धनगढी। महाकाली नदी पारिको नेपाल अर्थात् कञ्चनपुर जिल्लाको दोधारा चाँदनी नगरपालिकालाई बर्सेनि बाढीले सताउने गर्दछ । वर्षायाममा नदीको पानी बढेपछि यहाँका मानिसको जीवन पनि पानीसँगै अस्थिर हुन्छ । खेत डुब्छ, बाटो काटिन्छ, घर जोखिममा पर्छ । पानी घटेपछि फेरि त्यही बगरमा खेती सुरु हुन्छ ।
महाकाली र जोगबुढा नदीको बिचमा रहेका कतिपय बस्तीका लागि वर्षा एक जोखिम बनेर सधैँ आउँछ । त्यसमध्ये सबैभन्दा अलग देखिने बस्ती हो– कुतियाकवर । महाकाली र जोगबुढाको दोभानमा रहेको यो बस्तीमा बस्छिन् सुक्मादेवी सुनार । महाकाली नदीबाट करिब ५०–६० मिटरको दुरीमा उनको घर छ ।
नदीमा पानी बढेको खबर पाउनासाथ उनको ध्यान घरभित्रका सामानतिर जान्छ । अन्न कहाँ राख्ने रु बच्चाहरूलाई कहाँ लैजाने रु पानी घरसम्म आइपुग्यो भने के गर्ने रु उनको परिवारका लागि वर्षायामसँगै दोहोरिने प्रश्न हुन् यी । ‘भएको जमिन नदीले बगाइसक्यो । अन्न उत्पादन नहुँदा किनेरै खानुपर्छ,’ सुक्मादेवीले भनिन् ।
नदीले खेतीयोग्य जमिन बगाएपछि उनको परिवारको जीवन पनि बदलिएको छ । पहिले आफ्नै खेतमा उत्पादन हुने अन्न अहिले बजारबाट किन्नुपर्छ । घरसँगै सानो पसल चलाएर र परिवारका सदस्यको आम्दानीबाट उनी गुजारा चलाइरहेकी छन् । स्थानीयका अनुसार केही दशकअघिसम्म यहाँ सयौँ परिवारको बसोबास थियो । अहिले घरको संख्या घटेर केही दर्जनमा सीमित भएको छ । नदीले बस्ती काट्दै गयो, खेत बगरमा परिणत हुँदै गयो र धेरै परिवार सुरक्षित ठाउँ खोज्दै अन्यत्र सरे ।
स्थानीय खड्के बुढाका अनुसार कुनै समय कुतियाकवरमा करिब २४० परिवारसम्म थिए । अहिले करिब ४२ घरपरिवार मात्रै छन् । ‘पहिले खेती गर्ने जमिन धेरै थियो । अहिले नदीले कटान गर्दै लग्यो,’ उनले भने । ५६ वर्षीय बुढा २०३९ सालदेखि कुतियाकवरमा बस्दै आएका छन् । उनको घर तीन पटकसम्म बाढीले बगाइसकेको छ । अहिले उनी अरुको जमिनमा आश्रय लिएर बसेका छन् ।
आफ्नो पुरानो घर भएको जमिन नदीको बिच भागमा पुगेको उनले बताए । कुतियाकवरको इतिहास पनि नदीसँगै जोडिएको छ । स्थानीयका अनुसार २०२२ सालतिर यहाँ बस्ती बस्न थालेको हो । त्यसबेला नदी आसपासको जमिन खेतीका लागि प्रयोग हुन्थ्यो । बिस्तारै मानिसहरू बस्दै गए । घर थपिए । खेत बढे । बस्ती फैलियो । तर नदी स्थिर रहेन । हरेक वर्षको कटानले बस्तीको आकार घटाउँदै लग्यो । कसैको खेत गयो, कसैको घर । कोही भारततिर बसाइँ सरे, कसैले नेपालकै अर्को ठाउँ रोजे । बाढीले यहाँको जमिनमात्र बदलेन, मानिसको सोचसमेत बदलिदियो ।
पहिले बाढीपछि खेतमा पाँगो माटो थुप्रिन्थ्यो । त्यसले खेतीलाई फाइदा पुग्थ्यो । अहिले भने नदीले बालुवा ल्याउँछ । उर्बर जमिन बगरमा बदलिन्छ । कुतियाकवरका मानिसको अर्को ठुलो समस्या हो आवागमन । २०७४ सालमा जोगबुढा नदीमा झोलुंगे पुल बनेपछि बस्ती नेपालसँग औपचारिक रूपमा जोडियो । त्यसअघि नदी पार गर्न स्थानीयले जोखिम मोलेर आवतजावत गर्नुपर्थ्यो । पुल बनेपछि मानिसको हिँडडुल सहज भयो, तर जीवन सहज हुन अझै बाँकी छ ।
