुनै समय सुदूरपश्चिममा वामपन्थी धारको नेतृत्व गर्ने नेतामा पर्थे, भीम रावल । उनले लामो समय सुदूरपश्चिममा एमालेको कमान्ड सम्हाले । उनले देउवा पार्टी र सत्ताको नेतृत्वबाट बाहिरिसकेको बताउँदै अब उनीपछिको नेता आफैँ भएको चुनावी कार्यक्रममा बताउन पनि थालेका छन् । ‘शेरबहादुर देउवा ठूला नेता थिए,’ चुनावी सभामा रावलले भन्दै आएका छन्, ‘उहाँलाई त घरमै कुटेर रगत बगाइयो । सभापति पनि छैनन् । अब सुदूरपश्चिमको आवाज सिंहदरबार पुर्याउन हामीले एक हुनुपर्छ ।’
यसअघि एमालेबाट लडेका पाँचमध्ये तीनमा जित र दुई निर्वाचनमा पराजय भोगेका रावल पार्टीको उपाध्यक्षसम्म बने । उनले गृह र रक्षा मन्त्रालयको नेतृत्व गर्ने अवसर पनि पाए । तर, अध्यक्ष केपी शर्मा ओलीसँगको विवादका कारण १० पुस २०८१ मा एमालेको संगठित सदस्यबाट हटाइएका थिए, रावल । अहिले उनी अछाम– १ बाट नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार छन् ।
राजनीतिक विरासत बलियो भए पनि कमजोर संगठनका कारण अछाममा रावललाई आसन्न निर्वाचनमा जित निकाल्न सहज नदेखिएको तर्क धेरैको छ । त्यहाँ कांग्रेस, एमाले र नेकपा उम्मेदवार रावलबीच नै मुख्य प्रतिस्पर्धी देखिन्छ । नेकपा सांगठनिक रूपमा कमजोर भएका कारण रावललाई यो निर्वाचन सबैभन्दा कठिन भएको चर्चा अछाम– १ मा छ । ‘संगठनका हिसाबले त जित्न सकिने अवस्था छैन,’ अछाम नेकपाका एक नेताले भने, ‘तर, उहाँ (रावल)ले व्यक्तिगत सम्बन्धका भोट पनि पाउने सम्भावना छ । त्यसले हामीलाई विजयी गराउँछ भन्ने अनुमान छ ।’
रावल लडेको क्षेत्रमा कांग्रेस २६ वर्षपछि कमब्याक गर्ने दाउमा छ । यसपटक कांग्रेसले पूर्वजिल्ला सभापति भरतकुमार स्वाँरलाई चुनावी मैदानमा उतारेको छ । स्वार २०७४ सालमा रावलसँग प्रतिनिधिसभा सदस्यमा पराजित भएका थिए । यसपटक रावल एमालेबाट उम्मेदवार नभएका कारण जित निकाल्न सहज हुने कांग्रेसको अनुमान छ । स्वाँरले जिल्ला विकास समितिको सभापति हुँदा आफूले अछामी जनताका लागि गुप्रै काम गरेको भन्दै भोट मागिरहेका छन् । कांग्रेसले पनि स्वाँर गुगलमा नभई भूगोलमा भेटिने नेता भएको भन्दै मत मागिरहेको छ ।
एमालेले दीपक साउदलाई चुनावी मैदानमा उतारेको छ । तत्कालीन माओवादी केन्द्रका नेता रहेका साउद जनार्दन शर्मा नेतृत्वको प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) को केन्द्रीय सदस्य बनेका थिए । प्रलोपाको केन्द्रीय सदस्य रहेकै अवस्थामा एमालेले उनलाई उम्मेदवार बनाएको हो ।
साउद २०७० सालको संविधानसभा निर्वाचनमा रावलसँग पराजित भइसकेका छन् । अछाम– १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का ओमप्रकाश रावल, नेपाल मजदुर किसान पार्टीका सुरेन्द्र शाही, राष्ट्रिय प्रजातन्त्र पार्टीका लोकेन्द्र शाह, नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीका लोकेन्द्रबहादुर शाही र स्वतन्त्र उम्मेदवार भीमबहादुर कुँवर पनि उम्मेदवार छन् ।
सुदूरपश्चिममा कांग्रेसभित्र देउवाको उत्तराधिकारी को बन्ने चर्चा पनि छ । कांग्रेसबाट प्रतिनिधिसभा उम्मेदवार रहेका मध्ये एनपी साउदलाई त्यसमा अगाडि राखिएको छ । साउद कञ्चनपुर– २ बाट उम्मेदवार छन् ।
सुदूरपश्चिममा कांग्रेसबाट २०७९ सालको निर्वाचन जितेर अहिले पनि उम्मेदवार रहेका दुई जनामा पर्छन्, साउद । साउद सातौँपटक चुनावी मैदानमा होमिएका छन् । उनले पहिलोपटक २०५१ सालमा तत्कालीन कञ्चनपुर क्षेत्र नम्बर ३ बाट चुनाव लडेका थिए । तर, एमालेका उर्वादत्त पन्तसँग पराजित भए ।
