कञ्चनपुर — महेन्द्रनगरका युवाहरुको समुहले सडकमा घाइते अवस्थामा भेटिने छाडा गाईगोरु र कुकुरको उपचारमा संलग्न ‘आई केयर यु’ लाई सहयोग गरेका छन् । युवाहरुले उपचारका लागि औषधिजन्य सामाग्री र आर्थिक सहयोग गरेका हुन् । महेन्द्रनगरस्थित आई केयर यु नामक संस्थाले डेढ दशकदेखि घाइते कुकुर र गाई गोरुको उपचार गर्दै आएको छ । त्यस्ता चौपायालाई घरमै राखेर निको भएपछि मात्रै छाडने गरेको छ । करिब एक दशकदेखि आई केयर यु ले निश्वार्थ रुपमा यो काम गरिरहेको हो ।
युवाहरुले ५८ हजार ४ सयको औषधिजन्य सामाग्री र ५ हजार औषधीकै उधारो तिरेका हुन् । विभिन्न पेसा र व्यवसायमा संलग्न युवाहरुले स्वस्फुर्त रुपमा आर्थिक संकलन गरेर उक्त सहयोग गरेका हुन् । ‘सहयोग गर्न धेरै रकम हुनुपर्छ भन्ने छैन, भावना सही हुनुपर्छ, सानै रकमले भने सहयोग गर्न सकिन्छ,’ शुक्लाफाँटा नगरपालिकाका इन्जिनियर समेत रहेका भीमदत्त नगरपालिका ११ का दीपक धामीले भने, ‘हाम्रो समूहमा देशभित्र र बाहिर रहेकाहरुले नै सहयोग गरेका हुन् ।’
उक्त समूहले विगतदेखि नै दसैं र तिहारका बेला विभिन्न संघसंस्था तथा व्यक्तिहरुलाई सहयोग गर्दै आएको छ । गत वर्ष ममहेन्द्रनगरस्थित बाल अनाथालयका बालबालिकाहरुका लागि कम्प्युटर उपलब्ध गराएको थियो ।