कृषि उत्पादन बजारसम्म लैजान सवारीसाधन पुग्दैन । बिरामी पर्दा अस्पताल पुग्न कठिन हुन्छ । विद्यार्थीलाई विद्यालय जान समस्या हुन्छ । किसानले उत्पादन त गर्छन्, तर बजारसम्म पुर्याउने बाटो छैन । यही कारण कुतियाकवरमा खेतीको स्वरूपसमेत बदलिएको छ । बाढीले धानखेतीमा क्षति गर्न थालेपछि स्थानीय किसानले कम जोखिम हुने बाली रोज्न थालेका छन् ।
कुतियाकवर कुनै समय परबल खेतीका लागि पनि परिचित थियो । भारततर्फको बजारमा परबल बेच्ने किसानको राम्रो आम्दानी हुन्थ्यो । पछिल्लो समय भारतीय बजारमा सहज रूपमा बिक्री गर्न नपाउँदा खेती खुम्चिएको स्थानीय बताउँछन् । अहिले धेरै किसान बेसारतर्फ लागेका छन् । देवशरा सुनारले तीन वर्षदेखि बेसार खेती गरिरहेकी छन् । करिब डेढ बिघाभन्दा बढी जमिनमा उनले बेसार लगाएकी छन् । उनका लागि बेसार बाढीबिच रोजिएको एउटा व्यावहारिक विकल्प हो ।
‘पोहोर सालमात्रै करिब १०० क्विन्टल बेसार बेचेँ,’ उनले भनिन् । पहिले भारततर्फ उत्पादन बेच्ने बाटो सहज थियो । अहिले नेपालतर्फको बजार खोज्नुपर्ने अवस्था छ । तर नेपालतर्फ मोटरबाटो नहुँदा किसानले उत्पादन बोकेर लैजानुपर्ने बाध्यता छ ।
कृषि ज्ञान केन्द्र कञ्चनपुरका अनुसार कुतियाकवरमा अहिले करिब १५ बिघा क्षेत्रफलमा बेसार खेती भइरहेको छ । यहाँ वार्षिक करिब ५० देखि ६० मेट्रिक टन बेसार उत्पादन हुने गरेको केन्द्रको तथ्याङ्क छ । परबल पनि करिब ५ बिघामा खेती हुने गरेको छ ।
कृषि ज्ञान केन्द्रका प्रमुख हरिप्रसाद पनेरुका अनुसार उत्पादनको तुलनामा बजार र ढुवानी मुख्य चुनौती हुन् । ‘उत्पादन छ, तर बजारसँग जोडिन समस्या छ,’ उनले भने । कुतियाकवरका मानिस अहिले बाढी आएपछि भाग्नेमात्र गर्दैनन् । पानी बढ्नुअघि नै तयारी गर्न थालेका छन् ।
बस्तीमा साइरन राखिएको छ । नदीको अवस्था बुझ्न सम्पर्क नम्बरको व्यवस्था छ । स्थानीयलाई फोन, मेसेन्जर र ह्वाट्सएप समूहबाट पनि सूचना दिइन्छ । साइरन बज्यो भने सामान मिलाउन थालिन्छ । बालबालिका, ज्येष्ठ नागरिक र अशक्तलाई पहिले सुरक्षित ठाउँमा लैजाने तयारी हुन्छ । नेपाली सेना, स्थानीय सरकार र गैरसरकारी संस्थाको सहकार्यमा बस्तीमा दुई वटा सुरक्षित आश्रयस्थल बनाइएको दोधारा चाँदनी नगरपालिकाका विपद् फोकल पर्सन अमृत विक बताउँछन् ।
स्थानीय विपद् व्यवस्थापन समितिकी पूर्वसूचना कार्यदल सदस्य कल्पना सुनारका अनुसार अहिले बस्तीका बालबालिकाले समेत साइरनको अर्थ बुझ्न थालेका छन् । किनकि केही वर्ष अघिसम्म बाढी आउँदा मानिससँग सूचनाभन्दा बढी अनुमान हुन्थ्यो । अहिले नदीको अवस्था बुझ्ने, सूचना पाउने र सुरक्षित ठाउँमा जाने अभ्यास विकास भएको छ । दोधारा चाँदनीले गत असारमा भने अहिलेसम्मकै ठुलो वर्षाको सामना गर्यो ।
