धनगढी । सहकारी क्षेत्रमा देखिएका अव्यवस्था र अनियमितताका बीच कैलालीको नवजीवन सहकारी संस्थाले भने आफ्नो वित्तीय अवस्था सुदृढ बनाउँदै कुल सम्पत्ति झण्डै सात अर्ब रुपैयाँ पुर्याएको छ। संस्थाको २०८२ माघ मसान्तसम्मको वित्तीय विवरणअनुसार कुल सम्पत्ति ६ अर्ब ९९ करोड ५० लाख २४ हजार २८ रुपैयाँ पुगेको छ। सहकारीले सञ्चालक र उनीहरूको परिवारलाई ऋण लगानी नगर्ने नीति अवलम्बन गर्दै पारदर्शिता र संस्थागत सुशासनलाई प्राथमिकता दिएको जनाएको छ।
उक्त अवधिसम्म संस्थागत पुँजी ५२ करोड ८१ लाख १२ हजार ५०३ रुपैयाँ पुगेको छ भने शेयर पुँजी ३३ करोड ८७ लाख ८० हजार २०० रुपैयाँ रहेको छ। सहकारीमा ३९ हजार ७३९ जना शेयर सदस्य आबद्ध छन्। सहकारीले ५ अर्ब ४६ करोड ९४ लाख ३९ हजार २५ रुपैयाँ बचत संकलन गरेको छ। हालसम्म ५ हजार २०६ जना सदस्यलाई ४ अर्ब २१ करोड ९३ लाख २७ हजार ८४९ रुपैयाँ ऋण लगानी गरिएको छ।
वित्तीय विवरणअनुसार संस्थासँग १ अर्ब ९७ करोड ५३ लाख ९० हजार ४८ रुपैयाँ (३६.१२ प्रतिशत) तरलता रहेको उल्लेख छ। जगेडा कोषमा ४९ करोड ९० लाख ८० हजार ४८७ रुपैयाँ सञ्चित गरिएको छ भने विभिन्न अन्य कोषहरूमा ९ करोड ६५ लाख ९४ हजार २१५ रुपैयाँ जम्मा भएको संस्थाले जनाएको छ।
सहकारी क्षेत्रप्रति बढ्दो अविश्वासका बीच नवजीवन सहकारीको वित्तीय विस्तार र तरलता दरले संस्थाको स्थायित्वप्रति सकारात्मक सन्देश दिएको देखिन्छ।


