धनगढी – कैलालीको धनगढीमा सञ्चालित एक महिने प्रदेशस्तरीय सीप तथा रोजगार मेला सम्पन्न भएको छ । माघ ५ गते देखि सुरु भएको तालिम बुधवार एक समारोहका बिच सम्पन्न गरिएको हो । समापन कार्यक्रममा बोल्दै धनगढी उपमहानगरपालिकाकी उपप्रमुख कन्दकला रानाले मेलाले बेरोजगार युवायुवतीलाई स्वरोजगार बन्न महत्त्वपूर्ण सहयोग पु¥याउने बताइन ।
उनले तालिम प्राप्त गरेपछि त्यसलाई उद्यमशीलतासँग जोडेर आत्मनिर्भर बन्न सकिने उल्लेख गर्दै सीपमूलक कार्यक्रमले युवाको भविष्य निर्माणमा टेवा पुग्ने विश्वास व्यक्त गरिन् । गत वर्ष सञ्चालन गरिएको यस्तै मेलाबाट पनि धेरै युवायुवती स्वरोजगार बन्न सफल भएको उनको भनाइ थियो ।
उपप्रमुख रानाका अनुसार मेलामार्फत २२ वटा विभिन्न विषयमा सीपमूलक तालिम प्रदान गरिएको थियो । यस वर्ष सुदूरपश्चिम प्रदेशका ८८ पालिकामध्ये ८३ पालिकाका युवायुवतीले तालिम लिएका छन् ।
तालिममा सहभागी मध्ये ७ विधामा तालिम लिएकाहरूले थप धनगढी भोकेसनल स्कुलमा तालिम लिइरहेको उपमहानगरपालिकाका रोजगार संयोजक चन्द्र महराले बताए । उनले समापन समारोहमा ४१८ जनाले प्रमाणपत्र लिएको र ११८ जनाले थप एक महिनाको तालिम लिइरहेको बताए ।
तालिम लिएका मध्ये रोजगारमा जाने र स्वरोजगारमा जाने छुट्याएर थप ५ दिने तालिम दिएको बताए । २१६ जनाले उद्यमशीलता र २२३ जनाले रोजगार परामर्श तालिम लिएको उनले बताए ।
रोजगारमा जानेका लागि २ दिन रोजगार मेला आयोजना गरिएको र त्यसमा २१ जनाले रोजगार पाएको बताए । ‘१४५ जनाको डिमान्ड थियो । जसमध्ये १३६ जनाले अन्तरवार्ता दिएका थिए भने १२ जना इन्टरसिपका रूपमा छनोट भएका छन्’ उनले भने । उनले केही तालिम लिएकाहरूको विवरण रोजगार दाता लिएर गएको बताए । उनले स्वरोजगारमा जानेका लागि पनि सम्बन्धित पालिकामा पनि समन्वयन गरिएको बताए ।