असार २३ गते कञ्चनपुरको हनुमाननगर वर्षा केन्द्रमा ५७३।६ मिलिमिटर र सुन्दरपुर वर्षा केन्द्रमा ५५५.८ मिलिमिटर वर्षा मापन भयो । जल तथा मौसम विज्ञान विभागका अनुसार नेपालमा वर्षा मापन सुरु भएको ७७ वर्षको अवधिमा त्यस क्षेत्रमा यति ठुलो वर्षा पहिलोपटक रेकर्ड भएको थियो । त्यस्तो वर्षापछि पनि ठुलो मानवीय क्षति हुन नदिन स्थानीय तहले पूर्वसूचना र उद्धार तयारीलाई प्राथमिकता दिएको थियो ।
नगरपालिकाले मोबाइलमा सन्देश पठायो, साइरन बजायो र नदी आसपासका बासिन्दालाई सतर्क गरायो ।
स्थानीय भीमबहादुर सुनारका अनुसार समयमै सूचना पाउँदा मानिसले आवश्यक तयारी गर्न सके । ‘ठुलो वर्षा नहुँदै नगरपालिकाले सचेत गराएको थियो । त्यसैले धेरै नोक्सान हुन पाएन,’ उनले भने । दोधारा चाँदनीका मेयर किशोरकुमार लिम्बू स्वयं यही भूगोलसँग परिचित व्यक्ति हुन् । पूर्वी नेपालको ताप्लेजुङमा पुर्ख्यौली घर भएको लिम्बूको परिवार २०३३ सालतिर दोधारा आइपुगेको थियो । त्यसबेला उनी चार वर्षका थिए । उनी यही ठाउँमा हुर्किए, पढे, सामाजिक काम गरे र पछि राजनीतिमा आए ।
२०७४ सालमा मेयरको चुनाव हारेका उनी २०७९ सालमा एमालेबाट उम्मेदवार बनेर विजयी भए । तर उनको व्यक्तिगत यात्राभन्दा अहिले नगरको चुनौती ठुलो छ । लिम्बूका अनुसार बाढी र डुबान नियन्त्रणका लागि स्थानीय तहको बजेट पर्याप्त छैन । ‘बाढी आउने र डुबान हुने ठाउँमा तटबन्ध गर्न आवश्यक छ, तर बजेट पर्याप्त छैन,’ उनले भने ।
नगरपालिकाले पूर्वसूचना प्रणाली, सुरक्षित आश्रयस्थल, कृषि अनुदान र स्थानीय उत्पादनलाई बजारसँग जोड्ने प्रयास गरिरहेको उनको भनाइ छ । कुतियाकवरका किसानले उत्पादन गरेको बेसारको बजार व्यवस्थापनका लागि समन्वय गर्ने, कृषि एम्बुलेन्स सञ्चालन गर्ने तथा बन्द अवस्थामा रहेको मसला उद्योग सञ्चालनमा ल्याउने योजना रहेको लिम्बू बताउँछन् । स्थानीय उत्पादन गाउँमै प्रशोधन गर्न सके किसानको आम्दानी बढ्ने उनको विश्वास छ ।
दोधारा चाँदनीको भविष्य जोडिएको अर्को ठुलो परियोजना हो– सुक्खा बन्दरगाह ।
राष्ट्रिय गौरवको आयोजनाका रूपमा चर्चा हुँदै आएको यो परियोजनाको प्रक्रिया लामो समयदेखि चलिरहेको छ । स्थानीयका लागि भने बन्दरगाह केवल ठुलो आयोजना होइन, रोजगारी र व्यापारको सम्भावनासँग जोडिएको आशा हो । मेयर लिम्बूका अनुसार निर्माणका लागि आवश्यक काम अघि बढ्ने तयारी भइरहेको छ । त्यससँगै नगरपालिकाले पर्यटनलाई पनि विकासको आधार बनाउन खोजिरहेको छ ।
महाकाली किनार, दोधारा चाँदनी झोलुंगे पुल र आसपासका क्षेत्रलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने योजना नगरपालिकाको छ । विकासका यी योजनाबिच तत्कालको समस्या भने उही छ– नदी ।रातोपाटीबाट


