बैतडी — बैतडीको मेलौलीमा एक निर्वाचन प्रहरीको मृत्यु भएको छ । मेलौली नगरपालिका–६ का ३८ वर्षीय राजेन्द्रप्रसाद भट्टको मृत्यु भएको हो । सोमबार राति साढे १० बजेतिर घरमै अचेत अवस्थामा उनी फेला परेका थिए ।
साँझ ड्युटी सकेर घर फर्किएका उनी घरमै एक्कासि बेहोस भएर अचेत भएका थिए । राति साढे १० बजेतिर उपचारका लागि एम्बुलेन्समार्फत केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र पुर्याइएको थियो । चिकित्सकले राति १२ बजेर ५ मिनेटमा मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी एवं प्रहरी निरीक्षक सुरज सिंहले जानकारी दिए । मृतक भट्ट इलाका प्रहरी कार्यालय मेलौलीमा निर्वाचन प्रहरीमा खटिएका थिए ।
उनको शव केशरपुर प्राथमिक स्वास्य केन्द्रमै राखिएको र पोस्टमार्टम हुन बाँकी रहेको सिंहले बताए । बैतडीमा अहिलेसम्म तीन जना निर्वाचन प्रहरीको मृत्यु भइसेको छ । यसअघि फागुन ८ गते दशरथचन्द नगरपालिका–४ बबेत घर भएका ३८ वर्षीय निर्वाचन प्रहरी महादेव वडको पनि ज्यान गएको थियो । खाना खान घर गएको समयमा अचेत अवस्थामा भेटिएका महादेवलाई उपचारका लागि जिल्ला अस्पतालमा पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए । यस्तै, माघ तेस्रो साता पनि दशरथचन्द नगरपालिका–४ घर भएका निर्वाचन प्रहरी ३२ वर्षीय प्रकाश चन्दको भीरबाट लडेर ज्यान गएको थियो ।


