कैलाली: नवजीवन सहकारी संस्था लिमिटेडका शेयर सदस्य तथा उनीहरूका एकाघर परिवारका सदस्यले अत्तरिया अस्पतालमा स्वास्थ्य उपचार गराउँदा विशेष छुट पाउने भएका छन्।
सहकारीका शेयर सदस्य र उनीहरूका परिवारका सदस्यलाई स्वास्थ्य उपचारमा सहुलियत उपलब्ध गराउने उद्देश्यले नवजीवन सहकारी संस्था लिमिटेड र गोदावरी नगरपालिका–२ मा सञ्चालित अत्तरिया अस्पताल प्रालिबीच सम्झौता भएको हो।
सम्झौतापत्रमा नवजीवन सहकारीका अध्यक्ष गोपालराज पाठक र अत्तरिया अस्पतालका प्रबन्ध निर्देशक डा. पारश पन्तले हस्ताक्षर गरेका छन्।
सम्झौताअनुसार सहकारीका शेयर सदस्य तथा उनीहरूका एकाघर परिवारका सदस्यले अस्पतालबाट स्वास्थ्य उपचारमा विशेष छुट प्राप्त गर्नेछन्। यसबाट सहकारीमा आबद्ध सदस्यलाई स्वास्थ्य उपचारमा आर्थिक सहुलियत पुग्ने अपेक्षा गरिएको छ।
सम्झौताका क्रममा नवजीवन सहकारीका सञ्चालक समिति सदस्य लक्ष्मीराज पन्त, सल्लाहकार समिति सदस्य जनकराज जोशी, महाप्रबन्धक प्रदीपराज जोशी, अत्तरिया शाखा प्रमुख पुष्पराज जोशी, उपप्रबन्धक (कानुन) जयन्द्र ठकुल्ला र कार्यकारी सहायक नन्दकृष्ण जोशीको उपस्थिति थियो।
त्यस्तै, अत्तरिया अस्पतालका तर्फबाट लेखा प्रमुख विष्णुराज रोस्याराको उपस्थिति रहेको थियो। सहकारीले आफ्ना शेयर सदस्यलाई स्वास्थ्य उपचारमा सहुलियत उपलब्ध गराउने उद्देश्यले गरिएको यस सम्झौताबाट सदस्य तथा उनीहरूका परिवारका सदस्य लाभान्वित हुने अपेक्षा गरेको छ।

