धनगढी । अबको १० वर्षपछि क्रिकेट खेलमा विश्वकप च्याम्पियन बन्ने सपनाका साथ कैलालीमा ‘च्याम्पियन्स–३६, ग्रासरुट टु ग्लोरी’ अभियानको थालनी भएको छ ।
सन् २०३६ मा टी –२० विश्वकप क्रिकेट उपाधि उचाल्ने खेलाडीहरू तयार गर्ने उद्देश्यसहित गो ड्रिमर्सले उक्त अभियानको सुरुवात गरेको हो । क्रिकेटको सहर धनगढीबाट अभियान सुरु भएको छ । सुरुवाती चरणमा उक्त अभियान अन्तर्गत गो ड्रिमर्स र ऐश्वर्य विद्या निकेतनबिच १० वर्षे रणनीतिक सहकार्य घोषणा भएको छ ।
ऐश्वर्य विद्या निकेतनका प्राचार्य सञ्जय पन्त र गो ड्रिमर्सका अध्यक्ष सुवास शाहीले दस वर्षे सम्झौतापत्रमा हस्ताक्षर गर्दै उक्त अभियानको सुरुवात गरे । । ‘यस अभियानले आधारभूत तहबाटै प्रतिभाशाली युवा क्रिकेट खेलाडी उत्पादन गरी सन् २०३६ सम्म नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धी र विश्वस्तरीय टोलीका रूपमा स्थापित गर्ने लक्ष्य लिएको छ ।
आज सुरुवात भएको छ । यसलाई देशभरि नै अभियानको रूपमा सञ्चालन गरिने शाहीले बताए । धनगढीमा एकातिर फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला तथा खेलग्रामको इआइए समेत सम्पन्न भई निर्माणको चरणमा अघि बढिसकेको अवस्थामा सुरु भएको यस अभियानलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।
प्रदेशभरि खेल विकास कार्यक्रम सञ्चालन गर्दैआएको गो ड्रिमर्स युवा प्रतिभा पहिचान र विकासमा सक्रिय संस्था हो । नेपाल सुपरलिगको प्रमुख क्लब धनगढी एफसी गो ड्रिमर्सकै स्वामित्वमा रहेको छ । यसका साथै, गो ड्रिमर्स प्रतिष्ठित अर्जुन ट्रफीको आयोजक संस्था पनि हो । यसअघि धनगढी उपमहानगरपालिकासँगको सहकार्यमा गो डिमर्सले धनगढीको फूलबारी र जुगेडामा पनि ग्रासरुट लेभल क्रिकेट परियोजना सञ्चालन छ ।
कार्यक्रम सफलताको शुभकामना व्यक्त गर्दै ऐश्वर्य विद्या निकेतनका अध्यक्ष तथा पूर्व नगर प्रमुख नृपबहादुर वडले सबै सरोकारवाला निकाय, अभिभावक, प्रशिक्षक तथा खेलाडीलाई एकजुट भएर अभियानलाई सफल बनाउन आह्वान गरे ।
ऐश्वर्य विद्या निकेतन सुदूरपश्चिमकै प्रतिष्ठित शैक्षिक संस्था हो । यस संस्थाले अब खेल विकासमार्फत पनि युवा सशक्तीकरणमा योगदान गर्ने प्राचार्य सञ्जय पन्तले बताए ।
प्रशिक्षण कार्यक्रम अन्तर्गत प्राविधिक सीप विकास, खेल रणनीति, फिटनेस, मानसिक सुदृढता, दबाब व्यवस्थापन, अनुशासन, टीमवर्क र नेतृत्व विकासलाई प्राथमिकता दिइने छ । खेलाडीलाई आधुनिक प्रशिक्षण प्रणाली, प्रदर्शन विश्लेषण तथा चरणबद्ध विकास मोडेलमार्फत दीर्घकालीन रूपमा तयार गरिने योजना छ ।