२०५६ सालमा क्षेत्र नम्बर १ बाट विजयी भए । उनले एमालेका रामकुमार ज्ञवालीलाई पराजित गरेका थिए । २०६४ सालको पहिलो संविधानसभाको चुनावमा साउद तत्कालीन माओवादीका देवीलाल चौधरीसँग पराजित भए । दोस्रो संविधानसभाको चुनावमा साउद १३ हजार ४१५ मत पाएर विजयी भएका थिए । साउद २०७४ र २०७९ सालमा २ नम्बर क्षेत्रबाट चुनाव लडे ।
२०७४ सालमा एमाले र तत्कालीन नेकपा माओवादी केन्द्रको गठबन्धनका उम्मेदवार नरबहादुर धामीसँग पराजित भएका उनी २०७९ सालमा कांग्रेस, माओवादी र नेकपा एसबीच भएको चुनावी गठबन्धनमा विजयी भए । साउदले एकपटक जित्दै र अर्कोपटक पराजय भोग्दै आएका छन् । नेपाल विद्यार्थी संघको अध्यक्ष हुँदै पार्टी राजनीतिमा आएका साउदसँग पटकपटक मन्त्री भएको अनुभव पनि छ । कांग्रेस कञ्चनपुरका सचिव हेमराज ओझा कञ्चनपुर– २ मा कांग्रेसको सहज जित हुने दाबी गर्छन् । ‘सुदूरपश्चिमले नै अहिले विरासत बोकेको नेता खोजिरहेको छ,’ उनले भने, ‘त्यो खोजीमा एनपी साउद फिट हुनुहुन्छ । मतदाताले पनि उहाँ जित्नुपर्ने नेता भएको बताइरहेका छन् ।’ यो क्षेत्रमा रास्वपाका दीपक बोहरा, नेपाली कम्युनिस्ट पार्टीबाट माधव पन्त र एमालेबाट वचनबहादुर सिंह उम्मेदवार छन् ।
देउवापछि सुदूरपश्चिमको राजनीतिक नेतृत्व ताकिरहेका अर्का नेता हुन्, एमाले उपमहासचिव लेखराज भट्ट । उनी कैलाली– ४ बाट उम्मेदवार छन् । उनले सुदूरपश्चिममा आफ्नै पहलमा विकास भएको भन्दै मतदाता रिझाउने प्रयास गरेका छन् ।
देउवाको नाम उच्चारण नगरी भट्टले सुदूरपश्चिमका लागि आफू चाहिने नेता भएको पनि बताउँदै आएका छन् । ‘सुदूरपश्मिलाई मेरो आवश्यकता छ, मेरो अनुभवको पनि आवश्यकता छ,’ भट्ट भन्छन्, ‘मैले प्रस्ताव गरेका योजना पूर्णता दिन मैले जित्नुपर्छ । समग्र सुदूरपश्चिमको विकासका लागि मैले काम गर्छु ।’
लेखराज लडेकै कारण एमालेले सुदूरपश्चिमका १६ सिटमध्ये आफूलाई सबैभन्दा सुरक्षित कैलाली– ४ लाई ठानेको छ । तर, उक्त क्षेत्रमा २०६४ सालयता भएका कुनै निर्वाचनमा पनि एमाले जितेको छैन । भट्ट तत्कालीन माओवादीबाट उम्मेदवार भएर भने सोही क्षेत्रबाट दुईपटक चुनाव जितेका थिए । नेपाली कांग्रेस सुदूरपश्चिमका सभापति वीरबहादुर बलायर यो क्षेत्रबाट टिकट पाएका थिए तर, बलायरले अन्तिम समयमा चुनाव नलड्ने घोषणा गरे । कांग्रेसले भने गोरखबहादुर विष्ट (आनन्द)लाई कैलाली– ४ मा उम्मेदवार बनाएको छ । अमेरिकास्थित कांग्रेसको नेपाली जनसम्पर्क समितिका सभापति विष्टलाई अहिले ‘टुरिस्ट’ उम्मेदवारको आरोप खेपिरहेका छन् ।
कैलाली– ४ बाट नेकपाले हरिराम चौधरीलाई चुनावी मैदानमा उतारेको छ । एमालेका उम्मेदवार लेखराज र नेकपा उम्मेदवार हरिराम पूर्वसहकर्मी हुन् । दुवै उम्मेदवार माओवादी पृष्ठभूमिका हुन् । रास्वपाले सुरुवातमा कैलाली– ४ को टिकट हरि रेग्मीलाई दिएको थियो । उनले उम्मेदवारी पनि दर्ता गराइसकेका थिए । रेग्मीको टिकट खोस्दै सोही दिन खेमराज कोइरालाले पनि अर्को टिकट ल्याएर उम्मेदवारी दर्ता गरे । कोइरालाले उम्मेदवारी कायम भएको केन्द्रको पत्र ल्याएपछि निर्वाचन अधिकृतको कार्यालयले रेग्मीको मनोनयन हटाएको थियो । अहिले कोइराला नै रास्वपाबाट चुनावी मैदानमा छन् ।शिलापत्रबाट


