दार्चुला: रोजगारी, अध्ययन र अवसरको खोजीमा सहर तथा विदेशमा रहेका नेपाली दसैँ मनाउन गाउँ फर्किन थालेपछि सुदूरपश्चिमका ग्रामीण बस्तीमा चहलपहल बढेको छ । वर्षभरि सुनसान देखिने गाउँका घरआँगन, चौतारा, पानीपँधेरा र स्थानीय बजारमा दसैँको रौनक छाउन थालेको छ । बैतडीको पुर्चौडी नगरपालिका–३ सल्लेवनका निरज धामीका अनुसार दसैँ नजिकिएसँगै रोजगारीका सिलसिलामा देशका विभिन्न सहर तथा विदेशमा रहेका मानिस गाउँ फर्किन थालेका छन् । यसले गाउँघरमा आफन्त र छिमेकीबीच भेटघाट बढाएको छ ।
प्रायः सुनसान रहने गाउँका घरआँगन र चौतारामा आफन्त तथा छिमेकीको जमघट हुन थालेको उनले बताए । दसैँको समयमा गाउँको वातावरण नै फेरिने र भेटघाटले पर्वको रौनक बढाउने उनको अनुभव छ । दार्चुलाको दुहुँ गाउँपालिका–२ का प्रेमराज जोशीका अनुसार वर्षको अधिकांश समय गाउँमा सीमित मानिस मात्रै बस्ने गरेका छन् । तर, दसैँका बेला सहर तथा विदेशमा रहेका छोराछोरी र युवायुवती घर फर्किएपछि गाउँका घरपरिवारमा छुट्टै खुसी छाउने गरेको छ । कतिपय परिवारमा लामो समयदेखि भेट नभएका आफन्तसमेत यही अवसरमा एकै ठाउँमा भेला हुने गरेका छन् ।
दसैँको धार्मिक र सांस्कृतिक चहलपहल पनि गाउँघरमा बढेको छ । दुर्गा माताको पूजा गर्ने समुदायले घटस्थापनाका दिन जमरा राखेका छन् । नवरात्रको अवसरमा विभिन्न देवीदेवताको पूजाआजा तथा धार्मिक गतिविधि सञ्चालन भइरहेका छन् । दसैँको चहलपहलसँगै गाउँमा खेतीपातीको काम पनि चलिरहेको छ । वर्षायाममा लगाइएको बाली भित्र्याएर गहुँ छर्न खेतबारी खनजोत गर्ने काममा किसान व्यस्त छन् । कृषि क्षेत्रमा प्रविधिको प्रयोग बढ्दै गए पनि पहाडी तथा हिमाली क्षेत्रका कतिपय स्थानमा अझै गोरुले खेत जोत्ने परम्परा कायम छ ।
बैतडीको पुर्चौडी नगरपालिका–३ का दिलबहादुर धानुकका अनुसार गाउँका धेरै परिवारले खेतीपातीका लागि गोरु पाल्ने गरेका छन् । खेतका गरामा गोरुले जोत्ने दृश्य दसैँको समयमा पनि देख्न सकिन्छ । खनजोतसँगै घरआँगन सफा गर्ने र घर सजाउने कामले पनि गाउँमा चाडपर्वको माहोल थपेको छ । दसैँका लागि गाउँका पुराना घरलाई रातो माटो र कमेरोले लिपपोत गर्ने परम्परा अझै कायम छ । पुरुषहरू खेतबारीको खनजोतमा व्यस्त हुँदा महिलाहरू घर लिपपोत तथा सरसफाइमा जुट्ने गरेका छन् । यसले गाउँघरमा दसैँको तयारीलाई थप सक्रिय बनाएको छ ।
गाउँ फर्किनेको सङ्ख्या बढेसँगै स्थानीय बजारमा पनि किनमेल बढेको छ । दसैँका लागि खाद्यान्न, लत्ताकपडा, पूजासामग्री तथा अन्य उपभोग्य वस्तु खरिद गर्ने ग्राहकको चहलपहल बढेको स्थानीय व्यापारी कमल धामीले बताए । दसैँलाई परिवारका सदस्यसँग भेटघाट गर्ने, मान्यजनबाट टीका र आशीर्वाद ग्रहण गर्ने तथा बाल्यकालका साथीभाइसँग रमाउने अवसरका रूपमा लिने गरिएको छ । लामो समयदेखि टाढा रहेका आफन्तसँग पुनर्मिलन हुने भएकाले पनि गाउँ फर्किनेहरूमा उत्साह देखिने गरेको छ ।
यद्यपि, दसैँ सकिएपछि गाउँ फेरि सुनसान हुने क्रम रोकिएको छैन । रोजगारी र अध्ययनका लागि गाउँबाहिर रहेका मानिस पर्वपछि आफ्नो कर्मथलो फर्किने गरेका छन् । यसले गाउँघरमा दसैँका बेला देखिने चहलपहल अस्थायी हुने गरेको स्थानीयको अनुभव छ ।गोरखापत्रबाट


