धनगढी । ट्यांकर चालक मजदुरलाई बिना कारण रोजगारीबाट हटाइएको भन्दै नेपाल यातायात स्वतन्त्र मजदुर संगठनअन्तर्गत ट्यांकर इकाई समिति, धनगढीले आन्दोलनको घोषणा गरेको छ।नेपाल यातायात स्वतन्त्र मजदुर संगठन (ITWAN) ट्यांकर इकाई समितिले एक चालकलाई गैरकानुनी रूपमा हटाइएको दाबी गर्दै पुनर्वहालीको माग अघि सारेको हो। संगठनले माग सम्बोधन नभए चरणबद्ध आन्दोलनमा उत्रिने चेतावनीसमेत दिएको छ।
संगठनका अनुसार सुदूरपश्चिम प्रदेशमा पेट्रोलियम पदार्थ ढुवानी कार्यमा संलग्न चालक तथा सह–चालकको रोजगारी असुरक्षित बन्दै गएको छ। सोही क्रममा धनगढीस्थित एक ढुवानी कम्पनीमा कार्यरत ट्यांकर चालक मनोज बराललाई कानुनी प्रक्रिया नअपनाई रोजगारीबाट हटाइएको आरोप लगाइएको छ। संगठनले यो कदम श्रम ऐन, श्रम नियमावली तथा सामाजिक सुरक्षा सम्बन्धी प्रावधानविपरीत भएको जनाएको छ।
उक्त विषयलाई लिएर संगठनले पेट्रोलियम ढुवानी व्यवसायी संघ कैलाली, नेपाल आयल निगम सुदूरपश्चिम प्रादेशिक कार्यालय, सुदूरपश्चिम पेट्रोलियम डिलर्स एसोसिएसन, जिल्ला प्रशासन कार्यालय कैलाली र श्रम तथा रोजगार कार्यालय कैलालीमा ज्ञापनपत्र बुझाएको जनाएको छ। ज्ञापनपत्रमार्फत हटाइएका चालकलाई तत्काल पुनर्वहाली गर्न र भविष्यमा श्रमिकको हक–अधिकार सुनिश्चित हुने गरी कानुनी प्रक्रिया पालना गर्न माग गरिएको छ।
ट्यांकर इकाई समितिका अध्यक्ष पुस्कर गुरुङले सम्बन्धित निकायलाई तत्काल ध्यानाकर्षण गराउँदै वार्तामार्फत समस्या समाधान गर्न आग्रह गरेका छन्। माग सम्बोधन नभए शान्तिपूर्ण तर सशक्त आन्दोलनका कार्यक्रम सार्वजनिक गरिने चेतावनी पनि दिइएको छ। संगठनले श्रमिकमाथि अन्यायपूर्ण व्यवहार दोहोरिए थप संघर्षका कार्यक्रम घोषणा गरिने स्पष्ट पारेको छ।


