अछाम — नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले अछाम आएर विगतको राजनीतिक अस्थिरता र विकासको आवश्यकताबारे जोड दिएका छन् । शर्माले शनिबार अछामका दुवै प्रतिनिधिसभा निर्वाचन क्षेत्रका छुट्टाछुट्टै कार्यक्रमलाई सम्बोधन गरेका हुन् । उनले अछाम–१ र अछाम–२ मा आयोजित चुनावी सभामार्फत पार्टीका उम्मेदवारलाई जिताउन आह्वान गर्दै विकास, सुशासन र स्थायित्वको एजेन्डा अघि सारे ।
अछाम–१ मा कांग्रेसका तर्फबाट पूर्वजिल्ला सभापति भरतकुमार उम्मेदवार छन् भने अछाम–२ मा पार्टी सभापति पुष्पबहादुर शाह मैदानमा छन् । ‘अछाम आउँदा १२ वर्षअगाडि फेरी चढेर आएको थिएँ । ६ महिनापछि गाडी चल्ने बाटो बन्यो । कलेज थिएन, कलेज खुल्यो । विगतमा भएका कुरालाई पनि हेर्नुपर्छ । ३४ वर्षमा ३० वटा सरकार बन्नु बेठिक भयो । कर्मचारीले काम गर्न पाएनन्,’ मतदातालाई संयमित हुन आग्रह गर्दै उनले भने, ‘मतदान गर्न जानुअघि सोचविचार गरौं, संयमित बनौं । देखाइदिनलाई आवेगमा, रिसमा मतदान गर्नु हुँदैन । राजनीतिमा पालो हुँदैन, प्रतिस्पर्धा हुन्छ ।’
उनले भदौ २३ र २४ मा भएको जेनजी आन्दोलन र प्रदर्शनको प्रसंग जोड्दै ‘आँधी आयो भने पनि हामी सम्हाल्न सक्छौं’ भन्ने विश्वास व्यक्त गरे । ‘सबैलाई समेट्न सक्ने ताकत कसले गर्यो रु’ भन्दै उनले पार्टीको समावेशी नीतिको पनि चर्चा गरे । शर्माले ‘युवा टेकबहादुर बिकलाई समानुपातिक उम्मेदवारका रूपमा अघि सारेका छौं’ भन्दै नयाँ पुस्तालाई अवसर दिएको बताए । ‘६४ सालमा नयाँलाई हेरिसकेको हो, माओवादीलाई हेरेर जनताले दुस्ख पाए,’ उनले थपे ।
अछामका मतदातालाई सम्बोधन गर्दै उनले भने, ‘प्रश्न पुष्प शाहले जित्छ कि जित्दैन भन्ने होइन, देशले जित्ने कि नजित्ने भन्ने हो ।’ उनले बडीमालिका, रामारोशन, खप्तड र सुदूरपश्चिमलाई अगाडि बढाउने संकल्पसाथ अघि बढ्नुपर्ने धारणा राखे । उनले पार्टीभित्र सहकार्यको सन्देश दिँदै भने, ‘गगन र विश्वप्रकाश सभापति–उपसभापति भए पनि सबै पुराना दलसँगै अगाडि जानेछौं । जो बदलिन सक्छ, उसैले अरूलाई बदल्न सक्छ । कांग्रेस पहिलो शक्तिका रूपमा आउँदैछ । जहाँ गयो त्यतै कांग्रेसको लहर छ । सस्तो कुरा गरेर जिम्मेवारी पूरा गर्न सकिँदैन । भिजनले मात्रै बाहिर जान रोक्न सक्छ । अमेरिका, बेलायतजस्ता देश रूखमा बाँधेर विकसित भएका होइनन् । आवेगमा नआऔं ।’
प्रधानमन्त्रीका उम्मेदवार बहसका लागि तयार रहेको उल्लेख गर्दै उनले भने, ‘हात हल्लाएर बहसबाट भागेर देश बन्दैन । हाम्रो प्रधानमन्त्रीको उम्मेदवार जहाँ, जतिबेला पनि बहस गर्न तयार हुनुहुन्छ । विपक्षलाई गाली गरेर मात्र होइन, १० वर्षमा गर्न सक्ने कामको संकल्प लिएर अघि बढ्नुपर्छ ।’


